Comments Add Comment

अबरूद्ध भएको चित्लाङ-थानकोट सडक खुल्यो

५ जेठ, वीरगञ्ज । पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङलाई थानकोट जोड्ने गणेशमान मार्गमा सवारी आवागमन सुरु भएको छ ।

सडक निर्माणमा ढिलासुस्ती र लापरबाही गर्दै आएको ठेकदारकाविरुद्ध चित्लाङबासी प्रदर्शनमा उत्रिएपछि निर्माण कम्पनीले आइतबारबाट बाटो खोलिदिएको हो ।

बन्द रहेको बाटो खुलेसँगै मोटरसाइकल, जीपलगायतका साना सवारी साधनहरु सोही बाटो भएर चित्लाङ- थानकोट गरिरहेका छन् ।

सडक निर्माणको बहानामा निर्माण कम्पनीले बाटो बन्द गरिदिएका कारण ०७४ मंसिरदेखि नै गणेशमान मार्गमा यातयातका साधन सञ्चालनमा आउन सकेको थिएन । जसका कारण स्थानीयले मात्रै नभइ चित्लाङ घुम्न आउने पर्यटकले समेत घुमाउरो बाटोबाट यात्रा गर्नुपर्दा सास्ती भोग्दै आएका थिए भने चित्लाङमा उत्पादन हुने तरकारी काठमाडौं लैजान समस्या हुँदै आएको थियो ।

स्थानीयको चर्को दबाबपछि दशैं र तिहारमा ट्रयाक खोलिएको भएपनि त्यसपछि सडक निर्माण गर्न भन्दै बाटो बन्द गरिएको थियो । विगत लामो समयदेखि कच्ची सडक मै भएपनि साना सवारी आवतजावत हुँदै आएको थियो ।

चित्लाङदेखि चन्द्रागिरी देउरालीसम्मको बाटो कालोपत्रे गर्न मिल्ने अवस्थामा पुगीसकेको भए पनि देउरालीदेखि थानकोटसम्मको बाटो निर्माणको क्रममा नै छ ।

तीन दिनअघि स्थानीयले चन्द्रागिरीको बाटो निर्माणस्थलमै पुगेर बिरोध गरेका थिए । विरोधपछि निर्माण कम्पनीले धमाधम काम गरेर ट्रयाक खोलेको स्थानीय सन्तोष लामाले जानकारी दिए ।

‘ठेकेदारको लापरबाहीले बाटो सञ्चालनमा आउन सकेको थिएन, काम गर्न भनेर बाटो बन्द गर्ने तर डोजर थन्काएर राख्ने गरिएको रहेछ,’ उनले भने, ‘हामी चित्लाङका बासिन्दा गएर बाटोमा रहेको ढुंगामुढा हटाउँदै एक साताभित्र ट्रयाक खोल्न अल्टिमेटम दिएका थियौं । आजबाट खोलिदएको छ । बाटो ठिकै छ ।’

राजधानीबाट २२ किमीको दुरीमा रहेर पनि काठमाडौं पुग्न ४ घण्टाको बाटो यात्रा गर्नुपरेको भन्दै स्थानीय रुष्ट भएका हुन् ।

वि.स. २०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सडकको स्तरोन्नती संघीय सरकारले गर्ने निर्णयसमेत गरेको छ ।

सडक स्तरोन्नतीका लागि एक अर्ब १३ करोड रुपैयाँलागत अनुमान गरिएको छ । चित्लाङ-थानकोट सडकखण्ड निर्माणको काम वि.स. ०६० सालभन्दा अघि देखि नै शुरु गरिएको थियो ।

सडक निर्माणका लागि पटक पटक करोडौं रुपैयाँ विनियोजन भएको भएपनि बालुवमा पानी खन्याए जस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment