Comments Add Comment

मनकारी व्यवसायी, जसले ४०० विद्यार्थीको ४ करोड डलर ऋण तिरिदिए

Photo Credit : Anna Webber/Getty Images

७ जेठ, काठमाडौं । अमेरिकी राज्य जर्जियाका एक व्यवसायीले चार सय जना विद्यार्थीको सबै ऋण तिरिदिने घोषणा गरेका छन् । जर्जियाका अर्बपति रोबर्ट फ्रेडरिक स्मिथले मोरहाउस कलेजमा स्नातक अध्ययनरत विद्यार्थीहरुको करिब ४ करोड डलर ऋण तिरिदिने घोषणा गरेका हुन् ।

आइतबार कलेजमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले २०१९ को ब्याचका विद्यार्थीहरुको ऋण तिरिदिने घोषणा गर्दा समारोहमा सहभागी सबै चकित परेका बीबीसीले जनाएको छ । मोरहाउस कलेजमा विशेष गरी अश्वेत विद्यार्थीहरु अध्ययनरत छन् ।

५६ वर्षीय स्मिथ धनाढ्य भए पनि गुमनाम जस्तै थिए । तर, कलेजका विद्यार्थीहरुको सबै ऋण तिरिदिने घोषणासँगै उनी एकाएक चर्चामा आएका छन् ।

विद्यार्थीहरुको ऋण तिरिदिने घोषणा गर्नुअघि उनले मोरहाउस कलेजलाई १५ लाख डलर सहयोग गरेका थिए । त्यसअघि सन् २०१६ मा उनले आफूले अध्ययन गरेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए ।

को हुन् यी मनकारी अर्बपति ?

स्मिथ डेन्भर कोर्लोयाडोमा सामान्य परिवारमा हुर्किएका थिए । उनका बुबा-आमा विद्यालयको प्रधानाध्यापक थिए । हाल उनी पूर्व प्लेब्वाई मोडल होप डोराजिकसँग बिहे गरेर टेक्सासमा बस्दै आएका छन् ।

माध्यमिक कक्षा पढ्दै गर्दा उनले विज्ञान अनुसन्धानको क्षेत्रमा क्रियाशील बेल ल्याब्स नामक एक संस्थामा जागिरको लागि निवेदन दिएका थिए । सुरुमा कम उमेरको भन्दै उनको निवेदन अस्वीकृत गरिए पनि पछि उनले त्यहीँ जागिर पाए । जागिर खाँदै उनले कोर्नेल विश्वविद्यालयबाट रासायनिक इञ्जिनियरिङ र कोलम्बिया विश्वविद्यालयबाट एमबीए पास गरे ।

त्यसपछि उनले सन फ्रान्सिस्कोस्थित गोल्डम्यान स्याक्स नामक कम्पनीमा काम थाले । त्यहाँ काम गर्दा उनले विश्वचर्चित एप्पल र माइक्रोसफ्ट जस्ता कम्पनीसँग पनि काम गर्ने अवसर पाए । अनुभवले खारिँदै गएपछि उनले सन् २००० मा आफ्नै भिस्टा इक्वीटी पार्टनर्स नामक कम्पनी खोले ।

सफ्टवेयर कम्पनी भिस्टाको अनुमानित मूल्य अहिले ४६ अर्ब डलर र स्मिथको व्यक्तिगत सम्पत्ती ५ अर्ब डलर रहेको बताइन्छ । यसबाट थाहा हुन्छ, स्मिथ अमेरिकाको धनाढ्य अर्बपतिको सूचीमा सबैभन्दा माथि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment