Comments Add Comment

उभौली पर्व र प्रकृतिसँगको तालमेल

महान् विचारक/दार्शनिकहरुले भन्दै आएका छन्, ‘प्रकृतिसँग हामी जति नजिक हुन्छौ, उत्तिनै खुसी र सुखी हुन्छौं ।’

प्रकृतिसँग ति सबै चिज छन्, जो हामी उपभोग गर्न चाहन्छौं । हाम्रा खुसी प्रकृतिमै छन् । हाम्रो दुःख, अभाव मेट्ने स्रोत पनि प्रकृतिमै छन् । त्यही कारण हामी प्रकृतिलाई नै ईश्वर मान्छौ । भगवान मान्छौ ।

भौतिक सुख-सयल र वैभवमा हराईरहेका वर्तमान समाज पनि प्रकृतिमै र्फकन थालेको छ । र, प्रकृतिसँग लय मिलाएर मात्र सम्पूर्ण जीवनको सार्थकता पाइन्छ भन्ने चेत खुल्दै गएको छ । अहिलेका पुस्तालाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरिन्छ । प्रकृतिसँग जीवनको लय मिलाउनुपर्छ भनिन्छ । किनभने प्रकृति नै त्यो स्रोत हो, जहाँबाट प्राणी जगतले आफ्नो जीवन प्राप्त गर्छ ।

जबकी हाम्रा पितापूर्खाले प्रकृतिसँग कसरी तालमेल मिलाउने भनेर सिकाउँदै आए । खोला, नाला, हावा, पानी, रुख-बुट्यान, किरा-फट्याङ्ग्रा सबै एकअर्काका परिपूरक हुन् भन्ने कुरा सिकाए । प्रकृतिबाट विच्छेद भएर होइन, एकाकार भएर बाँच्नुपर्छ भन्ने कुरामा अभ्यस्त गराए ।

प्रकृति पूजक किरात

आदिवासी किरात समुदायलाई प्रकृति पूजक मानिन्छ । यस जातिले आफ्नो चाड-पर्वमा प्रकृतिको पूजा गर्छ । प्रकृतिसँगै एकाकार भएर बाँच्ने शैली खोज्छ ।

यस समुदायले भूमी, आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गर्छ । प्रकृतिको पूजा गर्नु भनेको यी सबैप्रति आभारी रहनु हो । कृतज्ञ रहनु हो । किरात समुदायको जीवन खेती किसानीमा आधारित छ । त्यही कारण बालीनाली लगाउने बेला र उठाउने बेला विशेष पर्व एवं उत्सव मनाउने गर्छन् ।

यी उत्सव एवं चाडहरुले बालिनाली लगाउने उपयुक्त समयको पनि संकेत गर्छ । मौसमी चक्र एवं हावापानी अनुसार कुन बेला कस्तो बाली लगाउने भन्ने कुरा यसैले निर्धारण गर्छ ।

बालीनाली लगाएपछि कुनैपनि प्राकृतिक प्रकोप नहोस्, खडेरी नलागोस्, बाढी पहिरो वा प्राकृतिक प्रकोपको सामना गर्नु नपरोस् भनेर कामना गरिन्छ ।

जब बालीनाली पाक्छ, तब यस समुदालय उत्सव मनाउँछ । बालीनाली घरमा भित्र्याइरहँदा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्छन् । अन्नबाली सपि्रएकोमा, कुनै विनास नआएएकोममा प्रकृति, हावापानी, पशुपंक्षीप्रति आभारी हुने गरिन्छ ।

उभौली पर्व

भर्खरै मात्र किरात समुदायले उभौली पर्व मनाए । यो पर्व वसन्त ऋतुमा वालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तीहरुको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्छन् । यो पर्व प्रत्येक वैशाख पूणिर्मादेखि यी जातिले भव्य रुपमा मनाउँदै आएका छन् । उभौली पर्व अर्थात भूमी पूजा साकेला सिली नाच्दै एक महिनासम्म मनाउने गरिन्छ ।

किरातहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि बर्षेनी बुद्ध जयन्ती अर्थात वैशाख पूणिर्मामा मनाउँने गर्छ । यसैगरी बालीनाली पाकेपछि पनि खुसीयाली मनाउने गरिन्छ । यस पर्वलाई चाहि उधौली भन्ने गरिन्छ, जो मंसिरे पूणिर्मामा पर्छ ।

यस पर्वमा साकेला नाच नाच्दै रमाइलो गरिन्छ । शुद्ध तन, मनले ढोल, झ्याम्टा, धनुकाँडको अदुवा, मर्चा आदिले पूजा गरेपछि सृष्टिकर्ता र प्रकृतिको पूजा गरेमा सबैको कल्याण हुन्छ भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment