Comments Add Comment

निजामती विधेयक पारित भएपछि हाम्रो शासन, हाम्रो प्रशासन हुन्छ : मुख्यमन्त्री राउत

८ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका कारण कर्मचारीको चरम अभाव झेल्नुपरेको बताउँदै छिटो कानून बनाएर आफैं कर्मचारी भर्ना गर्ने बताएका छन् ।

प्रदेशको निजामती सेवा गठन, सञ्चालनको शर्तसम्बन्धी विधेयकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले उक्त विधेयक छिटो पारित गर्न सहयोग मागरे । उनले भने ‘यो विधेयकलाई छिटोभन्दा छिटो पास गरौं, यसो गर्न सकिए हामी आफ्नै कर्मचारी भर्ना गर्न पाउँछौं ।’

मुख्यमन्त्री राउतले अगाडि भने ‘अहिलेका सचिवहरु कतिखेर आउँछन् र जान्छन् थाहा नै हुँदैन, हामी त्यो कुरा जोड्ले बोल्न पनि पाइरहेका छैनौं ।’

उनले यो विधेयक स्वीकृत भएपछि केन्द्र सरकारले आफ्नो कर्मचारी फिर्ता लगे पनि हुने बताए । ‘विधेयक पारित भएपछि कुन सचिव आइरहेका छन् भनेर काठमाडौंतिर फर्केर हेर्ने दिनको अन्त्य हुन्छ’ उनले भने, ‘यसपछि हाम्रो शासन, हाम्रो प्रशासन हुन्छ । गरीव र सक्षम युवाले रोजगारी पाउँछन् ।’

सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी पठाइदिएको भए यत्रो हतार गर्नु नपर्ने भन्दै मुख्यमन्त्री राउतले भने ‘तर कर्मचारी नपठाउँदा हतारमा यो पास गर्नुको विकल्प छैन ।’

सांसदलहरुले भने विधेयकमा मुख्यमन्त्री आफैंले कर्मचारी सरुवा, बढुवा गर्ने व्यवस्था राखेको भन्दै विरोध जनाए । ‘विधेयकमा कर्मचारीको सरुवा, बढुवा मुख्यमन्त्रीकै अन्तर्गत राखिएको छ’ सत्तारुढ समाजवादी पार्टीका सांसद रामाशिष यादवले भने, ‘यसले मुख्यमन्त्रीज्यू कर्मचारीमै अल्झिने र अन्य कामहरु हुन नसक्ने अवस्था आउन सक्छ ।’ सांसद यादवले कर्मचारी सरुवा, बढुवाको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिनुपर्ने बताए ।

नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माले निजामती कर्मचारीलाई जनताको शासक नभई सेवक राख्ने किसिमले विधेयक तयार पार्नुपर्ने बताए ।

पछिल्लो समयमा कर्मचारीहरु जुन ठाउँमा नियुक्ति लिन्छन्, त्यहींबाट सेवानिबृत्त हुने गरेको भन्दै सांसद विश्वकर्माले एकै ठाउँमा बस्ने प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताए । ‘कर्मचारीलाई दुर्गम, सुगम सबैतिर जाने किसिमको नियम बनाउनुपर्छ’ उले भने, ‘सोर्स, फोर्स चल्न नदिने कानुन ल्याउनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment