+
+
Shares

सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक १६ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वित्तीय संघीयता कार्यान्वयन र अन्तरतह समन्वय सुदृढ गर्न सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू सुर्खेतमा भेला भएका छन्।
  • कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सोमबार प्रदेश आर्थिक मामिला परिषद्को बैठक कर्णालीका मन्त्री टेक राज पछाईको अध्यक्षतामा र मुख्यमन्त्री मंगलबहादुर शाहीको उद्घाटनमा सुरु भएको छ।
  • बैठकमा आन्तरिक आय, राजस्व बाँडफाँट, अन्तरसरकारी वित्तीय हस्तान्तरण, पूँजीगत खर्च सुधार र चालु खर्चमा मितव्ययिताबारे छलफल हुने कार्यसूची छ।

१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सचिवहरूको सहभागिता रहेको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेक राज पछाईको अध्यक्षतामा सुरु भएको बैठकको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका हुन् ।

बैठकमा प्रदेशहरूको आन्तरिक आय तथा राजस्व परिचालन, राजस्व बाँडफाँट, अन्तरसरकारी वित्तीय हस्तान्तरणको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका चुनौती र सुधारका उपायबारे छलफल हुने कार्यसूची छ ।

त्यस्तै, पूँजीगत खर्चमा सुधार, चालु खर्चमा मितव्ययिता, प्रदेशको कार्यक्षेत्रअनुसार आवश्यक जनशक्ति व्यवस्थापन, आयोजना छनोट तथा बजेट चक्रको प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल हुनेछ ।

संविधान र कानुनले निर्दिष्ट गरेका वित्तीय जिम्मेवारी तथा अधिकार क्षेत्रको कार्यान्वयनका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यलाई बैठकले प्राथमिकतामा राखेको छ ।

बैठकमा विभिन्न प्रदेशका सचिवहरूले आ–आफ्नो प्रदेशको वित्तीय अवस्था, उपलब्धि, समस्या र सुधारका प्रयासबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले वित्तीय संघीयता सुदृढीकरणका लागि अन्तरतह समन्वय तथा तहगत भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।

बैठकमा प्रदेशका सामाजिक, आर्थिक तथा पूर्वाधार विकास, सुशासन अभिवृद्धि र वित्तीय संघीयताको प्रभावकारिताका लागि गर्नुपर्ने सुधारका विषयमा समेत खुला छलफल हुनेछ ।

यसअघि भएका बैठकका निर्णयहरूको समीक्षा गर्दै आगामी दिनमा वित्तीय संघीयताको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्य बैठकले राखेको छ ।

बैठकको समापनका क्रममा कर्णाली प्रदेशले सहभागी प्रदेशका मन्त्री तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्ने र अध्यक्षता कर्णाली प्रदेशबाट कोशी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?