+
+
Shares

बाजुरामा वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइयो

बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने गरी बुढीगंगा नदीमाथि मौरे पुल र मार्तडी नजिकै मार्तडी-घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठुलीसाँघु खोलामा निर्माण हुने पुलको पुलको ठेक्का रद्द गरी निर्माणको नयाँ प्रक्रिया अघि बढेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ कात्तिक १६ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराका मौरे र ठुलीसाँघु पुलको ठेक्का रद्द गरी नेपाल पूर्वाधार कम्पनीमार्फत नयाँ निर्माण प्रक्रिया अघि बढाइएको छ।
  • महाकाली पुल योजना कार्यालयले बिकोइ बिल्डर्ससँगको ठेक्का सम्झौता कम्पनीले काम सुरु नगरेपछि रद्द गरी कालोसूची सिफारिस गरेको थियो।
  • पुल नहुँदा बुढीगंगा, त्रिवेणी, गौमुल, बडीमालिका र खप्तड छेडेदहका बासिन्दाले वर्षायाममा आवतजावतमा सास्ती भोग्दै आएका छन्।

१६ कात्तिक, बाजुरा । बाजुरामा निर्माण सुरु नै नगरी वर्षौंदेखि अलपत्र रहेका दुई वटा पुलको ठेक्का रद्द गरिएको छ । ठेक्का रद्द भएसँगै दुवै पुलको निर्माण प्रक्रिया अघि बढाइएको छ ।

बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने गरी बुढीगंगा नदीमाथि मौरे पुल र मार्तडी नजिकै मार्तडी-घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठुलीसाँघु खोलामा निर्माण हुने पुलको पुलको ठेक्का रद्द गरी निर्माणको नयाँ प्रक्रिया अघि बढेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् ।

ठेक्का रद्दसँगै वर्षौंदेखि अलपत्र दुवै पुलको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको छ । करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएर तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अहिलेसम्म सुरु हुन सकेको थिएन । निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेपछि ठेक्का रद्द गरी नयाँ निर्माण प्रक्रिया अघि बढाइएको हो ।

२०७८ माघ ११ गते बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने गरी बुढीगंगा नदीमाथि मौरे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँग १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्त पुल २०८१ फागुनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, निर्माणको जिम्मा लिएको कम्पनीले तोकिएको समयावधि सकिँदासमेत काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालयले ठेक्का रद्द गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । त्यसपछि उक्त विवाद अदालतसम्म पुगेको थियो ।

अदालतले २०८३ साउनमा योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि पुल निर्माणको प्रक्रिया अघि बढेको महाकाली पुल योजना महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर रवि शाहले जानकारी दिए ।

बुढीगंगा नदीमाथि पुल नहुँदा वर्षायाममा पालिकाभर यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुने गरेको र हिउँदमा जोखिमपूर्ण खोला पार गर्नुपर्ने बाध्यता रहेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताए ।

उनका अनुसार बुढीगंगा नदीमाथि निर्माण हुने मौरे पुल बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने संरचना मात्र नभई बडीमालिका क्षेत्रको प्रमुख प्रवेशद्वारसमेत हो । पुल निर्माण सम्पन्न भएमा बडीमालिका आवतजावत पनि सहज हुने उनले बताए ।

यस्तै, वर्षौंदेखि अलपत्र रहेको अर्को पुल सदरमुकाम मार्तडी नजिकै मार्तडी-घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठुलीसाँघु खोलामा निर्माण गर्ने भनिएको थियो । यी दुवै पुल महाकाली पुल योजना कार्यालय महेन्द्रनगरमार्फत एउटै प्याकेजमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

ठुलीसाँघु खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गर्न २०७७ फागुन १० गते बिकोइ बिल्डर्स प्रालि काठमाडौंसँग १६ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् २०८१ सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

उक्त खोलामा पुल नहुँदा वर्षायाममा गौमुल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती खेप्दै आएका छन् ।

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका सूचना अधिकारी शाहले दुवै खोलामा एकैसाथ पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण ठेक्का रद्द गर्नुपरेको बताए ।

यस्तै, पूर्वाधार विकास मन्त्री लम्सालले पनि सामाजिक सञ्जालमार्फत दुवै पुलको ठेक्का रद्द गरी नयाँ निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए । मन्त्री लम्सालका अनुसार वर्षौंदेखि अलपत्र दुवै पुलको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको छ ।

वर्षायाममा पुलको अभावमा सम्बन्धित स्थानीय तहबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहेकाले निर्माण कार्य शीघ्र अघि बढाउन आवश्यक रहेको उनले बताएका छन् ।

यसअघि निर्माण प्रक्रिया अघि बढाउने तयारीस्वरूप दुवै आयोजनास्थलमा इन्जिनियर खटाएर स्थलगत परीक्षण (साइट भेरिफिकेसन) समेत गरिएको थियो ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?