Comments Add Comment

देवदहमा काठका ठुुटामा कुँदिए अनेक मूर्तिहरू (फोटो फिचर)

१४ जेठ, बुटवल । जेठको उखरमाउलो गर्मी । त्यसमाथि तातो हावा चल्ने जंगलको ठाउँ । देवदह नगरपालिका-६ स्थित बुद्ध सामुदायिक वनको एक छेउमा मूर्त्तिकारहरु असिनपसिन हुँदै रुखका ठुटालाई कुँदेर बिभिन्न आकृतिका मूर्त्ति बनाइरहेका छन् ।

देशका विभिन्न जिल्लाबाट आएका डेढदर्जन मूर्त्तिकारहरु बिहान ७ बजे जम्मा हुन्छन् अनि कसैले साल, कसैले जामुन त कसैले कर्माको रुखका सुकेका ठुटा कुंद्न थाल्छन् ।

बिहानको खाना जंगलमै खान्छन्, दिनभर काठलाई मूर्त्ति बनाउन आफ्नो सीप लगाउँछन् । राति ८ बजे खाना खाएर बासस्थान र्फकन्छन् । गुल्मी, रुपन्देही, चितवन, रौतहट, इलाम, झापा र काठमाडौं जिल्लाबाट आएका १७ जना मूर्त्तिकारको केही दिनदेखिको दैनिकी यस्तै छ ।

सामुदायिक वनभित्र छुट्टै विशेषतासहितको आकर्षक पर्यटकीय स्थल बनाउने लक्ष्य अनुसार ८ हेक्टर जग्गालाई गौतमबुद्ध राष्ट्रिय उद्यानमा राख्नका लागि जेठ ९ गतेदेखि यहाँ राष्ट्रिय काष्ठकला कार्यशाला चलिरहेको छ ।

बुद्धको मावली र सुराली थलो देवदहमा सञ्चालित काष्ठ कार्यशालामा आएका मूर्त्तिकारहरुले वनमा कुहिएर खेर जाने वा जाडोमा आगो बालेर सिध्याइने काठका ठुटा/जराहरुलाई बुद्ध र उनको परिवारका सदस्यको आकृतिमा बदल्दै छन् ।

काठमा बुद्ध र उनका परिवारका सदस्यहरुका आकृति तयार हुँदैछन् । बन्दै गरेका मूर्त्तिहरुमा सिद्धार्थ गौतमको जन्मदेखि ज्ञान प्राप्तिसम्मका मुख्य घटनाक्रमको प्रतिरुप झल्काइएको छ भने बुद्धका मावली देवदहको चिनारी पनि देखाइएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामाले सिद्धार्थ गौतमलाई आमा मायादेवीले लुम्बिनीमा जन्म दिदै गर्दाको र सिद्धार्थ सात पाइला हिँडेको आकृति कुंदिरहेका छन् ।

काठमाडौं विश्व विद्यालयका उपप्राध्यापक भुवन थापाले देवदहको नक्सा, देवदहको चिनारी मानिने पाकरी बृक्ष, बुद्धको पञ्चशील सिद्धान्त झल्काउने चक्र आकृतिसहितको आकर्षक काष्ठकला बनाएका छन् ।

सालको धोद्रो काठमा कुंदिएको थापाको कलाले जो कोहीलाई लोभ्याउँछ । फाइन आर्टमा प्लस टु गरेका बुटवलका हरिबहादुर थापा बयम्बुले सालको काठको जरालाई बौद्ध भिक्षु ध्यानमा बसेको आकृति दिन एक हप्तादेखि आफ्नो कला पोखिरहहेका छन् ।

रुपन्देहीका बुद्ध चौधरीले कर्माको काठमा पञ्चम बुद्धको मूर्त्ति कुंदिरहेका छन् । बुटवलका मूर्त्तिकार यमबहादुर थापाले बुद्धकी आमा मायादेवीको निधनपछि अर्की रानी प्रजापति गौतमीले सिद्धार्थलाई स्याहारसुसार गर्दै गरेको मूर्त्ति तयार गर्दैछन् ।

रुपन्देहीका मूर्त्तिकार गोविन्द चौधरीले सालको काठमै कोलिय गणराज्यका राजा सुप्रबुद्धको मूर्त्ति बनाउँदै छन् ।

काठमाडौंका प्रथमराज बज्राचार्यले ज्ञानको खोजीमा भारत बोधगया नजिकै तपस्यामा रहेका सिद्धार्थ गौतमको जीर्ण भएको शरीरको अर्धकदको आकृति उतार्दैछन् ।
बज्राचार्यले सिद्धार्थ गौतमको यस्तै पूर्णकदको मूर्त्ति बनाएर सन् २०११ मा राष्ट्रिय अवार्ड जितेको स्मरण गरे ।

कार्यशालामा चितवनबाट आएका दिनेश्वर महतो, हेटौडाका लक्ष्मण भुजेल, इलामका राजु पिठाकोटे, चितवनका भीमबहादुर श्रेष्ठ, गुल्मीका हरिराम अधिकारी, झापाका केडी याक्खा, काठमाडौंका अनमारी तामाङ, गुल्मीका कुमार थापा कार्यशालामा बुद्ध र उनीसँग सम्बन्धित मूर्त्तिहरु बनाइरहेका छन् ।

काष्ठ मूर्त्तिहरुलाई उद्यानको अलग अलग स्थानमा आकर्षक सेड बनाएर संरक्षण गरिने कार्यशालाको प्रवर्द्धक ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह ५ र ६ रुपन्देहीको मुख्य आयोजनामा चलिरहेको कार्यशाला जेठ १६ गतेसम्म चल्ने बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले बताए ।

‘सामुदायिक वनभित्र बन्ने गौतमबुद्ध पार्कलाई बुद्धसँग सम्बन्धित काष्ठकलाले सजाउने र राष्ट्रियस्तरमा चिनारी दिलाउने हो,’ रानाले भने, ‘अर्को वर्ष ढुंगाका मूर्त्ति बनाउन प्रस्तर मूर्त्ति कार्यशाला गर्छौं ।’

काष्ठ कार्यशालाका लागि १५ लाख खर्च लाग्ने रानाले बताए । गौतमबुद्ध उद्यानमा विभिन्न पर्यटकीय पूर्वाधारहरु बनाउन हालसम्म ३० लाख रुपैयाँ खर्च भइसकेको वनका अध्यक्ष रानाले बताए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment