Comments Add Comment

बजेट निर्माणमा संलग्न ‘कोर टिम’मा को-को ?

१४ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बेलुका ४ बजे आर्थिक वर्ष ०७५/७६ को आयव्यय विवरण संसदमा सार्वजनिक गर्दैछन् । यतिबेला अर्थ मन्त्रालयमा बजेटलाई अन्तिम रुप दिने चटारो छ ।

अर्थमन्त्री, अर्थसचिव र मन्त्रालयका सहसचिवहरुको एक ‘कोर टीम’ राति १०/११ बजेसम्म बसेर बजेट भाषणलाई अन्तिम रुप दिन जुटिरहेको छ । अर्थमन्त्री आफैं अर्थतन्त्रका विज्ञ भएका कारण पनि बजेट लेखनमा सानो टीम परिचालन भएको छ ।

स्रोतका अनुसार बजेट लेखनमा अर्थ मन्त्रीलाई मन्त्रालयका दुई सचिव र ४ सहसचिवले प्रत्यक्ष साथ दिइरहेका छन् । त्यसमा अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेलको प्रभावशाली भूमिका छ ।

अर्थमन्त्री डा. खतिवडा अर्थमन्त्रीको कार्यकारी भूमिकामा यस वर्ष दोस्रो बजेट लेख्दैछन् । चालु आवको बजेट पनि उनैले लेखेका हुन् । राष्ट्रिय योजना आयोगमा दुई कार्यकाल बिताएका अर्थमन्त्री नेपाल राष्ट्रबैंकका गभर्नर पनि भए । अर्थमन्त्रीसँग राष्ट्रिय योजना आयोगमा रहेर बजेट लेखनमा प्रत्यक्ष सहभागी भएको अनुभव पनि छ ।

अर्थसचिव राजन खनाल बजेट लेखनमा प्रत्यक्ष सहभागी छन् । अर्थ मन्त्रालयमा राजस्व सचिवको समेत भूमिका निर्वाह गरेका खनाल माघ ०७२ मा सचिव बनेका थिए ।खनालले यसअघि पनि अर्थमा राजश्व सचिवका रुपमा काम गरिसकेका थिए ।
यो पनि पढ्नुहोस बजेटका लागि अर्थमन्त्रीको १६ घन्टा खटाई, राति–राति प्रधानमन्त्रीलाई ब्रिफिङ

राजस्व सचिव लालशंकर घिमिरे टोलीका अर्का सदस्य हुन् । उनीसँग अर्थ मन्त्रालयमा लामो समयको अनुभव छ । मन्त्रालयको वैदेशिक महाशाखामा बसेर काम गरिसकेका घिमिरे वर्षमान पुन अर्थमन्त्री रहेको समयमा मन्त्रीसँग मतान्तर भएपछि अर्थबाट सरुवामा परेका थिए । पछिल्लो समय प्रधानमन्त्री कार्यालयको सचिव रहेका घिमिरेलाई तत्कालीन राजस्व सचिव शिशिरकुमार ढुंगानाको सट्टा राजस्व सचिवका रुपमा अर्थमा ल्याइएको हो ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनीको पनि बजेट लेखनमा नेतृत्वदायी भूमिका छ । उनी पनि अर्थ मन्त्रालयमा लामो समय काम गरेका अनुभवी हुन् । अर्थमा संस्थान समन्वय महाशाखा प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका पुडासैनीलाई वर्तमान सभामुख कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । गृहबाट राजस्व व्यवस्थापन प्रमुखका रुपमा अर्थमा सरुवा भएका उनी अहिले भने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख छन् । उनीसँग भन्सार प्रशासनमा काम गरेको समेत अनुभव छ ।

राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरि अधिकारी अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव हुन् । राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयहरुमा नेतृत्वदायी भूमिकामा रहेका अधिकारी चालु आर्थिक वर्षको बजेट लेखन हुँदा बजेट तथा कार्यक्रम महाशाखामा रहेर काम गरेका थिए ।

अर्थमन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारीमा रहेका श्रीकृष्ण नेपाल अहिले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख छन् । उनी पनि बजेट लेख्ने टोलीका महत्वपूर्ण सदस्य हुन् ।

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक धनिराम शर्मा पनि बजेट लेखनमा प्रत्यक्ष संलग्न छन् । आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकको भूमिका निर्वाह गरिसकेका उनीसँग राजस्व प्रशासनको लामो अनुभव छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक तथा अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. रामशरण खरेल पनि यस वर्ष बजेट लेखनमा प्रत्यक्ष संलग्न छन् । डा. खतिवडा अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै राष्ट्रबैंकबाट खरेललाई काजमा मन्त्रालय तानिएको हो ।

यसवर्ष अर्थ मन्त्रालयले करीव १५ खर्ब रुपैयाँको बजेट ल्याउने अनुमान गरिएको छ । यद्यपि बजेटको आकार भने तय भइसकेको छैन । राष्ट्रिय योजना आयोगले सरकारलाई दिएको बजेट सिलिङ १४ खर्ब ९३ अर्ब ९० करोड हो ।

सरकारले ल्याउने लोकप्रिय कार्यक्रमले आकार निर्धारणमा प्रभाव पार्ने गर्छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार बजेट लेखन अब अन्तिम चरणमा पुगेको छ । बजेटसँगै सार्वजनिक गर्नुपर्ने पुस्तकहरु प्रकाशन हुने क्रम पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment