Comments Add Comment

सुकेधारा टू ओम अस्पताल : बम विस्फोटपछि फैलिएको सन्त्रास

‘ढ्वाङ्ग’ ठुलो आवाज आयो,  त्यसपछि बेहोश भएँ । होसमा आउँदा कालो मुस्लो धुवा नै धुवा भरिएको थियो । मानिसहरु धेरै भेला भइसकेका थिए’उनी मुख बिगार्दै बोले, ‘रगत लतपतिएको थियो । घाइतेहरु बचाउ बचाउ भन्दै चिच्याइरहेका थिए । त्यहाँ बसेर हेर्न सकिन ।’

सुकेधारास्थित कुच्चो गोदाममा बसेर रामप्रसाद बोलाखे बोलिरहेका छन् । उनलाई सुन्न र सान्त्वना दिन मानिसको सानोतिनो भीड लागेको छ । उनकी श्रीमती छेउमै बसेर झोक्राइरहेकी छिन् । बोलाखेका कुरा कामदारहरु चाख मानेर सुनिरहेका छन् ।

विस्फोटबारे विभिन्न अड्कलबाजी भइरहेको छ । ‘रे’ को हल्ला नमज्जाले फैलिएको छ । कोही ‘हजामले पड्काएको रे’ भन्दैछन् त कोही ‘अरु मान्छेले बम छोडेको’ भनेर सुनाउँदैछन् ।  कोही भने ‘कसरी भयो घटना ?’ भनेर राम प्रसादलाई ‘केरकार’ गरिरहेका छन् ।

रामप्रसाद अन्यौलमा छन् । घटनास्थलमा आउने मान्छेलाई जवाफ दिँदादिँदा दिक्क भइसकेका उनी भन्छन्, ‘के भएको हो ? कसरी भएको हो ? त्यही हजामलाई थाहा होला । हामीलाई के थाहा ?’

*****

टिनको छानो । त्यो भित्र ठुलो खुल्ला ठाउँ । त्यहाँ अमिस्रोको कुच्चोहरुको रास छ । त्यही गोदामको एक कुनामा राम प्रसादको परिवार बस्छ । अर्को कुनामा उनका कामदारका परिवार ।

गोदामको अगाडि पट्टि ५ वटा सटर निकालिएको छ । त्यही ५ वटा सटरमध्ये एउटा सटरमा आइतबार बम पड्किएको थियो ।

यो पनि पढ्नुहोस घट्टेकुलो र सुकेधारामा विप्लवको विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

धोविखोला  करिडोरको छेउबाट दोस्रो पसलमा सैलुन थियो । सैलुनमा दुईवठा कोठा थिए । अगाडिपट्टि कपाल काट्ने कोठा थियो भने पछाडि खाने बस्ने । पछाडिपट्टि कोठामा छिर्न गोदामको बाटो आउजाउ गर्नुपर्थ्यो । त्यही कोठामा हजाम जीवकुमार ठाकुर बस्थे ।

अहिले जीवकुमारको कोठा भद्रगोल छ । सीसाहरु फुटेका छन् । टिनको छानो उडेको छ । भित्तामा छात्ती फुलाएर पोज दिएको हनुमानको पोस्टरमा रगत लतपतिएको छ ।

 

एउटा कुच्चिएको प्रेसर कुकुर भुईंमा लडेको देखिन्छ । छेउमै रहेको ग्यास सिलिण्डरको अवस्था त्यस्तै । कुर्सीहरु उत्तानो परेका छन् । भुइँमा अझै पनि रगतका फाटा र घाइते तथा मृतकका शरीरबाट छुटेका अंशहरू बाँकी नै छ ।

रामप्रसादले गोदाम भएको जग्गा साढे २ वर्ष अघि भाडामा लिएका थिए ।  टहरा बनाएर ५ वटा सटर निकाले । एउटा सटरको मासिक १० हजार लिने गरी भाडामा दिए । जीवकुमार सटर खोज्दै दुई वर्ष अघि त्यहाँ आएका थिए । सटर पाएपछि शैलुन खोले ।

शैलुन राम्रै चलेको थियो । जीवकुमार सैलुनमा एक्लै बस्थे ।रामप्रसादले गएका दुई वर्षमा जीवकुमारको परिवार देखेका छैनन् । शैलुनमा काम गरेको बाहेक उनको अन्य गतिविधि रामप्रसादलाई याद छैन । शंका गर्नुपर्ने व्यवहार पनि देखाएको थिएन ।

‘उस्को कोठामा के हुन्थ्यो थाहा भएन्’ रामप्रसादले भने, ‘ हिजो धेरै मान्छे आएका थिए । कसले र किन पड्कायो थाहा छैन । उसको कोठमा पड्किएकाले सबैले उसलाई शंका गरेका छन् ।’

सैलुनको पछाडिपट्टिको ढोकाबाट देखिएको दृश्य ।

घटनास्थल हेर्न आउने सबैले रामप्रसादलाई सोधिरहेका छन्, ‘ छेउमै बम पड्किँदा यति नजिकै रहेको गोदाम कसरी बच्यो  ?’

रामप्रसाद छक्क छन् । उनी यही प्रश्न आफैंलाई गरिरहेका छन् ? मनबाट  जवाफ आउँछ-  भगवानले  बचाए ।

भगवान नभएको भए बच्न असम्भव रहेको उनको दाबी छ ।  ‘बम सिधै माथि पड्किएर र छानो उडायो । दायाँ बायाँ पड्किएको भए हामी दश जना गोदामसँगै सकिन्थ्यौँ’ उनले भने, ‘एउटा झिल्को केही यता छिरेको भए त सुकेको कुचो हुरुरु बलिहाल्थ्यो नि ।’

राम्रसाद अझै सम्हालिन सकेका छैनन् ।  मनमा डर कायमै छ । घटनास्थल सफा नगरेका कारण गन्हाउन थालेको छ । अब के हुन्छ भन्ने कुराले पिरोलेको छ । उनी भन्छन्, ‘मैले सटर भाडा दिएको ठाउँमा यस्तो भयो, छक्क परिराछु ।  यस्तो हुन्छ भन्ने के थाहा मलाई ?’

बम बिस्फोट भएको सटर (भत्किएको र सामानहरु छरिएको )

सुकेधारामा राम प्रसाद अब के हुन्छ भनेर भनेर छटपटाइरहदाँ नजिकै रहेको ओम अस्पतालमा जीव कुमार मृत्युसँग संघर्ष गरिरहेका छन् । उनका आफन्त अहिलेसम्म अस्पताल पुगेका छैनन् । जीव कुमारसँगै अन्य दुईजना घाइते पनि आईसीयुमै छन् ।

प्रतिक्षालयमा बिरामीको कुरुवाहरु बसिरहेका छन् । कोही पत्रिका पढिरहका छन् त कोही मोबाइल चलाइरहेका छन् । आईसीयुको शैयामा आफन्त भएकाले हनुपर्छ उनीहरु निराश छन् । नजर घरिघरि ढोकातिर गइरहन्छ । सबै जना सुखद खबरको प्रतिक्षामा छन् ।

त्यही प्रतीक्षालयको एउटा बेञ्चमा छिन्, राधिका खड्का । उनका दुई छोराहरु छेउमा टोलाइरहेका छन् । निराश अनुहार लगाएर बसेकी राधिका प्रतिक्रयाविहीन देखिन्छिन् । आईसीयूको ढोका उघ्रिँदा मात्रै उनको मुन्टो त्यतातिर सोझिन्छ । उनी एकोहोरो भइसकेकी छिन् ।

उनका श्रीमान हरि खड्का बम विस्फोटमा परी घाइते भएका छन् । आईसीयूमा उपचार भइरहेकाले श्रीमानको प्रतिक्षा छ उनलाई । मुहारमा प्रतिक्षाको मौन छटपटी प्रष्ट देखिन्छ ।

साझ मिलन घरमै थिए । त्यही बेला कपाल काट्न निस्कन्छु भनेर बुवा (हरी) बाहिर निस्किए । हरि घरबाट निस्किएको १५ मिनेट नबित्दै केही पड्किएको ठुलो आवाज सुनियो । ट्रान्समिटर पड्किएको भन्ने अनुमान गरेर मिलनले वास्ता गरेनन् । एकैछिनपछि बम विस्फोट भएर बुवा घाइते भएको खबर पुग्यो । उनलाई सुरुमा विस्वास नै लागेन ।

हल्लाखल्ला ज्यादा भएपछि हतारिँदै अस्पताल दौडिए । अस्पताल पुग्दा ब्याण्डेजहरु बाध्ने काम भइरहेको थियो । रगतहरु लतपतिएकाले हेर्न सक्ने अवस्था थिएन् ।

‘हाम्रो बुवालाई खुट्टामा मात्र चोट लागेको रहेछ । अरुको अवस्था हेर्न सक्ने किसिमको थिएन’ मिलनले भने, ‘अरुको त मासुको चोक्टाहरु छ्याल ब्याल थियो । मैले त हेर्नै सकिँन ।’

घटना भएको केही घण्टामै ‘विस्फोटमा परी हरि खड्काको मृत्यु’ भन्ने झुटो समाचारहरू पनि आए । समाचार देख्दा मिलन छक्क परे । उनकी फुपू दिदी अस्पतालमै बेहोस भइन् । काभ्रेमा रहेका हरिका बुवाआमा पनि बेहोश भए । मिलन दिक्क मान्दै बोल्छन्, ‘हुजुरबा हजरआमालाई बुवा जिउँदै हुनुहुन्छ भनेर कत्ति पटक फोन गरिसकेँ, विस्वासै गर्नुहुन्न ।’

घटना भएको बेला राधिका आफन्तकोमा गएकी थिइन् । मोबाइल नबोकेकाले घटनाबारे तुरुन्तै चाल पाइनन् । पछि मात्र अस्पताल पुगेकी राधिकाले भने जिउँदो श्रीमानको मृत्युको खबर सुन्नु परेन । मिलन प्रश्न गर्छन्, ‘ममीले त्यस्तो खबर सुनेको भए के हुन्थ्यो होला ?’

विप्लवको कार्यकर्ता नै घाइते तथा मृत्यु भएका भनेर दाबीहरु आएका छन् । तर, मिलनलाई बुवा राजनीतिमा भएको थाहा छैन । किराना पसल चलाएर बस्ने बुवा त्यस्तो गतिविधिमा संग्लग्न होलान् भन्ने विस्वास पनि छैन । घरमा राजनीतिको कुरा गरेकोसम्म याद छैन ।

‘कपाल काट्न जाने ठाउँमा त्यस्तो हुँदोहोला त कपाल काट्न जानेलाई के थाहा ?’ उनले भने, ‘उहाँ विस्फोटमा संग्लग्न भएको भए अरु जतिकै घाइते हुनुहुन्थ्यो होला नि ?’

आईसीयूमा उपचाररत बुवालाई उनले भेटिसके । बुवाले उनलाई सुनाएअनुसार कपाल काट्न जाँदाजाँदै बम पड्किएर घाइते भए । शैलुनमा नपुगिसकेकाले खुट्टामा मात्र चोट लाग्यो । ‘हल्लाहरुले गर्दा तनाव बढेको छ । जिउदो मान्छे मरेको भनेर समाचार आएको छ । विप्लवको कार्यकर्ता भनेर आरोप लगाएका छन्, ‘मिलनले भने, ‘बुवा अहिले बोल्न र खान सक्नुहुन्छ तर, अब झनै डर लागेको छ । सन्त्रास बढेको छ ।’

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment