+
+
Shares

पत्रकार धरपकडबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

‘हिजो जुन प्रकारको घटना भयो, पत्रकारमाथि सोधपुछ गर्ने नाममा जहाँबाट जसरी भयो, त्यो गलत भयो भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रहेको छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १७:४५

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले पत्रकार धरपडकको घटनाबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले बैठकले स्पष्ट रूपमा सरकारलाई निर्देशन दिएको बताए ।

‘हिजो सञ्चारकर्मीसँग सोधपुछ, धरपकड वा पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा हिजै दिइसकेको छ । सचिवालय बैठकबाट थप स्पष्ट पारेको छ,’ प्रवक्ता खरेलले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले दिएको मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ, विधिको शासनको सम्मान गर्दछ, मानवअधिकारको सम्मान गर्दछ ।’

प्रेस स्वतन्त्रताका सन्दर्भमा रास्वपा कहिल्यै, कसैसँग पनि सम्झौता नगर्ने उनले बताए । ‘हिजो जुन प्रकारको घटना भयो, पत्रकारमाथि सोधपुछ गर्ने नाममा जहाँबाट जसरी भयो, त्यो गलत भयो भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रहेको छ,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयबाट धरपकडमा संलग्नता नरहेको आएको सन्दर्भमा पनि सचिवालय बैठकमा कुराकानी भएको उनले बताए । ‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधिखोजी गर्ने काम अझ त्यसमाथि पनि समाचार कक्षमै प्रवेश गरेर । यो किन भयो कसरी भयो, कसले गर्‍यो यो विषयमा छानबिन गर्ने, पत्ता लगाउने र गर्नेलाई कारबाही गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको यो सचिवालय बैठक निर्देशन दिन्छ,’ उनले भने, ‘कारबाही गर्ने काममा कुनै पनि ढिलासुस्ती नगर्न पनि शिघ्रातिशिघ्र कारबाही गरेर परिणाम देखाउनका लागि सरकारलाई निर्देशन दिएको छ ।’

रास्वपाले अंगिकार गरेको सामाजिक लोकतन्त्रमा प्रेस स्वतन्त्रता अक्षुण्ण हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?