News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको फेटा गाउँपालिकामा शनिबार अस्पताल उद्घाटन कार्यक्रम रोक्ने विवादमा झडप हुँदा अस्पताल तोडफोड र १० मोटरसाइकलमा आगजनी भएको छ।
- प्रहरीको गोली लागेर फेटा–३ का १५ वर्षीय आदित्य पासवान घाइते भएका छन् र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
- ढुंगामुढाबाट ५ प्रहरी घाइते भएका छन् र जिल्ला प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
१४ कात्तिक, (जनकपुर/बारा ) । बाराको फेटा गाउँपालिकामा शनिबार बिहान भएको झडप भएको छ । त्यसक्रममा अस्पतालमा तोडफोड तथा मोटरसाइकलमा आगजनी समेत भएको छ । झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । ढुंगामुढा लागेर अन्य पाँचजना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीको गोली लागेर बाराको फेटा गाउपालिका ३ का १५ बर्षीय आदित्य पासवान घाइते भएका छन् । उनलाई एउटा तिघ्रामा गोली लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
घाइतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रवक्ता एसएसपी ढकालका अनुसार झडप नियन्त्रणमा लिन खोज्दा ढुंगामुढा लागेर ५ जना प्रहरी घाइते भएका छन् ।
कसरी भयो विवाद ?
फेटा गाउँपालिकामा १५ बेडको नवनिर्मित हस्पिटल उद्घाटनको कार्यक्रम रहेको थियो । सो पालिका राष्ट्रिय स्वतन्त्रत पार्टीको एक मात्र जनप्रतिनिधि भएको पालिका हो । विवेकशील साझाबाट पालिका अध्यक्ष जितेका छन् ।
पार्टी चुनावका बेला रास्वपामा समाहित भयो । शनिबार हस्पिटल उद्घाटन गरी पालिकालाई हस्तान्तरण गर्न विगतमा विवेकशील साझाकी र वर्तमान रास्वपा प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा आएकी थिइन् ।
प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए ।
उनी नेकपा एमालेबाट जित्दा अस्पताल निर्माणको थालनी भएको थियो । त्यसकारण उनीसहितका एमाले नेता कार्यकर्ताले उद्घाटन रोक्न पहिले नै चेतावनी दिएको थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार, रास्वपा सांसदले उद्घाटन गर्ने भएपछि स्थानीय एमाले नेताहरूले जिल्ला प्रशासनसमक्ष आफुहरुले कार्यक्रम बिथोल्ने चेतावनी दुई दिन अघिनै दिएका थिए ।

एमालेसहित स्थानीय समेत रहेका शिक्षक लालबाबु साह दुईजनाको नेतृत्व समेत विरोधको नेतृत्व गरेका थिए । साह बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहा स्थित श्री नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक समेत छन् । उनी माध्यमिक तह द्वीत्तिय श्रेणीका शिक्षक हुन् । प्रजिअ अधिकारीका अनुसार जिल्ला प्रशासनमा कार्यक्रम बिथोल्ने चेतावनी दिन उनी पनि पुगेका थिए ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शिक्षण पेशामा आबद्ध व्यक्ति राजनीतिक रुपमा प्रस्तुत भएको विषयमा दुई दिन अघिनै शिक्षा विकास तथा समन्वय ईकाई बारालाई जानकारी गराइएको बताए ।
‘आज फेटामा भएको घटनाको पूर्व जानकारी गराउने शिक्षकका विषयमा दुईदिन अघिनै हामीले शिक्षा कार्यालयलाई जानकारी गराएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ढकालका अनुसार कार्यक्रम स्थलमा निवर्तमान अध्यक्षको नेतृत्वमा अढाइ सय जित मानिसहरू आएर आक्रमण गरेका थिए । त्यसपछि झडप भएको थियो ।
त्यस क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
बाराका प्रजिअ अधिकारीका अनुसार अस्पताल परिसरमा शिलालेख र उद्घाटनका लागि तयार टेण्ट तोडफोड भएपछि प्रहरीले लाठीचार्ज गरि भिड तितरबितर पारेको थियोे । आक्रोशित प्रदर्शनकारीले अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
सो क्रममा अस्पताल परिसरमा थुनिएका १० जना स्वास्थ्यकर्मी र केहि सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
‘हामी बैठकमै छौं, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ, हालसम्म कसैलाई पक्राउ गरेका छैनौं,’ बाराका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4