+
+
Shares

शैलुङ : प्रकृति र आस्थाको संगम

शैलुङ भनेको केवल एउटा डाँडा मात्र होइन । यहाँको धार्मिक र प्राकृतिक पक्ष एकअर्कासँग जोडिएका छन् । शैलुङमा रहेको महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ ।

जीवन लामा जीवन लामा
२०८३ कात्तिक १४ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको शैलुङ समुद्री सतहबाट ३ हजार १४८ मिटर उचाइमा रहेको, सडक पहुँच र होटल सुविधासहित पर्यटकको रोजाइ बन्दै गएको छ।
  • शैलुङ ग्रेटवाल, महादेव मन्दिर र खुला हरियालीले शैलुङलाई धार्मिक र प्राकृतिक दुवै गन्तव्यका रूपमा परिचित गराएको छ।
  • स्थानीय, निजी क्षेत्र र समाजसेवीको सक्रियतासँगै शैलुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ।

चरिकोटको चरिघ्याङस्थित कालिञ्चोक एफएमको कार्यालयबाटै आँखै अगाडि देखिन्छ, शैलुङ । मौसमअनुसार शैलुङको रूप फेरिइरहन्छ । हिउँ पर्दा सेताम्मे भएर ढकमक्क हुन्छ भने वर्षायाममा हरियो घाँसे मैदान र वनस्पतिले शैलुङलाई झनै मनमोहक बनाउँछ ।

छिनछिनमा बदलिरहने मौसम, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा, बिहानको सूर्योदय र साँझको सूर्यास्तले शैलुङसँगको आत्मीयता झनै बढाइदिन्छ ।

शैलुङ टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, नजिक पुग्दा यसको सुन्दरताको गहिराइ अझ बढी महसुस गर्न सकिन्छ । खुला आकाशमुनि फैलिएका हरिया चौर, चिसो हावा, डाँडामाथि टाँसिएझैँ देखिने बादल र वरिपरिका हिमाल तथा पहाडको दृश्यले मनलाई एकैछिन भए पनि दैनिक व्यस्तताबाट टाढा पुर्‍याउँछ ।

पत्रकार सुवास बस्नेत र म दुवै जना फोटोका सौखिन । नयाँ ठाउँ पुगेर दृश्यलाई क्यामेरामा कैद गर्नु हाम्रो साझा रुचि हो । त्यसैले दोलखाको उत्कृष्ट पर्यटकीय गन्तव्य शैलुङको सेरोफेरोमा केही दिन बिताउने योजना बन्यो । योजना बनेपछि धेरै समय लागेन । हामी चरिकोटबाट मोटरसाइकलमा शैलुङतर्फ लाग्यौँ । बाटोमा भेटिएका दृश्य, बस्ती, डाँडाकाँडा र प्रकृतिका सुन्दर क्षणलाई क्यामेरामा कैद गर्दै हाम्रो यात्रा अघि बढ्यो ।

शैलुङ पुग्ने बाटो आफैंमा एउटा छुट्टै अनुभव हो । उकालो–ओरालो पार गर्दै अघि बढ्दा तलतिर छुट्दै गएको बस्ती र माथितिर फैलिँदै गएको हरियालीले यात्राको उत्साह थप्दै जान्छ । कतै घना वन, कतै खुला चौर, कतै टाढासम्म देखिने पहाडी भूगोल । प्रकृतिसँग नजिक हुँदै जाँदा मोटरसाइकलको यात्रा पनि गन्तव्यभन्दा कम रमाइलो लाग्दैन । बासका लागि हामी कालापानीस्थित शैलुङ इको भिलेज गोलघर पुग्यौं । त्यहाँ दिनेश श्रेष्ठले गर्नुभएको आत्मीय आतिथ्यताले यात्राको थकान बिर्साइदियो ।

साँझ होटलमा बसेर शैलुङको पर्यटन र यहाँका होटल व्यवसायबारे लामो गफगाफ भयो । दिनेशजीका अनुसार छोटो अवधिमै शैलुङले अपेक्षा गरेभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । सडकको सहज पहुँच, प्राकृतिक सौन्दर्य र यहाँ विकास हुँदै गएका पर्यटकीय पूर्वाधारले शैलुङलाई पर्यटकको रोजाइमा पार्दै गएको देखिन्छ ।

शैलुङ गाउँपालिकाका भरत प्रसाद दुलाल तत्कालीन अध्यक्ष हुँदा कालापानी नजिकै निर्माण गरिएको शैलुङ ग्रेटवाल पनि पछिल्लो समय पर्यटकको आकर्षण बनेको छ । ग्रेटवालबाट देखिने वरिपरिको भूगोल र खुला प्राकृतिक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई केहीबेर रोकिएर प्रकृतिलाई नियाल्न बाध्य बनाउँछ । क्यामेरा बोकेर पुगेका हामीजस्ता फोटोका सौखिनका लागि त यस्ता ठाउँ झनै आकर्षक हुने नै भए ।

शैलुङ भनेको केवल एउटा डाँडा मात्र होइन । यहाँको धार्मिक र प्राकृतिक पक्ष एकअर्कासँग जोडिएका छन् । शैलुङमा रहेको महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ । मन्दिर वरिपरिका खुला चौर, हरियाली र शान्त वातावरणले धार्मिक यात्रालाई प्रकृतिसँग जोडिदिन्छ । घण्टीको आवाजसँगै चल्ने चिसो हावा र चारैतिर फैलिएको हरियाली थुम्काले मनमा छुट्टै शान्ति पैदा गर्छ ।

प्रकृतिको काखमा उभिएको मन्दिरमा पुग्दा आस्था र सौन्दर्य दुवैलाई एकैपटक अनुभूति गर्न सकिन्छ । शैलुङको अर्को विशेषता यसको खुला भूगोल हो । यहाँ पुगेपछि वरिपरि फैलिएको पहाडी भूभागलाई लामो समयसम्म नियालिरहन मन लाग्छ । मौसम खुलेका बेला टाढाटाढासम्म देखिने पहाड र हिमाली दृश्यले आँखालाई तानिरहन्छ । बादल तलतिर झर्दा शैलुङ आकाशमाथि तैरिरहेको कुनै हरियो टापुजस्तो देखिन्छ । कहिले घाम, कहिले बादल र कहिले कुहिरोसँगै शैलुङले प्रत्येक क्षण नयाँ रूप देखाइरहेको हुन्छ ।

पछिल्लो समय समाजसेवी सोभित उप्रेतीले पनि शैलुङ क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि गर्दै आउनुभएको छ । स्थानीयको सक्रियता, निजी क्षेत्रको लगानी र पर्यटकीय पूर्वाधारको विकाससँगै शैलुङमा पर्यटकको चहलपहल बढ्दै गएको देखिन्छ । दोलखाका अन्य पर्यटकीय गन्तव्यको तुलनामा पछिल्लो समय  शैलुङमा पर्यटकको संख्या उल्लेख्य देखिन थालेको छ । काठमाडौंबाट मुडे, मुडेबाट बाखखोर देउराली, ढुंगेबजार, कालापानी हुँदै शैलुङ पुग्न सकिन्छ । मुडेबाट करिब १८ किलोमिटर दूरीमा रहेको शैलुङसम्म कालोपत्रे सडक पुगेकाले पर्यटकका लागि यात्रा सहज बनेको छ । देउराली, ढुंगेबजार र कालापानीमा सुविधासम्पन्न होटल तथा लजसमेत सञ्चालनमा छन् । सडक र बसोबासको सुविधा थपिँदै जाँदा शैलुङ अब केवल स्थानीयको गन्तव्य नभई बाहिरबाट आउने पर्यटकको रोजाइ पनि बन्दै गएको छ ।

समुद्री सतहबाट ३ हजार १४८ मिटर उचाइमा रहेको शैलुङ दोलखा र रामेछापको संगमस्थल हो । उचाइका कारण यहाँको मौसम चिसो र मनमोहक हुन्छ । गर्मीयाममा हरियो घाँसे मैदान र चिसो हावाले पर्यटकलाई आकर्षित गर्छ भने हिउँदमा हिउँले ढाकिँदा शैलुङको सौन्दर्य झनै फरक देखिन्छ । शैलुङ युवा पुस्ताका लागि मात्र होइन, ज्येष्ठ नागरिक र परिवारसहित घुम्न चाहनेहरूका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँ पुग्न कठिन पदयात्रा गर्नैपर्ने अवस्था छैन । सडकबाटै नजिक पुग्न सकिने भएकाले विभिन्न उमेर समूहका मानिसले सहज रूपमा शैलुङको यात्रा गर्न सक्छन् । पछिल्लो समय प्राकृतिक दृश्यसँगै चलचित्र छायांकनका लागि पनि कलाकार र प्राविधिक टोली शैलुङ पुग्ने गरेका छन् ।

शैलुङमा पुगेपछि मलाई सधैँ एउटा कुरा लाग्छ— प्रकृतिले सुन्दर हुन धेरै कुरा चाहिँदैन रहेछ । केही हरिया चौर, खुला आकाश, चिसो हावा, बादलको लुकामारी र श्रद्धाले सजिएको एउटा मन्दिर भए पुग्दोरहेछ । त्यसमा स्थानीयको आतिथ्यता र पर्यटकलाई स्वागत गर्ने मन थपियो भने गन्तव्य आफैँ जीवन्त बन्ने रहेछ । चरिकोटबाट हेर्दा टाढाको एउटा डाँडाजस्तो लाग्ने शैलुङमा पुग्दा भने त्यसको वास्तविक परिचय खुल्छ । यहाँ प्रकृति छ, धर्म छ, संस्कृति छ र शान्ति पनि छ । त्यसैले शैलुङ मेरो लागि केवल घुमेर फर्किने ठाउँ होइन, पटक–पटक पुगेर पनि नयाँ कुरा भेटिरहने गन्तव्य हो ।

सायद यही कारण होला, चरिकोट फर्किएपछि पनि आँखाअगाडि त्यही हरियो शैलुङ घुमिरहन्छ, कानमा त्यही चिसो हावाको आवाज सुनिरहन्छ र मनले फेरि अर्को यात्राको योजना बनाउन थालिहाल्छ ।

 

 

लेखक
जीवन लामा

जीवन लामा दोलखामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?