Comments Add Comment

लोडसेडिङको जस्तै खानेपानीको तालिका ! महिनामा ४ दिन पानी

१३ जेठ, काठमाडौं । मागअनुसार पानी दिन नसकेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले तालिका बनाएर पानी वितरण गर्न थालेको छ । उपत्यकाका धारामा महिनामा जम्मा चार दिन मात्रै पानी आउँछ ।

केयुकेएलले जेठमा २, ११, २० र २९ गते पानी आउने तालिका सार्वजनिक गरेको छ । अधिकाँश क्षेत्रमा दुईदेखि तीन घण्टा पानी आउँछ । केही वर्ष पहिलो विद्युत आउने तालिका राखे जस्तै काठमाडौंवासीको घरमा खानेपानी आउने तालिका राख्न थालेका छन् ।

केयुकेएलका प्रवक्ता प्रकाश राई पानीको चर्को अभावका कारण तालिका बनाएर पानी वितरण गरिएको बताउँछन् । तीन वर्षअघिसम्म पनि काठमाडौंमा यो तहको पानीको अभाव थिएन । राईका अनुसार स्रोत घट्दै गएको र धाराको संख्या बढ्दै जाँदा पर्याप्त पानी वितरण गर्न नसकिएको हो ।

काठमाडौं उपत्यकामा दैनिक ४१ करोड लिटर पानीको माग छ । विभिन्न स्रोतबाट १४ देखि १७ करोड लिटर पानी उपलब्ध हुन्छ ।

यतिबेला पानीको आपूर्ति १२ करोड लिटर भन्दा कम छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न भए दैनिक १७ करोड लिटर पानी थपिन्छ । मेलम्ची पर्याप्त नभए पनि अहिले भन्दा दोब्बर भन्दा बढी पानी उपलब्ध हुन्छ ।

मेलम्ची सपना

खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरको संसदमा रेकर्ड भएको भनाईलाई विश्वास गर्ने हो भने काठमाडौंमा मेलम्चीको पानी आइसकेको छ । उनीहरूका अनुसार २०७५ सालको दशैंअघि नै काठमाडौंवासीले याङरी र लार्केको पानी खाइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेलम्चीको पानी एक दुई दिनमा काठमाडौंमा भित्र्याएर सरकार कहाँ छ भन्नेलाई जवाफ दिन्छु’ भन्ने सपना पनि पूरा हुन सकेन । त्यो भन्दा पनि दुःखको कुरा के छ भने मेलम्चीको पानी काठमाडौं आउन दशकौं नलाग्ला भन्न सकिदैन ।

जम्मा सात प्रतिशत काम बाँकी छ भनिरहँदा प्रमुख ठेकदार कम्पनी सिएमसीसँगको सम्झौता बीचमै भंग भएको भयो । कारण जेसुकै होला तर इटालियन कम्पनी सिएमसीसँगको सम्झौता रद्द भएको यतिसमय बित्दा पनि सरकारले मेलम्चीको काम शुरु गर्न सकेको छैन ।

किन भयो अभाव ?

एकातिर बढ्दो जनसंख्या, अर्कोतिर स्रोत सीमित हुनुलाई पानी अभावको महत्वपूर्ण कारण मान्न सकिन्छ । त्यही सीमित स्रोतलाई पनि गिजोल्ने काम भएको जानकारहरू बताउँछन् ।

काठमाडौं उपत्यका आसपासका बालुवाका थुम्काहरू दिनहुँ जसो डोजरले समाप्त पारीरहेको छ । ती थुम्काहरूले आकाशबाट परेको पानीलाई सोसेर विस्तारै जमिनमा पठाउने गरेको जलाधारविद् मधुकर उपाध्या बताउँछन् । उनका अनुसार पानीको भूमिगत स्रोत सुक्नुको एउटा कारण थुम्काहरू मासिनु पनि हो ।

विकास निर्माणको काम गर्दा पानीको भूमिगत स्रोतलाई बचाउने प्रयास नै हुँदैन । जसले गर्दा पानीको धार परिवर्तन हुने, थुनिने गर्दछ ।

खुल्ला जग्गा र पोखरीहरूको संख्या घट्दै जानु पानी अभावको अर्को कारण हो । भएको नदी र पोखरीका पानी पनि प्रदुषित भएर प्रयोग गर्न सकिने अवस्था छैन । केयुकेएलका अनुसार ४० प्रतिशत पानी चुहावट हुन्छ ।

आकाशे पानी संकलन, पानीको अधिकतम सदुपयोगमा पनि ध्यान पुग्न नसकेको जलाधारविद् उपाध्या बताउँछन् । विगतका तुलनामा यो वर्ष हिउँदे झरी बढ्दा पनि पानीको समस्या घटेन ।

केयुकेएलका प्रवक्ता राई भन्छन्, ‘वर्खा शुरु भएर मुल नफुट्दासम्म कुर्नुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment