Comments Add Comment

एउटा मोटरसाइकलमा कुलमान, अर्कोमा धुर्मुस !

विप्लव नेतृत्वको नेकपाले भोजपुरमा कार्यकर्ताको हत्या भएको भन्दै मंगलबार गरेको नेपाल बन्दको मार आम सर्वसाधारणलाई जस्तै गरी नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङलाई पनि पर्‍यो ।

हेटाैंडाको काम सकेर भरतपुर-बर्दघाट प्रसारण लाइनको निरीक्षणका लागि निर्माण कम्पनी र दातृ संस्थाका प्रतिनिधिसहित भरतपुरमा कुलमानको बास पर्‍यो ।

तर, सोमबार बन्दका कारण कुलमान भरतपुरको होटल निस्कन सकेका रहेनछन् । उनले विदेशी विश्व बैंकका कन्ट्री डाइरेक्टर सहित प्रतिनिधिलाई उनीहरुले प्रयोग गरिरहेको गाडीमा पठाए । तर, प्राधिकरणको गाडी लिएर उनी निस्कन सकेनन् । उनले कम्पनीका प्रतिनिधी

भरतपुरको होटल गार्डेन रिर्सोटको रिसेप्सन अगाडि फुर्सर्दिला जस्ता देखिन्थे, कुलमान । अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा जुटिरहेका धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मस सोही होटलमा बस्दै आएका छन् । विहान-बेलुकाको खाना रंगशाला निर्माणस्थलमा नै खाने धर्मुस सुत्नका लागि होटलमा आउने गर्छन् । होटलले उनलाई निःशुल्क रुपमा कोठा उपलब्ध गराएको छ ।

रंगशाला निर्माणको प्रगति, दिनभरका गतिविधि, समस्या, हैरानी र योजनाका बारेमा दैनिकजसो धुर्मससँग भेटघाट हुने गरेको छ । सोही शिलसिलामा होटलमा पुग्दा कुलमानसँग भेट भयो ।

कुलमान घिसिङसँग तनहुँ हाइड्रोपावर कम्पनीका सञ्चार विज्ञ एवम् पत्रकार सचेन गौतम पनि आएका थिए । गाडीको माध्यमबाट काठमाण्डौं वा वुटवल र्फकन सक्ने अवस्था रहेपछि प्लेनबाट काठमाण्डौं जाने टिकट लिएका थिए कुलमानले । टिकट १२.३५ को भएकाले सो अवधिमा रंगशाला निर्माणस्थल हेर्न जाने योजना बन्यो ।

तर, कसरी जाने ? भरतपुरको मुख्य बजार क्षेत्रबाट रंगशाला निर्माणस्थलसम्म करीव ७ किलोमिटरको दूरी छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गाडीमा नै जाने बताए पनि कुलमानले गाडी नजाने भने ।

हामीसँग एउटा मात्रै मोटरसाइकल थियो । तर, मान्छे भइयो ४ जना । तत्कालै थप दुईजना साथीहरुलाई मोटरसाइकल लिएर आउन भन्दै हामीले होटलमा बोलायौं । साथी दिवस तिवारीको मोटरसाइकलमा सीताराम कट्टेल, पत्रकार आनन्द पोखरेलसँग सचेन गौतम र मेरो मोटरसाइकलमा कुलमानलाई लिएर हामी रामपुरतिर हानियौं ।

भरतपुरको चौविसकोठी नजिकै खिचिएको तस्वीरले अहिले सामाजिक सञ्जालमा चर्चा भैरहेको छ । भरतपुरको चौविसकोठी हुँदै रामपुर जाँदा भरतपुर क्षेत्रको तिव्रतर विकास देखेर कुलमानले खुसी प्रकट गरे ।

विषेश गरी भरतपुर महानगरपालिका क्षेत्रमा सडक कालोपत्रे गर्ने अभियान नै चलेको छ । महानगरपालिकाको प्राथमिकतामा पनि यसमा छ । महानगरका भित्री सडकहरु पनि धमाधम पिच भैरहेका छन् । फराकिलो र खुल्ला क्षेत्रमा रहेको भरतपुरको भविश्य बिग्रन नदिन बेलैमा सिटी प्लानिङ गर्न सके, भविश्य उज्वल रहेको कुलमानको धारणा थियो ।

भरतपुर रामपुर रोडमा पर्ने कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेट नजिक बन्दकारीहरुले बम राखेका थिए । केही मानिसहरु थुपि्रएका थिए भने, सुरक्षाकर्मीहरु डिस्पोज गर्ने तयारीमा थिए । हामी सो ठाउँतिर नपुगी शिलचोकबाट मोडिएर रंगशाला निर्माणस्थलमा पुग्यौं ।

अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बन्ने स्थान उपयुक्त भएको र यसले सिंगो देशको खेलकुद क्षेत्रलाई नै माथि उठाउने विश्वास कुलमानले धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल समक्ष राखे । नागरिकका तर्फबाट भैरहेको यो प्रयासलाई नेपाल विद्युत प्राधिकरणका तर्फबाट सक्दो सहयोग गर्ने वचन उनले दिए ।

रंगशाला निर्माणस्थलमा दुईवटा क्रसर राख्ने योजना रहेकाले आवश्यक ट्रान्सर्फमर राखिदिन पहल गर्न धुर्मसले राखेको प्रस्ताव राखे । कुलमानले प्राधिकरणका तर्फबाट यो काम तुरुन्तै अघि बढाउने भन्दै भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोलाई निर्देशन दिए ।

रंगशालाको पिच निर्माणस्थल, गोदाम घर, दुवो रोपिएको स्थानको अवलोकन गरेका कुलमानले, रंगशाला निर्माणस्थल हेर्न बनाइएको भ्यू टावरमा चढेर हेरे । त्यहीँ सञ्चारकर्मीसँग केही कुराकानी गरेर फोटो खिचाए । फाउण्डेशनले भरतपुरमा खोलेको परियोजना कार्यालयमा केहीबेर धुर्मस र उनका अभियन्ताहरुसँग गफिए । निर्माणस्थलमा नै खाना खान धुर्मसले प्रस्ताव गरे । तर, समयको अभाव हुने भएकाले कुलमान र हामी मोटरसाइकलमा भरतपुर फर्कियौं ।

त्यहाँबाट सिधैं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई भेट्न महानगरपालिका कार्यालयमा पुग्यौं । मेयर दाहालले रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन के गर्न सकिएला भनेर जिज्ञासा राखिन् । प्राधिकरणका प्रमुख घिसिङले परियोजनाको डीपीआर आएपछि फेजवाइज रुपमा काम गर्न र लगानी जुटाउन सजिलो हुने प्रतिक्रिया दिए ।

साथै, भरतपुर क्षेत्रमा सडक बत्ति, सडकमा अण्डरग्राउण्ड तार लैजाने विषयमा पनि मेयर दाहालसँग कुलमानले छलफल गरे । भरतपुरलाई प्राथमिकतामा राखेर काम गरिएको स्मरण गराउँदै उनले आवश्यक कुराहरुको सूचिसहित आउन आग्रह गरे । उनी अन्तिम समयसम्म पनि वितरणलाइन सुधार्न शाखा प्रमुखलाई निर्देशन दिइरहेका थिए ।

सबैतिरबाट आक्रमण छ, तर जनताको साथ छ

लोडसेडिङ हटाएर चर्चामा आएका कुलमान यतिबेला फेरि चर्चामा छन् । केही समयअघि संसदको सार्वजनिक लेखा समितिमा नेकपाका सांसद अमनलाल मोदीले कुलमानका विरुद्धमा लगाएको आरोप र नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माणमा अवरोध गरेको भन्दै निर्माणमा अवरोध गर्नेलाई जेल पठाइदिन्छु भनेर दिएको अभिव्यक्तिले कुलमान चर्चामा छन् ।

सधैं काममा मात्रै व्यस्त बन्ने कुलमानलाई यी दुई विषयले पछिल्ला दिनमा बढी नै पछ्याएका छन् । यसको जवाफ पनि उनले दिँदै हिँड्नुपरेको छ ।

कुलमानसँगको करिब चार घण्टाको बसाइमा उनले यी घटनाका बारेमा पनि अनौपचारिक रूपमा कुरा गरे । समितिका सदस्य सांसद मोदीले आफूमाथि नितान्त पूर्वाग्रह साधेर प्रश्न गरेको टिप्पणी कुलमानको छ ।

कुलमानले भने, ‘उहाँ अहिले मेरा विरुद्धमा अन्तरवार्ता दिँदै हिँड्नुभएको छ, तर जनताले बुझेका छन् यो सबैथोक के हो भन्ने कुरा, त्यसले मलाई फाइदा नै भएको छ । उहाँ पनि जनतासँग नै जवाफदेही हुनुपर्छ, म पनि हुनुपर्छ । आखिर यसको फैसला जनताले नै गर्ने हो ।’

केही वर्षमा विद्युतमा फड्को माछौं

विद्युत उत्पादन प्रकृयामा तमाम समस्या भए पनि अबको केही बर्षमा नेपालले विद्युत उत्पादनमा ठूलो फड्को मार्ने कुलमानले बताए । गण्डक बेसिनदेखि कोशी बेसिनसम्मका कुनै पनि नदी र खोलामा विद्युत आयोजना नभएको ठाउँ नै छैन ।

हिउँदको समयमा केही बिजुली भारतबाट किन्नुपर्ने भए पनि बर्खाको समयमा विद्युत बढी हुने अवस्था आइसकेको छ । निजी क्षेत्र, जनताको सहभागितामा सरकारी क्षेत्रबाट समेत लगानी बढाउँदै गएकोले एक सय बर्षमा हुन नसकेको विद्युतको विकास र विस्तार अबको केही बर्षमा तेब्बरभन्दा बढी हुने कुलमानको विश्वास छ ।

कर्णाली प्रदेशका केही भागमा विद्युत आयोजनाहरु कम भए पनि त्यसलाई बढाउँदै लगिने योजना कुलमानले सुनाए । सरकारको स्पष्ट नीति भएको र विभिन्न अब्ठ्याराहरुलाई फुकाउने कामसमेत भएकोले विदेशी लगानीकर्ता र स्वदेशीहरु पनि लागिपरेको प्राधिकरण प्रमुख कुलमानको भनाइ छ ।

निर्माणको स्वीकृति लिने तर काम गर्ने प्रवृति पहिलाको भन्दा अहिले कम हुँदै गएको कुलमानको भनाइ छ । ‘कार्ययोजना अनुसार काम नभएको पाइएमा सचेत गराउँछौं, सचेत गराउँदा पनि अटेरी गरे तत्कालै पीपीए सम्झौता तोडिदिन्छौं’ कुलमानले भने, ‘अब यो वा त्यो वाहना चल्दैन ।’

केही दिनअघि मात्रै नेपाल विद्युत प्राधिकरणले हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा-भरतपुर खण्डको ठेक्का तोड्यो । कामको प्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेर जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गर्‍यो ।

प्राधिकरणले काम ढिला गरेवापत करिब १६ लाख डलर विलम्व जरिवाना पनि लगाउने निर्णय पनि गरेको छ । चार बर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका कुलमानसँग अब करिव डेढ बर्ष बाँकी छ । यो अवधिमा अझै केही गर्न सकिने र प्रयासहरु भैरहेको कुलमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment