
२५ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ लक्ष्मीनिवास सोनापुरका गणेशकुमार महतो केही महिनाअघि एक बैंकमा खाता खोल्न गए ।
तर, खाता खोल्ने क्रममा बैंकका कर्मचारीले उनलाई भने, ‘तपाईंको नाममा त पहिले नै खाता खुलेको छ, अब फेरि किन खोल्न खोज्नुभएको ?’
बैंकका कर्मचारीको उक्त जवाफले गणेश दंग परे ।
तत्कालै ती कर्मचारीलाई सोधे, ‘मैले त यस बैंकमा कहिल्यै खाता खोलेको छैन, मेरो खाता कसरी खुल्यो ?’
त्यसपछि उनले कर्मचारीसँग खातामा रहेको फोटो देखाउन भने ।
उक्त फोटो हेरेपछि बल्ल थाहा भयो– खातामा टाँसिएको फोटो छिमेकी बटेश्वर गाउँपालिका–२ भुचक्रपुर धुमासनका अर्का गणेशकुमार महतोको रहेछ ।
दुवैको नाम र नागरिकता नम्बर मिल्दोजुल्दो रहेकाले यस्तो समस्या आएको थियो । उक्त कुरा थाहा पाएदेखि गणेश तनावमा छन् ।

‘जहाँ जान्छु, अनलाइनमा विवरण जाँच्दा दुवैको नाम र नागरिकता नम्बर एउटै देखिन्छ । यही कारण ठूलो झन्झट भएको छ,’ सोनापुरका गणेशले गुनासो गरे ।
उता, धुमासनका अर्का गणेशलाई पनि यही समस्याले हैरानी परेको छ ।
‘नाम र नागरिकता नम्बर मिलेर मलाई पनि तनाव भएको छ । जहाँ कुनै काममा लिएर जान्छु, अनलाइन गर्दा समस्या हुन्छ,’ धुमासनका गणेशको दुखेसो छ ।
दुवैले २५ वर्षअघि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । धुमासनका गणेशले रामकिसुन महतोका छोरा हुन् । उनले १३ माघ २०५५ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् ।
रामगुलाम महतोका छोरा सोनापुरका गणेशले त्यसको दुई वर्षपछि ३० फागुन २०५७ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन् ।
तर पछिल्लो समय विभिन्न कामका लागि नागरिकता नम्बर अनलाइनमा दर्ता हुन थालेपछि मात्रै उनीहरूले यो समस्या थाहा पाए ।
सोनापुरका गणेशले भने, ‘कर्मचारीको गल्तीका कारण म दु:ख पाएको छु । मैले यही नागरिकता नम्बरमा सबै काम गरेका छु । पासपोर्ट बनाएर विदेशसमेत गएर फर्किएको छु । अब नागरिकता नम्बर फेर्नु परे पहिलाका सबै कागजातमा समस्या आउँछ ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भने दुवै नागरिकता अनुसार अभिलेखमा देखेपछि मात्र केही भन्न सकिने बताउँछन् ।
प्रतिक्रिया 4