Comments Add Comment

कान्छो दरबारको कथा !

१४ जेठ, गोरखा । गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि आउँछ रानीपोखरी । छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्लो दरबार । नेपालको बास्तुकलाको इतिहासमा परम्परागत शैलीको कान्छो दरबार ।

साँघुरिँदै गएको ठूलो आँगनमा कुनै बेला अड्डाको नामले चिनिने तल्लो दरबार अहिले भने गोरखा संग्रहालयमा परिणत भएको छ । दरबारको मौलिक कलाका साथै अन्य पुरातात्विक सामग्रीहरुको संरक्षण संग्रहालयमार्फत भइरहेको छ ।

पृथ्वीनारायण शाह जन्मिएको गोरखाको माथिल्लो दरबारबारे धेरै कुरा इतिहास लेखनमा आइरहेकै छन् । भूकम्पपछि पुनर्निर्माण चलिरहेको माथिल्लो दरबारमा मौलिक शैलीमा काम नभएको भन्दै केही गुनासोहरु पनि सुनिन्छन् ।

०७४ सालको कात्तिकमा सुरु भएको काम आउँदो मंसिरसम्म पूरा गरिसक्नुपर्ने छ । तर काम भने जम्माजम्मी २० प्रतिशत जति मात्रै सकिएको छ । ठेकदारको लापरबाही, सामान अभावका बहानासँगै जिम्मेवार निकायको निगरानीको अभावमा काममा ढिलाई भएको स्थानीयको गुनासो छ ।

दरबारको मूल चोक

माथिल्लो दरबारमा अनेक बखेडा चलिरहँदा तल्लो दरबार भने आफ्नै शैलीमा पर्यटकको स्वागतमा लागिरहेको छ । वैशाखसम्मको तथ्यांक हेर्दा ८५ हजार १ सय पर्यटकले तल्लो दरबार संग्रहालयको अवलोकन गरेका छन्, जसबाट १७ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

भूकम्पले बाहिरबाट नदेखिने गरी भित्री भागमा भएका क्षतिमा सुधारको काम सकिएको छ । बाहिरबाट देखिने गरी भएका क्षतिमा पनि समयमै पुनर्निर्माण भइसकेको छ । दरबार वरपरको ६८ रोपनी क्षेत्र पार्कका रुपमा विकास भएकाले पनि दरबारको सुन्दरता थप बढेको देखिन्छ ।

पार्कको पुछारबाट देखिएको दरबार

अहिले देखिने यी सुन्दरताहरुसँग तल्लो दरबार निर्माण समयको राजनीतिक, सामाजिक, आर्थिक पक्षहरुलाई जोडेर हेर्ने हो भने यसको भित्री कथा छर्लङ्ग हुन्छ ।

१८९६ सालमा बनेको दरबारको मूलढोकामा काठमा कुँदिएको विष्णुको आकृति देख्न सकिन्छ । त्यही तोरणले नै बोलिरहेको छ दरबारको कथा ।

दरबार निर्माणको प्रयोजन राजेन्द्र बिक्रम शाहका रानीहरु जेठी राम्राज्यलक्ष्मी र कान्छी लक्ष्मीदेवीको आफ्नै छोरालाई राजा बनाउने ढिपीसँग जोडिएको छ । १८९४ सालमा राजा राजेन्द्र विक्रमले भीमसेन थापालाई अपदस्थ गरेपछि सिर्जना भएको अन्योलको वातावरणले नै राजगद्दीमाथिको चलखेल बढेको थियो ।

रानीहरुबीचको त्यही लडाइँका बीचमा कान्छी महारानीले राजगद्दी उत्तराधिकारीको परम्परागत नियमलाई तोडेर आफ्नो छोरालाई देशको बागडोर दिन प्रपञ्च रच्न थालेकी थिइन् । उनले आफू हाबी भएको अवस्थामा छोरा रणेन्द्रबिक्रम शाहलाई राजा बनाउने र स्वभाविक राजगद्दीको उत्तराधिकार सुरेन्द्रबिक्रम शाहलाई व्यवस्थापन गर्नका लागि नै पुख्र्यौली थलो गोरखामा लगेर राख्ने भन्ने योजनाका साथ यो दरबार बनेको हो ।

कान्छी महारानीको षड्यन्त्र सफल हुन भने सकेन । १९०३ सालमा कोत पर्व भएपछि घटनाक्रम फरक ढंगले विकसित हुने परिस्थिति देखापर्‍यो र सुरेन्द्रबिक्रमलाई राजा नबनाउने प्रपञ्च तुहिएसँगै गोरखा तल्लो दरबार निर्माणको प्रयोजन पनि सकियो ।

१९०३ सालमा शक्तिमा आएका जङ्गबहादुर युरोप भ्रमणमा गएर फर्किएपछि उनले युरोपेली शैलीकै दरबारलाई नेपालमा बनाउन प्रोत्साहित गरे । त्यसपछि नै नेपालमा परम्परागत शैलीका दरबार नबनेका कारण गोरखा तल्लो दरबार नै नेपालको बास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो ।

संग्रहालय प्रमुख नवराज अधिकारी

गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी दरबारको इतिहास र वर्तमान अवस्था एकैपटक हेरिरहेका छन् । पुरातात्विक सम्पदामा विशेष चासो राख्ने अधिकारी ठिङ्ग उभिएको सम्पदाभित्र लुकेका कथाहरु खोजिरहेका हुन्छन् । मड, मटारबाट निर्माण भएका सम्पदामा कसरी लाइम सुर्कीको प्रयोग हुन थाल्यो ? काष्ठकलामा देखिने बुट्टाहरुले के बोलिरहेका हुन्छन् ? चिल्ला देखिने दाचि अपा कसरी फुस्रो बन्दै गयो ? जस्ता प्रश्नको उत्तरका साथै निर्माणभित्रका अन्य पाटो थाहा पाउन उनी लागिपर्छन् ।

चौघेरा शैलीको दरबारले मौलिक कलासँगको पुरातात्विक महत्व मात्रै होइन तत्कालिन समयको राजनीतिक परिघटना बुझाउने हुँदा पनि उनलाई दरबार विशेष लाग्छ । नेपाली वास्तुकलाको इतिहासमा रहेको महत्वका साथै दरबारिया दाउपेच र षडयन्त्रको उपजका कारण बनेको दरबार भएकाले यसको अध्ययन विशिष्ट बनिदिन्छ ।

जब सुरेन्द्र बिक्रमलाई राख्ने प्रयोजनले बनाइएको दरबारको प्रयोजन सकियो तब राणा कालमा प्रमुख प्रशासनिक अड्डाका रुपमा प्रयोग गरियो । विस २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सञ्चालन नहुँदासम्म दरबारमा जिल्लाका महत्वपूर्ण सरकारी अड्डाहरु रहेका थिए । त्यसैले कतिपय स्थानीय बासिन्दा अहिलेसम्म पनि तल्लो दरबारलाई अड्डाकै नामले चिन्छन् । अफिसहरु विस्तारै बाहिर सार्दै लगेपछि दरबारको मौलिक स्वरुप बचाइराख्न मद्धत पुगेको थियो ।

तल्लो दरबारको बीचमा चोक र चारैतिर एकआपसमा जोडिएको भवन छन् । जसमा एउटा मूलढोका छ । एउटा किल्ला जस्तो शैलीमा देखिने दरबार झलक्क हेर्दा मल्लकालीन शैलीको जस्तो लाग्छ । त्यसका पछाडि नेपालमा वास्तुकलाको परम्पराको निरन्तरताको कारण देखिन्छ । मल्ल कालमा विकास भएको शैली कसरी शाह कालको पछिसम्म पनि निरन्तर थियो भन्ने दरबारले बोलिरहेको छ ।

दरबारको निर्माण हुँदा आवश्यक कारिगर उपत्यकाबाटै लगिएको थियो भने सामानहरु गोरखामा नै बनाइएको थियो । पछि जिर्णोद्वारका क्रममा त कालिगर नपाएर नै लथालिङ्ग बन्ने स्थिति आउन लागेको थियो ।

संग्रहालयका प्रमुख अधिकारी सुनाउँछन्, लथालिङ्गको स्थिति यतिसम्म भइसकेको थियो कि झिङ्गटीको छानाको ठाउँमा जस्ताका छाना देखिन थालेको थियो । आँखीझ्याल भएको ठाउँमा फिरफिरे झ्याल लगाउने काम भइरहेको थियो ।

दरबारको पूर्वी पाटोको झ्याल ।

त्यसले गर्दा नै दरबारले आफ्नो मौलिकता गुमाउने डर बढिरहेको थियो । गोरखा दरबार संरक्षण परियोजनाको कामपछि दरबारको मौलिकता जोगाउन सहयोग पुग्यो । गोरखा दरबार संरक्षण परियोजनाले माथिल्लो दरबारका साथै तल्लो दरबारसम्मको काम ०५८ सालमा पूरा गर्‍यो । परियोजनाको काम सकिएपछि नै पृथ्वी स्मृति संग्रहालयका रुपमा विकास गर्ने काम अघि बढेको थियो । तर राजनीतिक घटनाक्रमका कारण नाममा उठेका सवालले गोरखा संग्रहालयका नाममा सर्वसाधरणका लागिसमेत ०६५ सालमा दरबार खुला भयो ।

दरबारमा काठ अत्याधिक मात्रामा प्रयोग भएको देखिन्छ । टुँडाल र झ्यालहरुमा मात्रै होइन भित्री भागमा समेत काठको प्रयोग अत्याधिक छ । दाचि अपा भनिने चिल्लो खाले ईंटा प्रयोग भएको देखिन्छ । पछिल्लो समय पुनर्निर्माणका क्रममा थपिएका केही फुस्रो देखिने दाचि अपा पनि छन् ।

गोरखा संग्रहालय रहेको तल्लो दरबारमा रहेका टुँडाल ।

दरबारको भित्री चोकको भुइँमा तेलिया ईंटा बिछाइएको छ । छाना माटोको झिँगटीले छाइएको छ । गाह्रोहरुमा माटोकै जोडाइ छ । गाह्रोको बीचमा काठको नस प्रयोग गरिएको छ, जसले दरबार भूकम्प प्रतिरोधि बनाउन सघाएको छ । त्यसले नै गाह्रोलाई बाँधेर राख्ने काम गर्छ ।

दरबारको मूल ढोकामा चतुरबाहु विष्णुको मूर्ति कुँदिएको छ । यसले यो दरबार राजा बस्नका लागि बनाइएको हो भन्ने प्रमाण दिन्छ । त्यसको प्रतिकात्मक अर्थ हेर्ने हो भने पनि यसको महत्व थाहा हुन्छ ।

पूर्वीय परम्परामा राजालाई विष्णुको अवतारका रुपमा हेरिन्छ । विष्णु संरक्षणका देवता भएकाले राजाले पनि जनताको संरक्षण गर्छन् भन्ने धारणा बनेको थियो । अधिकारी भन्छन्, ‘हुन त अब जनताको संरक्षण गर्न नसक्ने राजालाई पनि विष्णुको अवतार मान्नुपर्छ भन्ने कुरा होइन । तर १८९६ मा नेपाली समाजले राजालाई विष्णुको रुपमा मान्दो रहेछ भन्ने महत्वपूर्ण प्रमाण भने यही आकृति पनि हो ।

दरबारको मूलढोकामा रहेको चतुरबाहु विष्णु ।

बाहिर देख्दा संरचना मात्रै देखिए पनि दरबार निर्माण गर्दाको प्रविधि र सामग्रीको पनि संरक्षण दरबारको संरक्षणबाट भइरहेको छ । त्यतिबेलासम्म पनि नेपालमा नै चिल्लो ईंटा प्रशस्त मात्रामा उत्पादन हुने रहेछ भन्ने दरबार हेर्दा थाहा हुन्छ । जुन अहिले लोप नै भइसकेको छ । हिजोआज दाचिअपामा त्यस्तो चिल्लोपन देखिँदैन ।

०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणका क्रममा धेरै प्रश्नहरु खडा भए । कसरी भवन बनाउने र के सामग्री प्रयोग गर्ने भन्ने सवाल उठिरहँदा आफ्नै आँखाअघिको दरबार निर्माणमा शैलीमा भने कसैले अध्ययन आवश्यक ठानेनन् । यही शैली निजी घर बनाउँदा पनि अपनाउन सकिन्थ्यो कि भन्नेमा चासो नदिँदा भूकम्प अघिसम्म बजारका कतिपय भेगमा देखिने मौलिक शैलीका घरहरु अहिले भने सिमेन्ट र रडभित्र हराएका छन् ।

भूकम्पपछि ध्वस्त भएका घरहरु बीच पनि गोरखाकै बोर्लाङ, छापथोक र छिपिटोलका पुरानो शैलीका घरहरुमा किन धाँजासमेत फाटेन त ? त्यसको निर्माण सामग्री र निर्माण शैलीको अध्ययन गर्ने मात्रै हो भने पनि हाम्रो मौलिक शैलीको निर्माणमा विश्वसनीयता भेट्न सकिने थियो । तर आधुनिक विकासको रटानमा मौलिकता कहीँ अटेको देखिँदैन ।

‘मौलिकता जोगाउन पहिलो कुरा त इच्छा शक्ति हुनुपर्‍यो सरकारवाला निकाय यो संरक्षण गर्नुपर्ने विषय हो भन्नेमा सचेत हुनुपर्‍यो’ मौलिक सम्पदा नासिनेमा चिन्ता व्यक्त गर्दै अधिकारी भन्छन्, ‘हाम्रो मौलिक पहिचानसँग जोडिएका कति कुराहरु वैज्ञानिक छन् भन्ने ठानेर त्यसको जगेर्ना गर्न लागिपर्नै पर्छ । यो हाम्रो विगतलाई, समाजलाई जान्ने बुझ्ने दर्पण पनि त हो ।’

हुन पनि नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक झल्को दिने तल्लो दरबार जस्ता कति सम्पदाहरु हेर्दाहेर्दै जिर्ण बनेका छन् ।

केही महिना अघि गोरखादेखि काठमाडौंसम्मको एकीकरण मार्गमा पैदल हिँडेका संग्रहालय प्रमुख अधिकारी त्यहाँ नाजुक अवस्थामा देखिएका सम्पदाहरुले चिन्तित छन् । बजारको केन्द्रमा रहेको तल्लो दरबार जोगाए जसरी नै कुनाकाप्चामा लुकेका पुरातात्विक सम्पदाहरु जोगाउन किन कमजोरी भइरहेको छ त ?

आँखीझ्याल र गाह्रोको बीचमा प्रयोग गरिएको काठको नस ।

‘एकीकरण मार्गको नजिकबाट नै मध्यपहाडी लोकमार्ग बनेको छ । त्यसले नै कति सम्पदाहरु मासिएका छन् । कतिपय पाटी पौवाहरु, धर्मशालाहरु अहिले पनि बाँकी छन् तर तिनिहरु तुरुन्त संरक्षण गरिएन भने नाश हुने अवस्थामै छन्’ अधिकारी भन्छन्, ‘हाम्रो भौतिक पूर्वाधार निर्माण गर्दा पुरातात्विक सम्पदाहरुको वास्ता नगरेको देखियो । सम्पदाप्रति संवेदनशील भएर निर्माण कार्य गर्न आवश्यक छ जस्तो लाग्छ ।’

स्थानीयसँग कुराकानी गर्दा पनि सम्पदाको संरक्षणमा खासै चासो नदिएको देख्दा उनलाई ननिको लाग्छ । ‘भन्नु एउटा कुरा हुन्छ, त्यही अनुसार व्यवहारमा परिणाम दिने गरी काम गर्नु अर्को कुरा हुन्छ । स्थानीयहरु पनि परिणाम नै निकाल्ने गरी जागरुक भएको मलाई लागेन’ उनले भने ।

पुरातात्विक बस्तुको देखिने पक्ष जति महत्वपूर्ण छन् त्यसभित्रका नदेखिने पक्षहरु जोगाउन पनि उति नै आवश्यक देखिन्छ । त्यसैको उदाहरण बनेको छ गोरखा दरबार । जहाँ पृथ्विनारायण शाहको पालादेखिकै कतिपय साँस्कृतिक प्रथाहरु राजासंस्था सकिएको १३ वर्षपछि पनि जिवितै छ । त्यसले सम्पदाका अमूर्त पक्षलाई जोगाउन सहयोग गरिरहेको छ ।

मूल ढोकामा राखिएको तोप ।

(अनलाइनखबरमा हरेक हप्ता पुरातात्विक सम्पदा र त्यससँग जोडिएको सामाजिक साँस्कृतिक महत्वबारेका सामग्री प्रस्तुत हुनेछन् । गाेरखा तल्लाे दरबार र त्यसकाे निर्माणपछिकाे कथासम्बन्धी यो सामग्री तेस्रो अंक हो ।)

यो पनि पढ्नुहोस दोलखाको जात्राले देखाएको देश ! यो पनि पढ्नुहोस देउता नै असुरक्षित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment