Comments Add Comment

नेतृत्वलाई कांग्रेस कार्यकर्ताको प्रश्न– अब हामी के गर्ने ?

१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । ‘हिमाल, पहाड तराइ–मधेश, नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु भएको अभियानमा नेताहरु सरकारविरुद्ध आक्रमण देखिएका छन् ।

बिहीबार राजधानीमा भएको अन्र्तक्रियामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायतले सरकारको आलोचना गरे । कार्यकर्ताले भने पार्टी नेतृत्व माथि नै प्रश्न उठाएका छन् ।

ओली सरकार पनि जान सक्छ : देउवा

प्रजातन्त्र र लोकतन्त्रसँग हिड्न नचाहेकै कारण २००७ सालमा राणा शासन, पञ्चायत हुँदै पछिल्लो समय राजा फालिएको उल्लेख गर्दै सभापति शेरबहादुर देउवाले अहिलेकै जस्तो व्यबहार कायम राखे वर्तमान सरकार पनि फालिन सक्ने चेतावनी दिए ।

प्रजातन्त्रसंगै हिँड्न नचाहेकै कारण २००७ सालमा राणा शासनविरुद्ध आन्दोलन भयो । प्रजातन्त्र नमान्दा पञ्चायत गयो । लोकतन्त्रसंगै जान नखोज्दा राजा गयो’, सभापति देउवाले भने ।

सभापति देउवाले नेता/कार्यक्रतालाई निर्देशन दिए, ‘ओली सरकारले पनि लोकतन्त्रलाई खोस्न खोजेको छ । लोकतन्त्रमाथि धावा बोलिरहेको छ । यस्तै रहे अर्को लडाँई लड्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि तयार रहनुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको केन्द्रीकृत मानसिकता संघीयता कार्यान्वयनका लागि मुख्य चुनौतीको रुपमा देखा परेको देउवाले टिप्पणी गरे । प्रधानमन्त्री ओलीकै कारण सिंहदरबारको अधिकार गाउँसम्म पुग्न नसकेको उनको दाबी थियो ।

तथापि, संघीयता फर्किन्छ कि भन्नेमा आशंका नगर्न आग्रह गरेका छन् । ‘ओली सरकारको व्यवहार केन्द्रीकृत मानसिकता अनुसारको छ । बजेट हेर्नुभयो भने पनि संघीयताको अपमान गर्ने खालको छ’ सभापति देउवाले थने, ‘कतिपयले यसैलाई जोडेर संघीयता फर्काउने कुरा पनि गर्नुभएको छ । तर, संघीयता फर्किंदैन । हामी त्यसो हुन दिँदैनौं ।’

सरकार संघीयताको विरोधमा रहेको र संविधानले प्रदेशमा दिएको अधिकार समेत खोस्न खोजिएको उनको आरोप छ । कम्युनिस्टकै मुख्यमन्त्रीहरुले प्रदेशलाई अधिकार नदिएको भनेर असन्तुष्टी जनाइरहेको उल्लेख गर्दै सभापति देउवाले वर्तमान सरकारले संघीतालाई मान्यता नै नदिएको जिकिर गरे ।

सरकारकै कारण कांग्रेसले संघीयताको पक्षमा काम गर्नुपर्ने देखिएको उनले बताए । ‘ओली सरकारले न संघीयतालाई मान्यता दिएको छ, न संघीयता अनुसारको काम गरेको छ । त्यसकारण कांग्रेसले संघीयताको पक्षमा काम गर्नुपर्ने छ’ देउवाले भने ।

संघीयता कम्युनिस्ट मोडल होइन : निधि 

कार्यक्रममा उपसभापति विमलेन्द्र नीधिले वर्तमान सरकारबाट संघीयताको सफल कार्यान्वयन हुन नसक्ने जिकिर गरे ।

‘कम्युनिस्ट प्रणाली र संघीय प्रणाली विरोधी कुरा हुन् । कम्युनिस्ट जनवादी केन्द्रीयतामा विश्वास गर्छन् । संघीयता कम्युनिस्ट मोडल होइन लोकतान्त्रिक मोडल हो’, उपसभापति नीधिले भने, ‘त्यसकारण वर्तमान सरकारबाट संघीयताको सफल कार्यान्वयन सम्भव छैन ।’

वर्तमान सरकारले संघीयता अनुसार अधिकारलाई विकेन्द्रिकरण भन्दा केन्द्रीकरण गर्दै लगेको उसिभापति निधीको भनाई थियो । ‘अहिलेको सरकार न्यायपालिकामा पनि छ । कार्यापालिकामा पनि छ । राज्यका सबै अंगमा छ,’ उनले थपे, ‘अधिकारलाई विकेन्द्रिकरण भन्दा केन्द्रीकरण गर्दै लगेको छ । संवैधनिक अंगहरु, न्यायपालिका तथा पशासनिक क्षेत्रमा दलीय हस्तक्षेप र प्रभाव छ ।’

कार्यक्रताको प्रश्न– अब हामी के गर्ने ?

पार्टी नेतृत्वले सरकारको आलोचना गरे पनि कार्यकर्ताले भने पार्टी नेतृत्वमाथि प्रश्न तेर्साएका छन् । कांग्रेसको संघीयताअनुसारको संगठन संरचना कहिले बन्छ ? ११ प्रदेशको अवधारणा आएको छ, यसमा कांग्रेसको धारणा के ? जस्ता प्रश्न कांग्रेस नेतृत्वलाई कार्यकर्ताले गरेका हुन् । कांग्रेस आफैंमा अलमलमा परेको भन्दै ‘अब के गर्ने ?’ भनेका छन् ।

रविन्द्र भट्टराई, कांग्रेस कार्यकर्ता

म शेरबहादुर देउवाको हुने कि शशांक कोइरालाको हुने कि पूर्णबहादुर खड्काको हुने कि अरु कुनै केन्द्रीय नेताको हुने ? जिल्ला समिति, वडा समिति, टोल समिति सबैतिर कसैको नभए जिम्मेवारी पाइँदैन, दिइँदैन् । प्रशिक्षण पनि गाउँगाउँसम्म पुग्न सकेको छैन । यसको निराकरण कहिले हुन्छ ?

विनोद भट्टराई, कांग्रेस कार्यकर्ता

देश संघीयतामा गयो तर, स्रोत र साधनको सहि परिचलान हुन सकिरहेको छैन । हाम्रो चाहना प्रकृतिले दिएको स्रोत साधनलाई प्रयोगमा ल्याउन सकौं । तर, वर्तमान सरकारले त्यसअनुसार काम गर्न सकेन । यस विषयमा कांग्रेसले खै संसदमा आवाज उठाएको ? यो सरकारलाई कांग्रेसको छायाँ सरकारले लगाम लगाउन सक्छ ?

सुष्मा बास्कोटा, कांग्रेस समर्थक अधिवक्ता

सरकारले संघीयता अनुसार काम गर्न सकेन । सही रुपमा संघीयता कार्यान्वयनलाई अगाडि बढाइरहेको छ । यसो हो भने अब हामीले के गर्ने ? कांग्रेस आफैंमा अलमलमा पर्न भएन । नेतृत्व प्रष्ट हुनुपर्‍यो र सो अनुसार प्रशिक्षण हुनुपर्‍यो ।

मिना सुब्बा, कांग्रेस सांसद

लडाईं गरेर ल्याएको संघीयता वर्तमान सरकारलाई बाँदरको हातमा नरिवल भएको छ । सिंहदरबारको अधिकार गाउँसम्म पुर्यायौं तर, वर्तमान बहुमतको सरकारले वामपन्थीतन्त्र अनुसारको बजेट ल्याएको छ । स्थानीय तह र प्रदेशले हेर्ने आयोजना पनि केन्द्रबाटै हेर्ने भनिएको छ । यसमा कांग्रेसले दरिलोसँग आवाज उठाउनु सक्नुपर्यो ।

नम्रता पोख्रेल, कांग्रेस कार्यकर्ता

सत्तामा संघीयता र लोकन्त्र विरोधी पक्ष छ । कांग्रेसले आफ्नै नेतृत्वमा ल्याएको यो व्यवस्थाप्रति जनतालाई कसरी आश्वास्त पार्न सकिन्छ ? यस ढङ्गले कार्यक्रम आउनुपर्यो । हामीले तल्लो तहमा गएर के भन्ने ? प्रशिक्षण हुनुपर्‍यो ।

गोकर्ण बन्जाडे, कांग्रेस समर्थक अधिवक्ता

हामी संघीयता हामीले ल्याएको भनिरहेका छौं । तर, कांग्रेस कहिले संघीय संरचनामा जान्छ ? कांग्रेसको प्रदेश संरचना कहिले बन्छ ? मेरो प्रश्न छ, हाम्रो संगठन संरचना चाहीँ संघीयता अनुरुप हुनुपर्दैन ?

प्रभात ओझा, कांग्रेस कार्यकर्ता

संघीयता कार्यान्वयनका कसले के गर्यो भन्नु भनदा पहिले कांग्रेसले आफ्नो स्पष्ट बिचार के हो ? त्यसबारे पाठ्यक्रम बनाएर जनतामा जानुपर्ने मैले देखेको छु । तबमात्रै कांग्रेसले कसरी संघीयता ल्याएको थियो, यसको मर्म के हो ? र कसरी कार्यान्वयन हुनुपर्छ भन्ने जनताले बुझ्दछन् । अन्यथा विरोध गरेर मात्रै केही हुँदैन । मेरो सुझाव छ ।

नमुना काम गरौं : महामन्त्री खड्का

कार्यकर्ताका प्रश्नको जवाफ दिँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संघीयताअनुसारको संगठन संरचना बनाउन ढिलाई भएको स्वीकार गरे । तर, संघीय संरचना अनुसारको पार्टीको विधान बनाउने पहिलो पार्टी कांग्रेस भएको बताए ।

जागरण अभियानको पहिलो चरण सकिएपछि पार्टी विधान अनुसार अन्तरिम संरचना निर्माण गर्न छलफल भइरहेको उनले बताए ।

११ प्रदेशको अवधारणाका सन्दर्भमा बाहिर आवाज उठेको तर, कांग्रेस अहिले सात प्रदेशलाई घटवढ गर्ने पक्षमा नरहेको उनले प्रष्ट पारे । यद्यपि प्रदेशको संख्या थपघट गर्नुपर्ने अवस्था आए ढोका नै बन्द गरेर नबस्ने उनको भनाइ थियो ।

कतिपय कार्यकर्ताले कांग्रेस आफैं अलमलमा परेको भन्दै अब के गर्ने भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए । जवाफमा महामन्त्री खड्काले कांग्रेस देशभर जागरण अभियानमा रहेको र अभियान मार्फत सरकारका गलत कार्यविरुद्ध खबरदारी गर्ने काम चलिरहेको उल्लेख गरे ।

कांग्रेसको जागरण अभियान आगामी पुष १४ गतेसम्म सञ्चालन हुनेछ । हाल पहिलो चरणको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दोस्रो चरणको कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा र तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म स्थानीय तहहरुमा सञ्चालन हुने कांग्रेसले जनाएको छ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment