Comments Add Comment

पाकिस्तानविरुद्ध क्रिस गेलको त्यो तीन शतक

१७ जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा बिहीबारदेखि सुरु भएको विश्वकप क्रिकेटको दोस्रो दिन आज पाकिस्तान र वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दै गर्दा मुख्य केन्द्रमा हुनेछन् क्रिस गेल ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा हुने खेलमा दुबै टिम जित हात पार्न चाहन्छन् । यो पटक क्रिस गेलका लागि यो विश्वकप विशेष हुनका साथै अन्तिम पनि हुनेछ । यसपछि उनले एकदिवसीय क्रिकेट करिअरबाट सन्यास लिदैछन् ।

पाकिस्तानविरुद्ध मैदानमा ओपनिङमा आउने क्रिस गेलको आज प्रदर्शन कस्तो रहला ? क्रिकेटको ‘युनिभर्सल बोस’को उपनामले चिनिने गेलले आजको खेलमा पनि तुफानी ब्याटिङ गर्लान् ?

क्रिस गेलले पाकिस्तानसँग अहिलेसम्म तीन वटा शतक बनाएका छन् । तर त्यो सतक निकै पूरानो भइसकेको छ । पछिल्लो समयमा भने पाकिस्तानविरुद्ध उनको ब्याट खासै चल्न सकेको छैन ।

पाकिस्तानविरुद्ध गेल अभागी खेलाडीको रुपमा चिनिने गरेका छन् । किनभने उनले बनाएको शतक आफ्नो टिम हारसँगै छायाँमा पर्ने गरेको छ ।

सन् २००५ मा क्रिस गेलले पाकिस्तानविरुद्ध शतक बनाएका थिए । उनको यो शतक पाकिस्तानविरुद्ध पहिलो शतक थियो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा गेलले शतक हाने पनि वेष्ट इन्डिज पाहुना टोलीसँग ३-० ले सिरिज गुमाएको थियो ।

त्यसपछि गेलले पाकिस्तानविरुद्ध २००८ मा दुई शतक हाने । यूएईमा भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा गेलले दुई शतक हाने । तर उनको टिम वेष्ट इन्डिजले यो सिरिज पनि पाकिस्तानलाई ३-० ले नै सुम्पेको थियो ।

पहिलो खेलमै त्यसबेलाका कप्तान गेलले शतकसहित ११३ रन बनाएका थिए । तर उनको टिम पाकिस्तानसँग यो खेलमा ४ विकेटले हार्न पुग्यो ।

तेस्रो तथा अन्तिम खेलमा पनि गेलले शतक हाने तर फेरि उनको टिम पाकिस्तानसँग ३१ रनले हारेको थियो । त्यो खेलमा गेलले १२२ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment