Comments Add Comment

डडेल्धुरामा साढे दुई हजार बढीले अपाङ्गता परिचयपत्र पाएनन्, सरकारी सुविधाबाट बञ्चित

१८ जेठ, डडेल्धुरा । डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित रहेका छन् ।

२०६८ सालको जनगणना अनुसार डडेल्धुरामा पाँच हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराा अध्यक्ष गणेशप्रसाद अवस्थीका अनुसार हालसम्म २ हजार पाँच सय जनाले मात्र अपाङ्गता परिचय-पत्र पाएका छन् । अझै दुई हजार ६ सय ५० जनाले परिचय-पत्र पाउन नसकेको उनले जानकारी दिए ।

पछिल्लो दुई वर्षयता अपाङ्गता परिचय-पत्र वितरण हुन सकेको छैन । अपाङ्गता भएका व्यक्तिले परिचय-पत्र नपाउँदा राज्यबाट प्रदान भएका विभिन्न सेवासुविधाहरुबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको अध्यक्ष अवस्थीको भनाइ छ ।

०६८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा शारीरिक, दृष्टि, मानसिक, बोलाई, सुस्त श्रवण, दृष्टिविहीन र बहु अपांगता गरी ६७ हजार ८३० जना अपांगता भएका व्यक्ति रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा १५ हजार ३७८ अपांगता भएका व्यक्ति छन् ।

कञ्चनपुरमा ९ हजार ७०, अछाममा ८ हजार ६०२, बैतडीमा ७ हजार ७८८, डडेल्धुरामा ५ हजार १५०, दार्चुलामा ३ हजार ६६९, डोटीमा ७ हजार ३०२, बझाङमा ४ हजार ९७६, र बाजुरामा ५ हजार ८९५ अपांगता भएका व्यक्ति रहेको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झंकरबहादुर रावलले अपाङ्गता भएका व्यक्तिको मानव अधिकारको अवस्था अरुको भन्दा नाजुक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्न र उनीहरुको अवस्थालाई सुधार गर्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment