+
+
Shares

आजका पत्रपत्रिका : १८ सय ठेक्का सम्झौता भंग हुँदै

शिक्षिकाको कुटाइबाट ५ विद्यार्थीको हात भाँचियो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते ६:५५

२० जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले फरक फरक समाचारलाई प्राथमिकता दिएर छापेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणदेखि शिक्षिकाको कुटाइबाट पाँच जना विद्यार्थीहरुको हात भाँचिएको लगायतका समाचार आजका पत्रिकाका पहिलो पृष्ठमा छन् ।

राजधानी दैनिकले रोल्पाको रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको समाचार छापेको छ । उनको कुटाइबाट ५ जना विद्यार्थीहरुको त हातै भाँचिएको छ । शिक्षिका लक्ष्मीले विद्यालय ढिलो आएको भन्दै विद्यार्थीहरुलाई कुटेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको समाचार लेखेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले प्रस्ताव अपरिपक्व रहेको भन्दै थप सुधार गरेर पठाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् । मुख्यसचिव रेग्मीले पूर्वप्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वका मन्त्रिपरिषदबाट भएका सबै निर्णय फिर्ता हुने गरी प्रस्ताव तयार पार्न निर्देशन दिएको स्रोतलाई उद्धृत गर्दै समाचार लेखिएको छ ।

कान्तिपुरले समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुन लागेको समाचार छापेको छ । गत वैशाख ३० गतेदेखि लागू भएको सार्वजनिक खरिद नियमावली छैटौं संशोधनमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ ।

अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताएका छन् । बाँकीको अध्ययन भइरहेको छ ।

‘समयमै काम नसकिएका ठेक्का सम्झौता भंग गर्नुको विकल्प छैन,’ सचिव कार्कीले कान्तिपुरसँग भनेका छन् । निर्माण व्यवसायी भने यो व्यवस्था हटाउन माग गर्दै आन्दोलनमा छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले नेकपा अध्यक्ष प्रचण्डले सत्ता साझेदारीको प्रसंग उठाउनुको कारण खोतल्ने प्रयास गरेको छ ।

नयाँ पत्रिका दैनिकले सर्वोच्च शिखर सगरमाथाको साख गिर्दै गएको समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?