Comments Add Comment

दरौदी लिफ्टिङ खानेपानी आयोजनाको ८५ प्रतिशत काम सकियो

२० जेठ, गोरखा । करिब ४८ सय घरधुरीलाई लक्षित गरी जिल्लामा निर्माण भइरहेको दरौदी लिफ्टिङ खानेपानी आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

सदरमुकामको खानेपानी समस्या न्यूनिकरण गर्ने उदेश्यले आयोजना निर्माण गरिएको हो । आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख रामचन्द्र काफ्लेले बताए ।

‘सम्प वयल र ट्याङकी निर्माणको काम सकियो,’ उनले भने, ‘पाइपलाइनको काम पनि करिब अन्तिम चरणमा पुगेको छ ।’

पम्पहरुको डिजाइन चेन्ज भएकाले आवश्यक पम्पहरु मगाइएको उनले बताए । यही आउँदो दशैसम्ममा पानी चढाउने लक्ष्यका साथ बिजुली जडानको तयारी भइरहेको उनको भनाइ छ ।

आयोजना अन्तरतग साना ठूला गरी २५ भन्दा बढी ट्याङकी निर्माण भएका छन् । उक्त ट्याङकीहरु २५ देखि ६ सय घनमिटर क्षमताका छन् ।

सबैभन्दा ठूलो ६ सय घनमिटर क्षमताको ट्याङकी गोरखा नगरपालिका-३ घलाङमा निर्माण भएको काफ्लेले बताए । ‘त्यहा पानी प्रशोधन केन्द्रसहितको ट्याङकी बनाएका हौ, ठाउँठाउँमा ट्याङकी बनाएर पाँच ठाउँमा पानी लिफ्ट गर्छाै,’ उनले भने । जरेवर स्थित दरौदी नदीबाट पानी लिफ्ट गरिने उनले जानकारी दिए ।

आयोजना निर्माण भएपछि दैनिक ३० लाख लिटर पानी आपूर्ती हुनेछ । गोरखा नगरपालिकाको वडा नम्वर ३ देखि ९ सम्मका स्थानीयहरु आयोजनाबाट लाभन्वित हुनेछन् ।

चार हजार ८५४ धारा जडान गरिने छ । तर, आयोजनाले सिधै उपभोक्तालाई पानी वितरण नगर्ने काफ्ले बताउछन् । ‘जिल्ला सदरमुकाममा रहेका बिभिन्न खानेपानी उपभोक्ता समितिलाई हामी बल्कमा पानी दिन्छौं, उहाँहरुले खपत गरे अनुसार हामीलाई रकम बुझाउनुहुनेछ र उपभोक्तालाई समिति आफैले पानी वितरण गरेर महशुल उठाउनुहुन्छ,’ उनले भने ।

आयोजना निर्माणका लागि २०७४ असार २७ गते तुदी रमन जेभीसँग ठेक्का सम्झौता भएको थियो । ०७७ असार २७ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि समय अगावै काम सम्पन्न हुने आयोजना प्रमुख काफ्लेले दावी गरे ।

आयोजना निर्माण भएसँगै जिल्लामा टट्कारो रुपमा देखिएको खानेपानी अभावको समस्या हल हुने अपेक्षा गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन बिभाग काठमाडौंको सुख्खा क्षेत्र कार्यक्रम अन्तरगत निर्माण भइरहेको आयोजनाको कुल लागत भ्याट बाहेक ३७ करोड ३७ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment