Comments Add Comment

सामाजिक भेदभाव : दृष्य र अदृष्य

‘एउटी केटीले मेरो जागिर खाइदिइ ।’

एक मेरा पुरुष मित्रले कफी गफमा आक्रोस पोखे । उनले थपे- ‘आइएनजिओमा गजबको जागिर खुलेको थियो । तलब ६ अंकमा थियो । त्यो पदका लागि मेरो सबै योग्यता पुग्थ्यो । अनुभव पनि थियो । ज्ञान, सीप थियो । मसँग के थिएन ? तर मेरो अवगुण- म केटा परेँ ! त्यसैले मैले राम्रो जागिर गुमाउनु पर्‍यो ।’

अर्को प्रसङ्ग ।

एक शहरीया महिलाबादी अभियन्ता सप्तरीको छिन्नमस्ता गाउँको मुसहर टोलका दलित महिलाहरूलाई महिला हकअधिकारको पाठ पढाउँदै थिइन् ।

‘यु नो, हामी महिला पछाडी परेका होइनौं । पछाडि पारिएको छ । पितृसत्तात्मक समाजका विरूद्ध हामी सबै महिला एकजुट हुनुपर्छ । आइ डन्ट लाइक म्यान हेटिङ वोमन ।’

समूहका महिलाले उनको कुरा सुन्नुभन्दा पनि उनको बोलीचाली, रूपरंग, लवाइ-खुवाइ नियालिरहेका थिए । एक महिलाले त भनिहालिन्- ‘वहन ! अगर हमर घरवाला न होथिन तो हम अकेले पाँचधिया पुताके केनाके परबरिस करी ? हमर यही टोलके जननी सब दुख देइए । कुवा से पानी निकालेला न देइए ।’ (बहिनी, मेरो लोग्ने नभएको भए पाँच जना सन्तान कसरी हुर्काउँथै । हामीलाई यो टोलका सबैले दुख दिन्छन् । कुवाबाट पानी निकाल्न पनि दिँदैनन् ।)

पुरूषको समस्या न महिलासँग मिल्छ । न त दलित महिलाको पीडासँग अभियानकर्ताको सोच मेल खान्छ । पिर-मर्का आ-आफ्नै छन् ।
प्रसंग १ः ‘एउटी केटीले मेरो जागिर खाइदिइ ।’

किन एउटी महिलाले जागिर पाइन् भनिदैन ? जागिरको सम्भावित उम्मेदवारलाई ‘मेरो जागिर’ भन्ने सोच कसरी आयो ? त्यो पदका लागि हजारौं उम्मेदवार भएको थाहा हुँदाहुँदै कसरी ‘मेेरो जागिर’ भयो ? यदि त्यो पदमा कुनै महिला नभएर अन्य पुरुष चुनिएको भए उनले के भन्थे होला ?

महिला अभियन्ताको प्रसंग । नेपाली आम महिलाको स्तरभन्दा उनको हैसियत निकै माथि छ । उनलाई देशको अन्य पुरूष सरह सेवा-सुविधा उपभोग गर्न पाउनुपर्छ भन्ने छ । उनको समस्या राष्ट्रिय रूपमा आफ्नो पहिचानलाई लिएर हुनसक्छ । यसको लागि पितृसत्तात्मक सोच बाधक भएको उनको ठम्याई छ । इनारमा पानी झिक्ने सवाल उनको लागि गौण हुनपुग्छ । ग्रामीण एक महिलाले भोग्नु परेको समस्या शहरीया महिलाका लागि अदृश्य (इनभिजिबल) बन्न पुग्छ ।

कोही बालबालिका जीवनमा कहिल्यै छुवाछुत भोग्नु नपर्ने परिवारमा जन्मन्छन् त कोही छुवाछुतको पीडामा हुर्कन बाध्य हुन्छन् । कसैलाई जन्मदै छुवाछुत तथा लिङ्गका आधारमा विभेद नहुने विशेषाधिकार (प्रिभिलेज) त कसैलाई छुवाछुत तथा अपहेलानाको शिकार हुनुपर्ने बाध्यता छ ।

उच्च जातको परिवारमा जन्मे-हुर्केका व्यक्तिले छुवाछुत मानव विकासको लागि एउटा गम्भीर समस्या रहेको स्वीकार नगर्न सक्छन् । वा स्वीकार गरे पनि अहिले हटिसकेको भन्न सक्छन् । तर एउटा दलित परिवारमा जन्मेका बालबालिकाले छुवाछुतको पीडा भोगेेका हुन्छन् र समाजमा यो चलनचल्तीमा रहेको झल्झल्ती देख्दछन् । तर जसले भोगेको हुँदैन उसका लागि छुवाछुत अदृश्य (इनभिजिबल) हुन सक्छ ।

त्यस्तै लिङ्गको आधारमा गरिने भेदभावको शिकार अक्सर महिला बन्नुपर्छ । पुरूषले प्रायः पर्दैन । केही अपवाद बाहेक । त्यसैले एउटा पुरूषको नजरले लैंगिक असमानताको समस्या भएको स्वीकार नगर्न पनि सक्छ । स्वीकार गरे पनि पहिले थियो, अचेल छैन भन्न सक्छ । लैङ्गकि असमानताको पीडा भोग्नेलाई थाहा हुन्छ । नभोग्नेलाई थाहा नहुन सक्छ । उसलाई महिलाको क्षमता अभिबृद्धिका लागि गरिने सकारात्मक पक्षपोषण अपाच्य हुन सक्छ । आरक्षणको व्यवस्था समाजविरोधी भन्ने पनि लाग्नसक्छ ।

हो, जैविकरूपमा महिला र पुरूषबीच फरक हुन्छ । महिला पुरूषबीच फरक लिङ्ग हुन्छ । फरक हार्मोन हुन्छ । यो प्राकृतिक हो । त्यसैले महिलाले बच्चा जन्माउन सक्छिन्, पुरूषले सक्दैन । शारीरिक रूपमा महिलाभन्दा पुरूष बलिया हुन्छन् । तर जीवन जिउने क्षमता (औसत आयु) पुरूषको भन्दा महिलाको बढी हुन्छ । विश्वमा महिला ५२ प्रतिशत छन् भने पुरूषको जनसंख्या ४८ प्रतिशत छ । तर किन पद तथा प्रतिष्ठामा पुरूषको बोलबाला छ ? नोभेल शान्ति पुरस्कारबाट सुशोभित केन्याकी नागरिक वाङ्गगारी माथाई भन्दै थिइन्- ‘जति-जति माथिल्लो ओहदामा जान्छौं, त्यहाँ महिला त्यति नै कम देखिन्छन् ।’

महिलाले घर भित्रको काम गर्ने र पुरूषले घर बाहिरको गर्ने चलन परापूर्वकालदेखि चलिआएको हो । त्यसैले आफ्नो संस्कृतिलाई बचाउनु पर्छ भन्ने पनि पाइन्छ । संस्कृतिले मानिस बनाएको हो या मानिसले संस्कृति ? संस्कृति समयानुसार परिवर्तन हुँदैन र ? यदि हुँदैन भने सय वर्षअघि प्रचलनमा रहेको सतिप्रथा किन हटाइयो ? अफ्रिकामा जुम्ल्याहा जन्मिएकालाई मार्ने प्रचलन थियो सय वर्षअघि । किन हट्यो ? के मानिसले हटाएको होइन ?

सवाल संस्कृतिको होइन । सवाल मानिसको सोचको हो । लिंग दुई तिघ्राको वीचमा हुन्छ । तर लैङ्गकिता दुई कान र दूई आँखाको बीचमा हुन्छ । कानले सुन्छ, आँखाले देख्छ । अनि धारणा बनाउँछ । अनि त्यही अनुरूपको व्यवहार गर्दछ । के छोरी जन्मदा खाना पकाउनु पर्ने जीन लिएर आएकी हुन्छिन् ? अनि छोरो जन्मदा अफिस जाने जीन लिएर जन्मिएको हुन्छ ?

मानव जीवन केका लागि ? मानिस कस्तो जीवन बाँच्न चाहन्छ ? महिला-पुरूष दुबैकोे एकै उत्तर हुन्छ- सुखी तथा सम्बृद्ध जीवन ।

के महिलाविना पुरूषको र पुरूषबिना महिलाको जीवन सुखी हुन्छ ? पुरूष मात्रै भएको तथा महिला मात्रै भएको गाउँ विश्वमा कतै सुन्नुभएको छ ? पुरूष मात्र भएको गाउँ भएमा त्यहाँ जति उपद्रो धर्तीमा कतै हुँदैनथ्यो होला । त्यस्तै महिला मात्र भएको एउटा गाउँ भए त्यहाँ जति घोर निरासा सायद अरु कतै नहोला । सुखी जीवन बाँच्न दुबैको साथ चाहिन्छ भने महिला तथा पुरूषमा सामाजिक विभेद किन ?

लैङ्गकि समानतासम्बन्धी विश्वमा विभिन्न अनुसन्धान भएका छन् । जुन मूलुकमा जति धेरै लैङ्गकि समानता छ त्यो मुलुकका मानिस त्यति नै सुखी हुन्छन् । सम्मृद्धी पनि उच्च हुन्छ । यूएनडीपीको मानव संशाधन विकास प्रतिवेदनले जहाँ बढी गरीबि हुन्छ, त्यहाँ त्यति नै लैङ्गकि असमानता हुने देखाएको छ ।

लैङ्गकि समानताका सवालमा भएका विभिन्न अनुसन्धानले लैङ्गकि समानता र सुःखको प्रत्यक्ष सम्बन्ध हुने देखाएका छन् । लैङ्गकि समानता धेरै भएमा परिवार त्यति नै खुशी हुन्छ । सुखी हुन्छ । लैङ्गकि समानता जति कम हुन्छ त्यो परिवार त्यति नै दुखी हुन्छ । लैङ्गकि समानताले परिवारमा राम्रो सम्बन्ध ल्याउँछ । सम्बन्ध राम्रो भएका परिवारमा माया-ममता हुन्छ । माया-ममताले परिवारमा उमङ्ग ल्याउँछ । छोराछोरीले स्नेह-प्यार पाउँछन् । प्रेममा हुर्केका बालबालिका सही मार्गमा लाग्छन् । तनाव भएको परिवारका बालबालिका दुव्र्यसनी तथा कुमार्गमा लाग्छन् ।

लैङ्गकि समानताले महिला-पुरूषबीचको सहअस्तित्वलाई स्वीकार गर्दछ । एक-अर्काप्रति विश्वासको अंकुरण हुन्छ । एकले अर्कालाई सम्मान गर्छ । महिला-पुरूषवीचको सम्बन्ध सुमधुर हुन्छ । मनोबैज्ञानिक भन्छन्- सुमधुर सम्बन्धमा हुने सम्भोगमा यौन सन्तुष्टि उच्च हुन्छ ।

लैङ्गकि समानता केवल महिलाको मात्र होइन, पुरूषको लागि पनि हो । दुबैको लागि हो । परिवारको लागि हो । समाजको लागि हो । सम्मूनत राष्ट्रको लागि हो । लैङ्गकि समानता महिलाको जीत तथा पुरूषको हार होइन । दुबैको जित हो । लैङ्गकि समानता सुखी तथा सभ्य मानव सभ्यताको कोशेढुंगा हो । आदर्श हो । त्यसैले लैङ्गकि समानताका लागि महिला मात्र होइन पुरुषको सहभागिता तथा सहयोग अपरिहार्य छ । सोच बदलौं । व्यवहार बदलौं । समाज बदलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment