+
+
Shares

कांग्रेसलाई अर्थमन्त्रीको प्रश्न : वृद्धभत्ता पाउने उमेर किन घटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते १४:२८

२३ जेठ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले वृद्धभत्ता पाउने उमेर ६५ वर्षमा झार्नु उपयुक्त नहुने बताएका छन् । नेपाली कांग्रेसका सांसदहरुले बजेट छलफलका क्रममा ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिनुपर्ने भनी उठाएको प्रश्नको जवाफ दिँदै उनले वृद्धभत्ताका लागि ६५ वर्ष उपयुक्त नहुने बताएका हुन् ।

२०५१ सालमा ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मासिक १ सय रुपैयाँ भत्ता दिन सुरु गरेको स्मरण गर्दै उनले त्यतिबेला औसत आयु ५९ वर्ष रहेकोमा अहिले बढेर ७१ वर्ष पुग्दा वृद्ध भत्ता पाउने उमेर घटाउनु उपयुक्त नहुने अर्थमन्त्री खतिवडाले बताए ।

‘अहिले औसत आयु ५९ बाट ७१ पुग्यो । हामी सामाजिक सुरक्षा पाउने उमेर घटाउने कुरा हुँदैछ । यसमा बहस गरौं’ उनले भने ‘सबै नागरिकले राज्यबाट सुरक्षित हुनुपर्छ । तर कुन उमेरमा के पाउने हो रु उत्पादक उमेरमा के पाउने हो, उत्पादक नहुँदै के पाउने हो रु उत्पादक शक्ति क्षिण हुँदै जाँदा के गर्ने हो यो चक्रको विषयमा हामी छलफल गरौं ।’

आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षामा कुल बजेटको ११ प्रतिशत खर्च हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ताको रकम सबै अनुत्पादक नहुने मन्त्री खतिवडाले बताए । ‘सामाजिक सुरक्षा भत्ता सबै उपभोगमा होइन । नाती नातिनालाई किताब कापी किन्नुभएको छ, खाजा किन्नुभएको छ । औषधी उपचार गर्नुभएको छ । राज्यले सिधै गर्न नसक्ने काम जेष्ठ नागरिकले सामाजिक सुरक्षाको भत्ताबाटै गर्नुभएको छ’ उनले भने ‘परिवारको जिम्मेवारी पूरा गर्ने क्षमता सामाजिक सुरक्षाले अभिभावकलाई दिएको छ ।’

अर्थमन्त्री खतिवडाले पुँजीगत खर्च शत प्रतिशत हुन नसक्ने भन्दै ९० प्रतिशत भन्दा माथि खर्च भएमा राम्रो मान्नुपर्ने बताए । ‘हामी व्यवहारिक हुनैपर्छ, हामीले सोचेको कुरा शत प्रतिशत हुँदैन’ उनले भने ‘कहिले स्थानीयको अवरोध हुन्छ, कहिले निर्माण व्यवसायीले काम गर्दैनन्, तर ९० प्रतिशत भन्दा माथि पुँजीगत खर्च गर्न सक्यौं भने त्यसलाई राम्रो भन्नुपर्छ ।’

अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिदर साढे ८ प्रतिशत हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहबाट गरी करिब १७ खर्ब सार्वजनिक खर्च हुने भन्दै उनले यो खर्चबाट आर्थिक वृद्धि हासिल हुने दावी गरे । १७ खर्ब खर्च गर्दा धेरै श्रम सिर्जना हुने भन्दै त्यसले सजिलै ४ लाख रोजगारी सिर्जना गर्ने गर्ने अर्थमन्त्री खतिवडाले बताए । त्यसमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख रोजगारी थप्न सकेमा त्यसले पनि आर्थिक वृद्धिमा योगदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?