Comments Add Comment

भारतीय बलिङमा रोचक बुमराह

२३ जेठ, काठमाडौं । विश्वकप सुरु भएको सातौं दिनमा पहिलो खेल खेलेको भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । भारतको जितमा रोहित शर्माको शतक, युजभेन्द्र चाहलको ४ विकेट महत्वपूर्ण रह्यो ।

बलिङमा १० ओभर गरेर ४४ रन दिँदै २ विकेट लिएका भुवनेश्वर कुमार र १० ओभरमा ३५ रन दिएर दुई विकेट लिएका जसप्रित बुमराहको भूमिका पनि महत्वपूर्ण बन्यो । सबैका बीच शर्मा र चाहलको चर्चा चलिरहँदा किफायती बलिङ गर्दै दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई दबावमा राखेका बुमराह हराएका देखिए ।

दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभर गरेका भुवनेश्वर कुमारले २ रन मात्रै दिए । दोस्रो ओभरमा आएका बुमराहले पनि २ रन मात्रै दिए । तर बुमराहले बलिङ गर्दाको रमाइलो पक्ष उनको हरेक बलमा दर्शक ओहो ! आहा ! गर्दै रोमाञ्चित भइरहेका थिए । क्वान्टन डी ककले ब्याटिङ गरिरहँदा उनी बिट भएको भारतीय समर्थकका लागि रमाइलो नै थियो ।

तेस्रो ओभरमा भुवनेश्वरले एक चौकासहित ६ रन खर्चिए । त्यसमा बंगलादेशसँगको खेलमा आराममा रहेका आसिम आम्लाले दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिने देखिएको थियो । तर चौथो ओभरको दोस्रो बलमा नै बुमराहले आम्लालाई आउट गरिदिए ।

त्यतिबेला बुमराहलाई हेर्दा लाग्थ्यो, यो दिनको सुरुवात मात्रै हो । अगाडि अझै बाँकी छ । त्यसैले त्यो पहिलो विकेटको खुशी एउटा अपर्याप्त देखिन्थ्यो । त्यसपछि आएका फाफ डुप्लेसिसले पहिलो बलमा नै चौका हाने । तर त्यो चौका ब्याटको भित्री किनारमा लागेर गएकाले दर्शकको रोमाञ्चकता बलिङतर्फ पनि घटेको थिएन ।

दक्षिण अफ्रिकी ब्याटिङमा डु प्लेसिस र डे कक सँगै बढिरहेका बेला छैठौँ ओभरमा उनै बुमराहले डे ककलाई आउट पार्दै कमजोर बनाइदिए । इंग्ल्याण्डविरुद्ध अर्धशतक र बंगलादेशसँग २३ रन हानेर रन आउट भएका डे ककलाई बुमराहविरुद्ध नै सम्हालिन गाह्रो भएको देखिन्थ्यो । सन्तुलित हुनै लागेका बेला अर्को विकेट गुमेपछि खेलमा फर्कन दक्षिण अफ्रिकालाई कठिन भयो ।

त्यसपछिका ओभरमा पनि दर्शकको आश बुमराहमाथि बढिरहेको थियो । विकेट नआए पनि किफायती बलिङ गर्दै उनले निरन्तर दबाव बनाइरहे ।

खेलपछि कप्तान विराट कोहलीले बुमराहको बलिङको तारिफ गरे । एकदिवसीय क्रिकेटमा विश्वका उत्कृष्ट बलर भन्दै गरिएको बुमराहको तारिफ उनको खेलअनुरुप नै थियो ।

‘अहिले उनले जसरी बलिङ गरिरहेका छन् त्यो असाध्यै राम्रो हो । ब्याट्सम्यान उनको बलिङमा के गर्ने भन्ने दोधारमा परिरहेका थिए । इमान्दार भएर भन्दा, आम्ला एकदिवसीय क्रिकेटमा त्यसरी आउट भएको मैले देखेको थिइनँ’ कोहलीले भने, ‘बुमराहले असाध्यै दबाव बनाएका थिए । को ब्याट्सम्यान उभिएको छ भन्ने वास्ता नगरी आफ्नो बलिङमा बुमराहको मेहनत देखिन्थ्यो । उनको लय असाध्यै राम्रो थियो ।’

दक्षिण अफ्रिकाविरुद्ध बुमराहको खेल विश्वकप डेब्यू खेल थियो भन्ने पनि धेरैले याद गरेनन् । उनको उपस्थिति नै त्यस्तै थियो ।
‘मैले विश्वकपमा मेरो पहिलो खेल हो भन्ने सोच्दै सोचिनँ । मलाई अर्को एउटा क्रिकेट खेल हो भन्ने मात्रै भयो । विश्वकप भनेर दबाव महसुस गरिनँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment