News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल–अङ्ग्रेज युद्धमा ७३ वर्षका भक्ति थापाले देउथलमा अङ्ग्रेजको तोप कब्जा गर्न आक्रमण गर्दै वीरगति पाए।
- आर्थिक सङ्कटमा रहेका भक्ति थापाले खाइपाइ आएको पाँच खेत खोसिएपछि थमौतीका लागि सरकारसमक्ष अनुनय-विनय गर्नुपरेको थियो।
- वीरगतिपछि उनका छोरानाति बेरोजगार र ऋणग्रस्त रहे, र नाति चेहरसिंह थापाले १६ वर्षपछि जुम्लाको कप्तानी पाए।
नेपाली इतिहासमा भक्ति थापाले आफूलाई अमर बनाए। आराम गरेर बाँकी समय कटानी गर्नुपर्ने वृद्धावस्थामा पनि युद्ध मैदानमा उनको जोस देखेर शत्रु पक्ष पनि चकित भएका थिए। खुँडा, खुकुरी, धनुकाँडजस्ता परम्परागत हतियार र सीमित भरुवा बन्दुकको भरमा रहेका आफ्ना सेनाका साथ देउथलको टिप्पामा रहेका अङ्ग्रेज सेनाको तोप खोस्न उनी उकालैउकालो दौडँदै शत्रु सेनाउपर जाइलागेका थिए।
महाकाली नदीपारिको तत्कालीन नेपालमा अङ्ग्रेजसँगको युद्धमा जतिखेर उनी पराक्रम देखाउँदै थिए, त्यतिखेर उनी ७३ वर्षका थिए। उनले त्यहीँ आफ्ना पाँच सय सहयोद्धाका साथ वीरगति पाए।
युद्ध लड्ने उमेर थिएन उनको। तर राष्ट्रभक्ति र साहसकै भरमा उनले युद्ध लडेका थिए। उनी जतिखेर कठिन युद्ध लडिरहेका थिए, त्यसबेला उनको आर्थिक अवस्था पनि गतिलो थिएन।
उनले वृत्तिबापत पाउँदै आएको खेत पनि खोसेर सरकारले कुनै सैनिक पल्टनलाई प्रदान गरेको थियो। आर्थिक सङ्कटमा परेका उनले आफूले खाइपाइ आएको वृत्ति थमौती गर्न सरकारसमक्ष ठूलै अनुनय-विनय गर्नुपरेको थियो। बल्ल थमौती भई आएको जग्गाको आम्दानी पूरा एक वर्ष पनि उपभोग गर्न नपाई उनले युद्ध मैदानमा अन्तिम सास फेरेका थिए।
लमजुङबाट गोरखाली सेनामा
भक्ति थापा पुँवार थापा क्षेत्री हुन्। उनी सुरुमा लमजुङ राजदरबारका भारदार थिए। उनी गोरखालीविरुद्ध लड्दा घाइते भई पक्राउ परेका थिए। युद्धबन्दी अवस्थामा उनले गोरखाली (नेपाली) सेनामा रहेर काम गर्न मञ्जुर गरेका थिए।
वि.सं. १८४० मा पर्वतका काजी बलिभञ्जन मल्लको नेतृत्वमा नेपालविरुद्ध भएको युद्धमा लमजुङ पनि पर्वतसँग मिलेको थियो। युद्धमा भक्ति थापा र बलिभञ्जन घाइते भई दुवैलाई युद्धबन्दी बनाइयो। दुवैलाई काठमाडौं ल्याइपुर्याउने क्रममा गाईखुर भन्ने ठाउँमा पुग्दा-नपुग्दै बलिभञ्जनको देहान्त भयो।

बाँकी रहेका भक्ति थापाले आराम भएपछि नेपाली सेनामा रहेर सेवा गर्न मञ्जुर गरे। उनलाई नेपाली सेनामा भित्र्याउन बडाकाजी अमरसिंह थापाले भूमिका खेलेका थिए। सुरुमा उनलाई सेनामा सुब्बा पद प्रदान गरिएको थियो (तुलसीराम वैद्य र अरू (सम्पा.), ‘नेपालको सैनिक इतिहास’– २०४९: ४७८)।
वि.सं. १८४६ मा जुम्ला नेपाल राज्यमा मिलिसकेको थियो। तर त्यहाँ केही समयपछि विद्रोह मच्चियो। त्यहाँको प्रशासक भई खटिएका भक्ति थापाले विद्रोह दबाएर शान्ति स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले डोटीमा भएको विद्रोहलाई पनि दबाई त्यहाँ नेपालको पक्षबाट प्रशासन चलाएका थिए (वैद्य र अरू, २०४९: ४७८–७९)।
पहिले लमजुङका सेनानायक भए पनि आफूलाई नेपाली सेनामा समाहित गरिसकेपछि उनले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
सरदारमा बढुवा, कुमाउँको हाकिम
वि.सं. १८५१ को पजनीमा भक्ति थापा सरदार पदमा बढुवा भएर कुमाउँ क्षेत्रको हाकिम भए। काजी दामोदर पाँडेमार्फत तत्कालीन राजा रणबहादुर शाहले भक्ति थापाको सरदारी र कुमाउँको हाकिमीका बारेमा वि.सं. १८५१ साउन सुदी १० रोज ४ मा चेपे र मर्स्याङ्दी पश्चिमका जिम्मेवारी र सरोकारवाला व्यक्तिहरूको नाममा रुक्का जारी गरे।
रुक्कामा ‘कुमाउँ जानाकर सर्दार भक्ति थापालाई विदा गराई पठाञु. तिमिहरुको वरदास्ति सर्दारहरुबाट हुन्या छ. आफनु दलबल लि षातिरजामासित सर्दारका साथ कुमाउ जाउ’ (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ११– कात्तिक २०२३: ३३) भन्ने बेहोरा परेको छ।
यसरी कुमाउँको हाकिम गराएर त्यहाँको प्रशासन चलाउन वि.सं. १८५१ साउन सुदी १२ रोज ६ मा राजा रणबहादुर शाहले उनलाई ११ वटा महत्त्वपूर्ण अख्तियारी दिए। उनले आफ्नो जीवनमा पाएको यो सबैभन्दा ठूलो अधिकार थियो (पन्त, २०२३: ३५–३६)।
केही पछि उनले पाएको हाकिमी पनि खोसियो भने उनले पाएको असीमित अधिकार पनि कटौतीमा पर्न गयो।

उनी त्यस क्षेत्रको हाकिम भएर बसेका बेला सुबाङ्गी पाएर जनरल भीमसेन थापाका बुबा अमरसिंह थापा त्यहाँ पुगेका थिए। उनी भक्ति थापाका मातहतमा थिए।
त्यसबेला नेपाल र किलापुरी राज्यको सम्बन्ध बिग्रँदै गएको थियो। तर आफ्ना हाकिम भक्ति थापालाई सोध्दै नसोधी अमरसिंह थापाले किलापुरीमा हमला गरेपछि यी दुईबीचको सम्बन्धमा दरार उत्पन्न भयो।
यो कुरा मिलाउन माथिल्लो दर्जाका चौतरिया बम शाहलाई त्यसतर्फको हाकिम बनाई पठाइयो। अब भक्ति थापाले बम शाहको निर्देशनबमोजिम काम गर्नुपर्ने हुँदा पहिले दिइएको भक्ति थापाको असीमित अधिकार अन्त्य भएको थियो (वैद्य र अरू, २०४९: ४८१)।
कुमाउँ गढवाल क्षेत्रमा चलिरहेको उनको जागिरमा उतारचढाव आइरहेको थियो। उनी गीर्वाणयुद्धविक्रम शाहको राज्याभिषेकमा काठमाडौंमा थिए। वि.सं. १८५५ फागुन २८ गते छोरालाई राज्याधिकार सुम्पने बेलामा राजा रणबहादुर शाहले सबैजसो भारदारहरूलाई धर्मपत्रमा सही गराएका थिए।
यसरी सही गर्नेमा भक्ति थापा पनि एक थिए। पछि बनारसबाट फर्केपछि मुख्तियारका रूपमा स्वामी महाराज रणबहादुर शाहले वि.सं. १८६१ मा गढवाल कब्जा गर्न बडाकाजी अमरसिंह थापालाई त्यसतर्फ पठाए। त्यसबेला उनी अमरसिंहको मातहतमा त्यसतर्फ लागेका थिए (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १४– साउन २०२४: १४९–५०)।
गीर्वाणयुद्धविक्रम शाहलाई नाबालक अवस्थामा राज्याधिकार सुम्पँदा भारदारहरूलाई धर्मपत्रमा सही हाल्दा आफ्नो तीनपुस्ते खुलाउनुपरेको थियो। उक्त धर्मपत्रमा भक्ति थापाको बाजेको नाम प्रताप थापा र बुबाको नाम अमरसिंह थापा (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’– २०७५: १०९) उल्लेख छ। तर यी अमरसिंह थापा बडाकाजी अमरसिंह र भीमसेन थापाका बुबा अमरसिंह थापा नभई भक्ति थापाका बुबा हुन्।
कुमाउँ गढवाल क्षेत्रबाट काठमाडौं आई ६ वर्षजति यतै रहेर भक्ति थापा फेरि कुमाउँ गढवाल क्षेत्रमै खटिएका थिए। त्यसबेला काठमाडौं–कुमाउँ आवतजावत गर्न मात्रै चार महिना लाग्थ्यो।
सङ्कटग्रस्त आर्थिक अवस्था
भक्ति थापा आफैँ वृद्धावस्थामा पुगिसकेका थिए। उनको जहान-परिवार पनि ठूलो थियो। उनका तीन जना मुखिनी थिए। त्यो बेला युद्ध वा विद्रोहको सम्भावना भइरहने हुँदा सुख र आनन्दले बस्न सक्ने अवस्था पनि थिएन। पजनीका क्रममा सरकारले खटाएको ठाउँमा सर्दै पनि जानुपर्थ्यो।
सोही क्रममा उनलाई सरकारले सरुवा गरी खटाउँदा वि.सं. १८६७ असार १० गते गढवाल पुगे। त्यहाँ पुग्नेबित्तिकै उनी दुई वटा पारिवारिक शोकमा डुबे। असार २७ गते उनको छोरा सर्वजित थापाको देहान्त भयो, त्यसलगत्तै भदौ ८ गते ती छोराका आमाको पनि देहान्त भयो (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क २०– माघ २०२५: ३०३)।
युद्ध मैदानमा रहेको, त्यसमा पनि वृद्धावस्था, अर्कोतिर पारिवारिक शोक। त्यसैबेला उनी चर्को आर्थिक सङ्कटमा पनि थिए। उनलाई सरकारले जागिर (खान्गी) दिएको थिएन। त्यसबेला जागिरबापत जग्गा-जमिन दिइएको हुन्थ्यो। त्यसको उब्जनी नै जागिरबापतको पारिश्रमिक हुन्थ्यो। ‘मुकाम रणमैदान’ का लेखक मोहन मैनालीको शब्दमा भक्ति थापा सुखसँग युद्ध लडेका थिएनन्। उनलाई सरकारले उस्तो जागिर दिएको थिएन।
त्यसबेला राज्यको हर्ताकर्ता रहेका मुख्तियार जनरल भीमसेन थापाका बुबा अमरसिंह थापालाई यसबारे गुनासो गर्दै उनले वि.सं. १८७० माघ सुदी ५ रोज ४ मा मुकाम आर्कीबाट पत्र लेखेका थिए। उनको पत्रअनुसार अघिल्लो वर्ष अमरसिंहकै कृपाले जागिरबापत पाँचवटा खेत थामिएको थियो। त्यसैबाट फौज र उनको तीनपुस्ते परिवारको गुजारा चलेको थियो। तर उनको जागिरबापतको उक्त पाँचवटा खेत खोसुवामा परेको थियो।
खोसुवामा परेको खेत थमौतीका लागि उनले पत्रमा अमरसिंह थापालाई ‘काजी (अमरसिंह थापा) महतारी हौ यो गलबल थामिदिया टहलै गरुँला… मलाई बन्दुक बँधाईकन पनि त्यो थामी बक्स्या जाओस्। यस्तो गरी किन लेखिस् भनी आज्ञा होला… आफूबाट म उपर राखी यो गोलबल थामी बक्स्या टलह गर्न्यैछु। भोट मधेस अनेत्र थरघर भयाको मेरो त्यसै जगाले छ कृपा रह्या जाला।’
त्यो बेला अमरसिंह पाल्पामा खटिएका थिए। उनले भनेको कुरा छोरा भीमसेन थापाले मान्लान् भनेर भक्ति थापाले अमरसिंहलाई ‘महतारी’ (आमा) सम्बोधन गर्दै उक्त पत्र पठाएका थिए (मैनाली, २०८१: १३०–३१)।
कसरी उनीसँगै उनको परिवार पनि वृत्तिविहीन बनेको थियो त ?
भक्ति थापाको खाइपाइ आएको जागिरबापतको पाँचवटा खेत कुनै सैनिक कम्पनीको जागिरमा दिइएकोले उनको परिवार वृत्तिविहीन बन्न पुगेको थियो। उनको गुनासो आफूसमक्ष आएपछि अमरसिंह थापा (भीमसेन थापाको बुबा) ले सो वृत्तिको विषयमा भक्ति थापाको पक्ष लिएर काठमाडौंमा पत्र लेखेपछि उनले खाइपाइ आएको खेत सरकारले उनैलाई फिर्ता गरी सैनिक कम्पनीलाई त्यसको सट्टा अर्को जग्गा दिने निर्णय गर्यो। भक्ति थापाले खाइपाइ आएको जग्गा थामिदिएको खबर मुख्तियार जनरल भीमसेन थापा र कारोबारी काजी रणध्वज थापाले उनलाई वि.सं. १८७० चैत १ गते पत्र लेखेर जानकारी दिए।

शतरुद्रा किनारको बघालमा मुकाम गरिबसेका भक्ति थापाले यो पत्र वि.सं. १८७१ वैशाख २५ गते पाए। आफ्नो परिवारले खाइपाइ आएको जग्गा थामिएकोमा भक्ति थापा सरकारप्रति कृतज्ञ भए।
सरकारबाट जग्गा थमौतीको पत्र पाएको तीन दिनपछि वि.सं. १८७१ वैशाख २८ गते लेखेको पत्रमा भक्ति थापाले ‘…बांकी मानु चावल छाप उथो भंदा भाइ छोरा नातिनतिना विरादर सवै अगुताउंदा विंति गरि पठाञांथ्यां. आफुहरुका विंतिले मानु चावल र छाप वगसुन भयेछ’ (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क २२– साउन २०२६: १२२–२४) भनी सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।
तर जागिरबापतको पाँचवटा खेत सरकारबाट थमौती भई उनको आर्थिक सङ्कट टर्न सुरु भएको बेला नेपाल अङ्ग्रेजसँगको भीषण युद्धमा होमियो। त्यसमा पनि एक पुराना र अनुभवी योद्धा भक्ति थापा पहिल्यैदेखि युद्ध मैदानमा थिए। उनले थमौती भएको पाँचवटा खेतको कमाइ एक वर्ष पनि उपभोग गर्न पाएनन्।
शत्रुको तोप खोस्न खोज्दा वीरगति
नेपाल–अङ्ग्रेज युद्धको समय पश्चिममा मूल किल्ला मलाउमा बडाकाजी अमरसिंह थापाले नेपाली सैन्यको नेतृत्व गरिरहेका थिए।
मलाउको मुख्य किल्ला थियो, राजगढ। त्यो बेला तोपगोला र आधुनिक हतियारधारी सात हजार सेनासहितको अङ्ग्रेज कमान्डर अक्टरलोनीसँग मुकाबिला गर्न तीन हजार सेनासहित बडाकाजी अमरसिंह थापा त्यस क्षेत्रमा डटिरहेका थिए।
राजगढको नजिकै नारायणगढ किल्लामा घमण्ड थापा पाँच सय सेनासहित तैनाथ थिए। राजगढबाट अढाइ कोस टाढा सूर्यगढको रक्षाको जिम्मा लिएर भक्ति थापा तैनाथ थिए। बीचमा रहेका रैला र देउथल बचाउन नेपालीहरूलाई हम्मे परिरहेको थियो।
वि.सं. १८७२ वैशाख ६ गते अङ्ग्रेजले रैला कब्जा गर्यो। फेरि त्यहाँ दुई पल्टन अङ्ग्रेज सेना थपिएर देउथल पनि कब्जा गरे। अक्टरलोनीले अमरसिंह थापालाई झुक्याउने रणनीतिअनुसार गमरोलाबाट कप्तान वियर र रतनगढबाट कप्तान सर्वाससहित आफ्नो सेनालाई राजगढतिर पठाएपछि अमरसिंह त्यहीँ केन्द्रित भए।
राजगढमा अङ्ग्रेज आक्रमण भएपछि घेरामा परेका बडाकाजी अमरसिंह थापाको सहयोगका लागि सूर्यगढ वीरमर्दन थापालाई सुम्पिएर भिर र जङ्गलको बाटो हुँदै भक्ति थापा राजगढ पुगे। तर देउथलबाट अङ्ग्रेजलाई नहटाए मलाउ किल्लाको सुरक्षा गर्न नसकिने निष्कर्षमा पुगेका बडाकाजी अमरसिंहले भक्ति थापालाई देउथलतिर पठाए।
वि.सं. १८७१ वैशाख ६ गते रातको पहिलो प्रहरमा आफ्ना सेनासहित भक्ति थापा मलाउ किल्लाबाट तल ओर्लेर केही उकालो चढेपछि पुग्न सकिने देउथलतिर अगाडि बढे। उनले पूर्व, उत्तर र पश्चिम दिशाबाट शत्रुउपर हमला गरेका थिए। उनको मूल लक्ष्य अङ्ग्रेजको दुई वटा तोप कब्जा गर्ने थियो। दुई घण्टाको भीषण युद्धमा दुवै पक्षमा ठूलो क्षति भयो। युद्ध चलिरहेकै बेला भक्ति थापाको छातीमा गोली लाग्यो (डा. इन्दिरा जोशी, ‘नेपाल–अङ्ग्रेज युद्ध’– २०६३: ८१–८२)।
अर्को स्रोतमा उल्लेख भएअनुसार, भक्ति थापा गोली लागेर घाइते भए, तर त्यो चोट र वेदनालाई कत्ति पनि वास्ता नगरी उनी ‘लौ जवान हो’ भन्दै आफ्ना सेनाको हौसला बढाउँदै आफू पनि अगाडि बढिरहेका थिए। लडाइँमा रामदल पल्टनका सुबेदार हृदयसिंह थापा र २०/२५ जना जमादारसहित चार सय जति नेपाली सेनाले ज्यान गुमाएपछि नेपाली फौज पछि हट्यो।
त्यसबेला अङ्ग्रेज फौजका कमान्डर गारनले ‘सरदार भक्ति थापा गोरखाका जमामर्दी मानिस हुन्। तिनलाई नमार्नू, पक्रेर ल्याउनु’ भन्ने उर्दी दिई आफ्ना मानिस पक्रन पठाएका थिए।
आफूलाई पक्रन आएका दुई-चार जनालाई भक्ति थापाले तरबारले छप्काएर ढाले। पहिल्यै गोली लागेर घाइते भएका उनलाई अङ्ग्रेज फौजले तरबार प्रहार गरी ढाले (‘प्राचीन नेपाल’ सङ्ख्या २४– साउन २०३०: १९)।
अर्कातिर लेखक मोहन मैनाली (२०८१: ११७) ले उल्लेख गरेअनुसार, रणमैदानमा अङ्ग्रेजले एक जना नेपाली अफिसरको लास फेला पार्यो। लडाइँमा कुन नेपाली अफिसर मारिएछन् भनी थाहा पाउन त्यो लास लोहार भञ्ज्याङ (देउथल) को अङ्ग्रेज क्याम्पमा लगियो।
त्यहाँ भगौडा र युद्धबन्दी भई अङ्ग्रेजका तर्फबाट लडिरहेका पहिलेका नेपाली सेनाले त्यो लास भक्ति थापाको भएको बताए र उनको देहान्तमा दुःख व्यक्त गरे। त्यसपछि अक्टरलोनीले उनको लासलाई सम्मानका साथ कपडाले बेरेर नेपाली फौजको जिम्मा लगाइदिए।
यसरी युद्ध मैदानमा वीरगति प्राप्त भक्ति थापाको गमरोलाको किनारमा गोगनको रूखमुनिको चौतारामा दाहसंस्कार गरिएको थियो। त्यसबेला उनका दुई जना मुखिनी सती गएका थिए (जोशी, २०६३: ८३)।
भक्ति थापाको वीरगतिले बडाकाजी अमरसिंह थापामा ठूलो आघात पर्न गयो। अब युद्ध थाम्न सकिने सम्भावनाहरू हराउँदै जान थाले। नेपाली सेनाभित्र अङ्ग्रेजसामु आत्मसमर्पणको चर्चा चल्न थालेको मात्रै होइन, नेपाली बडाकाजीको साथ छाड्दै अङ्ग्रेजसँग मिल्न जाने लक्षण देखिन थालेपछि अमरसिंहको आत्मबल क्षीण हुँदै जान थाल्यो।
एकै दिनमा १६ सय जवानसम्मले उनको साथ छाडेर अङ्ग्रेजसँग मिल्न पुगेपछि युद्धविराम गरी गढवाल क्षेत्र अङ्ग्रेजलाई सुम्पेर उनी युद्ध मैदान छाड्ने विचारतिर उन्मुख हुन बाध्य भए (जोशी, २०६३: ८४)।
यसरी भक्ति थापाको वीरगतिसँगै पश्चिमी मोर्चामा लडिरहेका नेपाली सैनिकहरूको जोस सेलाउँदै गएको थियो।
छोरा–नाति बेरोजगार
भक्ति थापाको वीरगतिपछि उनका छोरा-नातिहरूको आर्थिक अवस्था पनि उस्तो राम्रो रहेन। कुमाउँ गढवाल क्षेत्रमा भक्ति थापाको वीरगतिसँगै उनीहरूको धनदौलत पनि पश्चिमतिर गायब भएको थियो। उनीहरूको छोरा-नाति ढाक्र्या (बेरोजगार) अवस्थामा थिए। भक्ति थापा ढलेको १६ वर्षपछि मात्रै प्यूठानमा रहेका उनका नाति चेहरसिंह थापाले जुम्लाको कप्तानी पाएका थिए।
जुम्लाको कप्तानी पाएपछि चेहरसिंहले सरकारप्रति कृतज्ञ भई मुख्तियार जनरल भीमसेन थापालाई लेखेको पत्रमा उनीहरूको आर्थिक र पारिवारिक अवस्थाबारे सबै खुलस्त पारेका छन्। उनीहरू त्यतिखेरसम्म ऋणले थिचिएर बसेका देखिन्छन्। यो पत्र भीमसेन थापाका भाइ रणबीरसिंह थापाका सन्तति सुशीलविक्रम थापाको सङ्कलनमा रहेको छ।
वि.सं. १८८८ फागुन बदी ११ रोज २ मा प्यूठानबाट लेखिएको उक्त पत्रमा ‘…उहि भक्ति थापाको नातिहेरु हुन् निमकको सोझो गर्नन् भनि. पाउबाट करुणा हुंदा जुम्लाको कप्तानी वक्सने भयो सीच चढाई आञां यो पनी हामी उपर वडो मेहर मानगी भयो… सोह्र वर्ष सम्मको ढाक्र्या रिणले ग्रस्त भयाको छु. वाज्याको पालादेषिका मानिस ढेर हुनाले तीन्सयको पल्टन भर्ना भै सय छविस मानीस दर्दिया ढाक्र्यै पनि साथ लागी रह्याछन् २७ सयको षानगी घर षर्च मेरो षर्च वाहिडा मानिसलाइ पाल्दा पुग्न्या नपुग्न्या चरणवाट देषी वक्सनु भया थमौती भया मात्र पालना हुन्याछ यो कपतानीमा नयां षानगी हामीलाइ ठूलै मेहर हो…’ भन्ने उल्लेख छ।
उनले जुम्लाको कप्तानी पाउँदा सरकारले उनलाई वार्षिक २७ सय रुपैयाँको खान्गी (तलब) तोकेको पत्रबाट खुल्छ। उनले १६ वर्षको बेरोजगार अवस्थाबाट यत्तिको जागिर पाउनु आफूहरूमाथि सरकारले ठूलै मेहरबानी गरेको पनि उल्लेख गरेका छन्।
प्रतिक्रिया 4