+
+
Shares

हुम्लाको हिमपातमा बेपत्ता २०० पशुको झण्डै एक महिनापछि उद्धार

नरजन तामाङ नरजन तामाङ
२०८३ कात्तिक ६ गते ८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाम्खा गाउँपालिका–६ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका २ सय पशु झण्डै १ महिनापछि उद्धार गरिएको छ ।
  • असोज ९ देखि ११ गतेको भारी हिमपातपछि बाक्लो हिउँले खोजी र उद्धार गर्न कठिन भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
  • उद्धार गरिएका पशुमा १ सय चौँरी गाई, ५० घोडा र ५० जुमा तथा झोपा छन् ।

६ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ ।

असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको थियो ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार उद्धार गरिएका पशुमा १०० चौँरी गाई, ५० घोडा तथा ५० जुमा र झोपा छन् ।

लामो समयदेखि सम्पर्कविहीन रहेका पशुलाई निङ खोला, साक्या खोला, गेउ खोला र लाप्चा क्षेत्रका उच्च पाटनबाट कठिन प्रयासपछि उद्धार गरिएको तामाङले बताए ।

वडाध्यक्ष तामाङका अनुसार बाक्लो हिमपात र प्रतिकूल मौसमका कारण उच्च पाटनमा रहेका पशुको खोजी गर्न समस्या भएको थियो ।

लिमीका बासिन्दाले बर्सेनि हिमपातका कारण सास्ती खेप्दै आएका छन् । नारा र न्यालु लेकमा हिउँ जमेर सडक अवरुद्ध हुँदा लिमीबाट सदरमुकाम सिमकोट पुग्नसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ । सडक अवरुद्ध हुँदा लिमीका बासिन्दा सदरमुकामबाट टाढा हुने र दैनिक आवतजावत तथा सेवा सुविधामा समेत समस्या पर्ने गरेको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?