Comments Add Comment

पहिलो पटक बस चढेर बसाईं सरे राउटे, हेर्न टिकट काट्नुपर्ने !

Photo Credit : अनलाइनखबर फाइल

२३ जेठ, काठमाडौं । कर्णालीमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको अध्ययन-अवलोकन गर्न चाहनेले अब टिकट काट्नुपर्ने व्यवस्था गरिने भएको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायको अस्तित्व नै लोप हुने स्थिति आएको भन्दै उनीहरुको संरक्षण गर्न यस्तो प्रावधानाको तयारी गरेको हो ।

राउटे समुदायमा खुलारुपमा जो कोही प्रवेश गर्दा उनीहरुलाई मानसिक असर पर्नुका साथै राउटे संस्कृति हराउँदै गएको गाउँपालिकाको मूल्यांकन छ । टिकट प्रणाली आम्दानीका लागि मात्र नभएर उनीहरुको संरक्षण र संस्कृतिलाई जोगाउन पनि भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

‘छाडारुपमा जोकोही पनि प्रवेश गर्दा उनीहरु मानसिक तनावमा परेका छन्,’ अध्यक्ष वलीले भने, ‘हामीले राउटे समुदायलाई पर्यटकीय बस्तीका रुपमा विकास गर्ने लक्ष्य राखेका छौं ।

अहिले राउटेहरु सुर्खेतको गुर्भाकोटबाट गुराँस गाउँपालिका-५ बुबैराखेमा बसाइ सरेका छन् । पहिलोपटक राउटेहरु यसरी बसमा यात्रा गरी बसाईं सरेका हुन् । करिब ६० किलोमिटरको यात्राका लागि गाउँपालिकाले बसको ब्यवस्था गरिदिएको अध्यक्ष वलीले बताए ।

राउटे बस्ती रहेको स्थानमा अहिले गाउँपालिकाले पूर्वाधार निर्माण कार्यदलका २ जना सदस्य खटाएको छ । उनीहरुले टिकट व्यवस्थापनका लागि बस्ती रहेको क्षेत्र छुट्याउने छन् । तारजाली नै लगाउने तयारी गरिएको भए पनि राउटेले त्यसरी बस्न नमान्ने भएकोले डोरी लगाएर क्षेत्र छुट्याउन लागिएको अध्यक्ष वलीले बताए ।

अध्यक्ष वलीका अनुसार अहिले राउटे बस्तीमा प्रवेश गर्नका लागि गुराँस गाउँपालिका भित्रका नागरिकलाई १० रुपैयाँ, अन्य नेपाली नागरिकलाई २० रुपैयाँ र विदेशी नागरिकलाई ५०० रुपैयाँ तोकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment