Comments Add Comment

सांसद मार्फत विकासः त्रियुगा नगरपालिकामा २२ प्रतिशतमात्रै खर्च

२८ जेठ, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा सांसद मार्फत गएको विकास बजेट खर्च अत्यतै न्युन देखिएको छ । स्थानीय विकास साझोदार कार्यक्रम अन्तर्गत संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत ३ वटा नगरपालिका पर्छन । संघीय सरकारमार्फत गएको ४ करोड रुपैयाँ एक नम्बर निर्वाचन क्षेत्र मध्ये वेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका मध्ये त्रियुगा नगरका लागि मात्रै १ करोड ८७ लाख रुपैयाँ छुट्याइएको थियो ।

त्यसमध्ये ४१ लाख रुपैयाँ अर्थात २२ प्रतिशतमात्रै खर्च भएको नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले जानकारी दिए । सूचना अधिकारी राईका अनुसार सोहि अनुसारको प्रदेश सरकारको कार्यक्रमको बजेट खर्च निराशाजनक छ ।

प्रदेश सरकारले प्रदेश सांसदमार्फत विकास गर्ने भन्दै गत वर्ष प्रति निर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो । जसमध्ये त्रियुगालाई १ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेश सांसदको प्रत्यक्ष सहभागितामा हुने भनिएको यस बजेट पनि २० प्रतिशत अर्थात ४० लाख रुपैयाँमात्रै खर्च भएको राईले जानकारी दिए । तर बाँकी खर्च भने रफ्तारमा हुने सूचना अधिकारी राईको दावी छ ।

‘संघ अन्तर्गतको बजेटबाट २२ र प्रदेशको २० प्रतिशत खर्च भएको छ, बाँकीका लागि पनि सम्झौता भइसकेको छ’ उनले भने, ‘अख्तियारी ढिला आएका कारण पनि केहि समस्या भयो, बाँकी भुक्तानीको काम बाँकी पनि छ अनुगमन गरेर भुक्तानी दिने तयारी गरेका छौं ।’

त्रियुगामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पनि बजेट विनियोजन भएको थियो । राष्ट्रपति चुरे संरक्षणका लागि ३ करोड ९५ लाख रुपैयाँ बजेटमा १ करोड ५९ लाख अर्थात ४३ प्रतिशत भुक्तानी भइसकेको छ उनले जानकारी दिए ।

नगरपालिकाको समग्मा ७० प्रतिशत भन्दा माथि विकास खर्च भइसकेको उनले बताए । उनका अनुसार आजका मितिसम्म वित्तीय समानिकरण ७० प्रतिशत र सशर्त अनुदानतर्फ ७०.५५ प्रतिशत खर्च भएको छ । पुँजीगत खर्चमा राम्रै प्रगति देखिएको छ भने राजश्व लक्ष्यमा पनि त्रियुगा नगरपालिका सक्षम देखिएको छ ।

आन्तरिक राजश्व संकलन ७४ प्रतिशत सफलता प्राप्त गरेको उनले बताए । नगरले चालु आर्थिक वर्षका लागि आन्तरिक राजश्वतर्फ ६ करोड १२ लाख रुपैयाँको लक्ष्य राखेको थियो । जसमध्ये ५ करोड ४९ लाख रुपैयाँ उठाइसकिएको छ । यो लक्ष्यको ७४ प्रतिशत हो । चालु आर्थिक वर्षको अन्त्यसम्म राजश्व लक्ष्य भेट्टाउन समस्या नरहेको सूचना अधिकारी राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment