News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा सीमित संस्थालाई मात्रै सूचीकृत गरेर एकाधिकार कायम गर्न खोजिएको भन्दै आईएलओको ध्यानाकर्षण गराएको छ।
- संघले एफडब्लूसीएमएसमा सीमित संस्थालाई आबद्ध गराउँदा नेपाली श्रमिक र व्यवसायीलाई प्रत्यक्ष असर पर्ने तथा श्रमिकमाथि थप आर्थिक भार पर्न सक्ने बताएको छ।
- आईएलओका नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओज्कानले यो विषयमा संगठन जानकार रहेको र अध्ययनका साथै जेनेभामा पनि छलफल भइरहेको बताएका छन्।
२९ भदौ, काठमाडौं । मलेसिया रोजगारीका लागि सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सूचीकृत गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) समक्ष ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा पदाधिकारी, पूर्वअध्यक्ष तथा सल्लाहकारसहितको प्रतिनिधिमण्डलले आईएलओका नेपालस्थित कन्ट्री डाइरेक्टरसँग भेट गरी मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थालाई मात्रै सूचीकृत गरिएको विषयमा छलफल गरेको हो ।
भेटमा संघले सीमित संस्थालाई मात्रै एफडब्लूसीएमएसमा आबद्ध गराउँदा मलेसिया रोजगारीमा एकाधिकार सिर्जना हुने र त्यसको प्रत्यक्ष असर नेपाली श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीमा पर्ने धारणा राखेको छ ।
एकाधिकार कायम भएमा श्रमिकमाथि थप आर्थिक भार पर्न सक्ने, वैदेशिक रोजगार व्यवसायीले समान रूपमा व्यवसाय गर्ने अवसर गुमाउने र यस्तो व्यवस्था स्वस्थ प्रतिस्पर्धात्मक बजारको सिद्धान्तविपरीत हुने भन्दै संघले आईएलओसमक्ष गम्भीर रुपमा सरोकार राखेको महासचिव हिराबहादुर डागी (हरि) ले बताए ।
मलेसियाले नेपालबाट श्रमिक लैजाने प्रक्रियामा एफडब्लूसीएमएसमार्फत सीमित म्यानपावरलाई मुख्य श्रमिक भर्ना संस्थाका रूपमा राख्ने व्यवस्था गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ । नेपालले पनि विद्यमान कानुनअनुसार मात्रै मलेसिया रोजगारीको प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्दै आएको छ ।
संघले श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीको हितमा आवश्यक पहल र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।
आईएलओका कन्ट्री डाइरेक्टर नुमान ओज्कानले यो विषयमा आईएलओ जानकार रहेको र अध्ययन गरिरहेको बताएका थिए । यो विषयमा आईएलओ मुख्यालय जेनेभामा समेत छलफल भइरहेको जानकारी दिएका थिए ।
प्रतिक्रिया 4