Comments Add Comment

बालुवाटारको प्रधानमन्त्री निवास भत्काएर ४० करोडमा नयाँ भवन बनाइँदै

२९ जेठ, काठमाडौं ।संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीका लागि नयाँ निवास बनाउन लागिएकोबारे मुख्य समाचार लेखेको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर २ वर्षभित्र नयाँ भवन बनाउने तयारी गरिएको हो ।

नयाँ पत्रिकाका अनुसार यसरी निर्माण गर्न लागिएको एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । यी नयाँ संरचना बन्न ४० करोड खर्च हुनेछ । निजी निवास एक रोपनी क्षेत्रफलमा बन्नेछ भने सार्वजनिक भवन २ रोपनी क्षेत्रफलमा हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरिएको पनि समाचारमा उल्लेख छ ।

ठेकेदारलाई नियमन गर्ने व्यवस्था नै खारेज भएकोलाई पनि नयाँ पत्रिकाले आज प्राथमिकतापूर्वक समेटेको छ । ठेकेदार आन्दोलनमा उत्रिएपछि विगतमा कडा देखिँदै आएको सरकार पछि हटेको हो ।
त्यस्तै मुद्दा लागे ठेक्का नपाउने विगतको प्रावधान संशोधन गरेर ठेक्का पाउने बनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयका स्ववियुको वैधानिकतामाथि पनि आज नयाँ पत्रिकाले प्रश्न उठाएको छ । स्ववियुको म्याद सकिएको साढे २ महिना भइसकेको छ । म्याद नथपिएकाले सबै स्ववियु अवैधानिक भएको भवानीश्वर गौतमले नयाँ पत्रिकामा समाचार लेखेका छन् ।

कर्मचारी अभावको कारण देखाउँदै जिल्ला मालपोत कार्यालय, काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेको रोचक खबर कान्तिपुरमा छ । कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउने गरेका छन् । सेवाग्राहीबाट खाजा खर्च पाउने भएकाले उनीहरुबीच कामका लागि तँछाडमछाड हुने गरेको छ ।

प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले सिद्धान्त र विधिले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको कान्तिपुरसँग बताएका छन् ।

खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रुपमा तापक्रम बढी रहेको पाइएको खबर पनि कान्तिपुरमा छ । हिमनदीको २ सय मिटरसम्म प्वाल पारेर पहिलोपटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले स्कुल बन्द गरेर बिहे भोज गरिएको महोत्तरीको खबरलाई मुख्य समाचार बनाएर छापेको छ । जिल्लाको गौशाला नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा स्कुल बन्द गरेर बिहे भोज गरिएको हो । विद्यालय व्यवस्थापन समितिले बिहे भोजका लागि विद्यालयको स्थान उपलब्ध गराउने औपचारिक निर्णय नै गरेको समचारमा उल्लेख छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने भनेर अक्ध्सफोर्ड विश्वविद्यालयमा व्यक्त गरेको भनाइलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

नेकपा अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको समाचारमा उल्लेख छ ।

नागरिकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका लक्ष्मीनियाकुमारी दासको अभिभावकत्व लिए पनि त्यो पूरा नगरेको लेखेको छ । राउतले अभिभावकत्व नलिएपछि उनले जातीय विभेदका कारण विद्यालय नै छाडेको समाचारमा उल्लेख छ ।

राजधानीले लोकसेवाको विज्ञापन नरोकिने संकेत देखिएको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रमा प्रधानमन्त्रीको युरोप भ्रमणसँग सम्बन्धित सामग्रीले प्रमुखता पाएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment