Comments Add Comment

असुरक्षित भएको भन्दै डडेल्धुरा अस्पतालका सबै चिकित्सक विदामा

१ असार, डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरू विदामा बसेका छन्र । काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै उनीहरू विदामा बसेका हुन् ।

आइतबार अस्पतालमा कार्यरत ११ जना चिकित्सकले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई विदामा बस्ने पत्र बुझाएका हुन्।

मेडिकल सुपरिटेन्डेन्ट कँडेललाई बुझाइएको पत्रमा चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साटो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ।

चिकित्सकहरूले अस्पतालमा हुलदंगा गर्नेलाई कारबाहीको दायारामा नल्याएसम्म काममा फर्कन नसक्ने बताएका छन् । ‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाडोभन्दा चाडो कानुनी कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरु आजैबाट सामुहिक बिदामा बस्ने अवगत गराउँछौं,’ चिकित्सकहरुले मेसुलाई बुझाएको पत्रमा उल्लेख छ ।

बिदामा बस्ने चिकित्सकहरुमा डा. ललित सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभाष लामिछाने, विकास दुवाडी, बिभव वस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डा.डबल बुढा रहेका छन्।

अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६  का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो।

उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गरलगायतका नारा लगाउँदै शनिबार महिलाहरुले प्रशासन घेराउन गरेका थिए।

महिलाहरुले जुलुस निकाली प्रशासन घेराउ र अस्पताल घेराउ गरेका थिए। आफन्त र गाउँले पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडकसमेत अवरुद्ध पारेका थिए। बिहान १० बजेदेखि मृतकका आफन्तले दिउँसोसम्म सडक अवरुद्ध पारेका थिए।

‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ।

अपरेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ। तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ। – आशिष मल्लबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment