+
+
Shares

रेशम चौधरीको प्रश्न– गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:१२

१८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् ।

आइतबारबाट काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरे । चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण पनि गराए ।

‘आजका सभापति गगन थापा हुनुहुन्छ । तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौँ । हामीले पनि लाठी खायौँ, पानीका फोहोरा खायौँ । १९ दिने जनआन्दोलनमा हामीले पनि सहभागिता जनायौँ । त्यो आन्दोलनमा हामीले गणतन्त्र ल्यायौँ। त्यतिबेला हामीले नारा लगायौँ । नेपाली काँग्रेस जिन्दाबाद, हाम्रो नेपाल जिन्दाबाद । गणतन्त्र नेपाल जिन्दावाद । तर गगनजी, एउटा प्रश्न छ । त्यो १९ दिने जनआन्दोलनबाट गणतन्त्र प्राप्त भयो, तर गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ?,’ उनले भने ,

उनले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएको र गणतन्त्र ल्याउन लाठी तथा पानीको फोहरा खाएको स्मरण गर्दै गणतन्त्र प्राप्तिपछि पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको जिकिर गरे । चौधरीले नेपाली कांग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरे । उनले ६–७ प्रतिशत जनसंख्या ओगटेको थारू समुदाय अझै पनि राज्यको निर्णायक तहमा पुग्न नसकेको भन्दै प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भनि प्रश्न गरे ।

‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौं । हाम्रो पहिचानसँग कुनैपनि कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैंको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ । हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन्,’ उनले भने, ‘त्यति मात्र होइन, नेपालको संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसले संविधान निर्माणमा मात्र होइन, म सुदूरपश्चिमको र थारू समुदायको व्यक्ति भएकाले गर्वका साथ भन्न चाहन्छु । नेपाली कांग्रेसकै सरकारले कमैया मुक्ति अभियानलाई पनि अघि बढाएको थियो ।’

टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो मागलाई पुन: उनले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?