Comments Add Comment

विराटनगरको फोहोरमा कोरियाली कम्पनीको चासो, चिनियाँ कम्पनी आएन

२ असार, विराटनगर । विराटनगर महानगरपालिकाभित्र उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान खोज्न कोरियाली टोली विराटनगर आएको छ ।

कोरियाली इन्भेष्टमेन्टल इन्डष्ट्रिज एण्ड टेक्नोलोजी इन्स्टिच्युट (केइआइटिआई) को टोली विराटनगर आएको हो । नगरबाट निस्कने फोहोरलाई उर्जामा परिणत गर्ने विषयमा गुरुयोजना तयार पार्न कोरियन टोलीले काम सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कोरियन इन्भेष्टमेन्टल इन्डष्ट्रिज एण्ड टेक्नोलोजी इन्स्टिच्युट (केइआइटिआई) बीच गत जुन ६ मा विराटनगर र भरतपुर महानगरपालिकाको फोहोरको बारेमा अध्ययन गर्ने र सदुपयोगको बारेमा गुरु योजना बनाउने सम्झौता भएको थियो ।

इन्स्टिच्युटले १५ महिनाको अवधिमा डिपीआर तयार पार्ने जनाएको छ । दुवै महानगरपालिकाको फोहोरमैला अध्ययनका लागि कोरियाली कम्पनीले करिब ६ करोड रुपैयाँ खर्च गर्नेछ । कोरियाली कम्पनीले अध्ययनपछि फोहोर व्यवसस्थापन गर्न लगानीको स्रोत पनि जुटाउने मेयर पराजुलीले जानकारी दिए ।

चिनियाँ कम्पनी आएन

यसअघि विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि चिनियाँ कम्पनीले चासो देखाएको थियो । चाइना कोञ्च भेन्चर होल्डिङ लिमिटेडले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की सहितको टोलीलाई फोहोर व्यवस्थापन अध्ययनका लागि गर्न चीनको उहु प्रान्त बोलाएको थियो ।

६ महिनाअघि चीन पुगेर फर्किएको टोलीले चिनिया प्रविधि उपयुक्त हुने बताउँदै चिनियाँ टोलीलाई विराटनगरमा काम गर्न प्रस्ताव गरेको थियो ।

एकसाता लामो चीन भ्रमण पछि फर्किएका मेयर पराजुलीले पत्रकार सम्मेलन गरी फोहोरबाट उर्जा उत्पादन गर्न चिनियाँ टोली आउने बताएका थिए । सो कम्पनीले लगानी बोर्डमा प्रस्ताव पनि पेस गरेको थियो ।

तर लगानीबोर्डले कम्पनीलाई काम गर्न स्वीकृति नदिएको मेयर भीम पराजुलीले बताए । कम्पनीले विद्युतमा सहुलियत माग्दै प्रपोजल पेस गरेको थियो । तर सो कम्पनीले मागे बमोजिम सहुलियत दिन नसक्ने लगानीबोर्ड बताएपछि कम्पनी नआएको पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment