Comments Add Comment

बंगलादेशले हरायो वेष्ट इन्डिजलाई, हिरो बने शकिब हसन

३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले पराजित गरेको छ । यो सनसनीपूर्ण जित निकाल्न शकिब अल हसनले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे ।

३२२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमै तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । बंगलादेशका लागि शकिब अल हसनले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । उनले अविजित १२४ रन बनाए । ९९ बलको सामना गरेका सकिबले १६ चौका प्रहार गरे । उनकै शानदार प्रदर्शनमा बंगलादेशले जित हात पारेको हो ।

त्यस्तै लिटोन टासले अविजित ९४ रन बनाए । ६९ बल खेल्दै ८ चौका र चार छक्का प्रहार गरे । सकिब र लिटोनले १८९ रनको साझेदारी गरे । यी दुवै खेलाडीको अविस्मरणीय प्रदर्शनमा बंगलादेशको जित सम्भव भएको हो । त्यस्तै, तमिम इकबालले ४८ रन बनाउँदा सौम्या सरकारले २९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३२१ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको थियो । बंगलादेशका लागि यो हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य थियो । यसअघि न्यूजिल्याण्डले बंगलादेशलाई २४५ रनको लक्ष्य दिएको थियो ।

वेष्ट इन्डिजका लागि साई होप शतक बनाउनबाट चुके । उनी १२१ बलमा चार चौका र एक छक्काको मद्दतमा ९६ रन बनाएर आउट भए । त्यस्तै, इभिन लेविसले ७० र सिम्रन हिटम्यरले ५० रन बनाए । कप्तान ज्यासन होल्डरले ३३ रन बनाउँदा निकोलस पुरन २५ रनमा आउट भए ।

वेष्ट इन्डिजको सुरुवात राम्रो थिएन । क्रिस गेल १३ बल खेलेर शून्यमा आउट हुँदा वेष्ट इन्डिजको ६ रन थियो । लेविस र होपले ११६ रनको साझेदारी गर्दै वेष्ट इन्डिजलाई उकासेका थिए ।

बलिङतर्फ बंगलादेशका  मोहम्मद सइफुदिन र मुस्ताफिजुर रहमानले समान ३-३ विकेट लिए । त्यस्तै, शकिब अल हसनले दुई विकेट लिए ।

विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इन्डिजलाई हराएको पहिलोपटक हो र बंगलादेशका लागि यो हालसम्मको सबैभन्दा ठूलो जित पनि हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment