Comments Add Comment

डोनाल्ड ट्रम्पको पत्र पाएपछि किमले भने- असाधारण साहस

Photo Credit : AFP

८ असार, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् ।

ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

पत्रमा ट्रम्पले उल्लेख गरेका विषयवस्तुबारे केही बताइएको छैन । पत्र कहिले र कसरी प्रेषित गरियो भन्ने पनि गाेप्य छ ।

यसै साता अमेरिकासँग दुरी बढेको चीनका राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यसलगत्तै ट्रम्पले किमलाई पत्र पठाएको समाचार सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।

किमले ट्रम्पको पत्रलाई उत्कृष्ट र असाधारण साहस भन्दै प्रशंसा गरेका छन् । उत्तर कोरियाको केसीएनए न्युज एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले किमले पत्र प्राप्त गरेपछि गम्भीर विषयलाई गम्भीरतापूर्वक मनन गर्ने बताएको उल्लेख गरेको छ ।

यो महिनाको सुरुमा ट्रम्पले उत्तर कोरियाली नेतामार्फत किमलाई सुन्दर पत्र प्रेषित गरेको बताएका थिए ।

लामो समय तिक्त सम्बन्धमा रहेका अमेरिका र उत्तर कोरिया गत वर्षदेखि नजिकिएका छन् । यसबीचमा सिंगापुर र भियतनाममा शिखर वार्ता भइसकेको छ ।

अमेरिकाले परमाणु कार्यक्रम त्याग्न उत्तर कोरियालाई प्रस्ताव राख्दै आएको छ भने प्योङयाङले प्रतिबन्धका लागि राहत दिनुपर्ने माग राख्दै आएको छ । यही अडानका कारण भियतनाममा गत फेब्रुअरीमा भएको वार्ता विनानिष्कर्ष विराम लागेको थियो ।

यद्यपि, पछिल्ला केही महिनादेखि किमसँग हार्दिकतापूर्वक संवादको प्रयासमा ट्रम्प लागेका छन् । यो महिनाको सुरुवातमा ट्रम्पले किम अत्यधिक क्षमता भएको नेता भन्दै प्रशंसा गरेका थिए । मे महिनाको जापान भ्रमणका क्रममा पनि ट्रम्पले किमको प्रशंसामा शब्द खर्चिंदै भनेका थिए- किम तीक्ष्ण क्षमता भएका असाधारण युवा ।

बीबीसीकी सिउल संवाददाता लाउरा बिकरले ट्रम्पको पत्राचार र पछिल्ला घटनाक्रमलाई उपलब्धिका रुपमा विश्लेषण गरेकी छन् । दुई देशबीचको सम्झौता प्रयास असफल भएपछिको यो मुख्य प्रगति भएको उनको भनाइ छ । उत्तर कोरियासँग पत्र आदानप्रदान ट्रपको दक्षिण कोरिया भ्रमणको पूर्वसन्ध्यामा भएकाले यसलाई उल्लेखनीय मान्नुपर्ने विश्लेषण पनि उनले निकालेकी छन् ।

ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्दैछन् । भ्रमणका क्रममा उनले दक्षिण कोरियाली समकक्षी मुन जाई इनलगायतसँग भेटघाट गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment