Comments Add Comment

नक्कली ‘सगुन’सँग प्रेम, बिहे गरौं भन्दा मृत्युको खबर !

१० असार, काठमाडौं । दोलखाका २४ वर्षीय हरिबहादुर कार्कीलाई छिमेकी संगीता बस्नेतले म्यासेन्जरमा ‘सगुन’ को ‘प्रोफाइल लिंक’ पठाउँदै भनिन्, ‘सी लभ्स यू ।’

नेपाली सेनाका जागिरे कार्की बिहेका लागि उपयुक्त साथीको खोजीमा थिए । छिमेकीबाट आएको म्यासेजले उनलाई लोभ्यायो । तुरुन्त सगुनलाई फेसबुकमा साथी बन्न प्रस्ताव गरे ।

उनीहरुबीच कुराकानी हुन थाल्यो । काममा व्यस्त भएका कारण भेट्न जोड पनि गरेनन् । तर, सगुनसँग विवाह गर्ने योजना बुन्न थाले । ‘घरमा पनि कुरा भएको थियो’, कार्कीले प्रहरीसँग भनेका छन्, ‘बिहेका लागि जोरजाम गर्न घरपरिवार जुट्नु भएको थियो ।’

तर, अहिले उनी पीडा र खुशी छुटट्याउनै नसक्ने अवस्थामा छन् । पीडा यसकारण कि उनले एक वर्षसम्म प्रेम गरेर घरजम गर्ने सपना बुकेकी युवती त नक्कली पो रहिछन् । खुशी चाहिँ यसकारण कि ढिलै भए पनि नक्कली प्रेमिकाको झुटको पर्दा उघारिएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले कार्कीलाई सोधपुछका लागि बोलाउँदासम्म उनलाई सगुनमाथि कुनै शंका थिएन । नक्कली महिलालाई भेटेपछि भने सबै स्पष्ट भयो ।

यो पनि पढ्नुहोस ‘घरानियाँ’ युवतीलाई पछ्याउँदा ठगिए भारतीय व्यापारी

अर्कै घटनाको अनुसन्धानले खुलाएको रहस्य

आफू नक्कली युवतीसँग प्रेममा रहेको प्रहरीले कसरी थाहा पायो ? कार्कीले छक्क परेर प्रहरीसँग जिज्ञासा पनि राखेका छन् । यो घटनाबारे प्रहरीले थाहा पाउनुको रहस्य पनि रोचक छ ।

महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार केहीअघि एक युवती आफ्नो प्रोफाइलबाट तस्वीर डाउनलोड गरेर फेसबुकमा ‘फेक आइडी’ बनाइएको उजुरी लिएर आएकी थिइन् ।

अनुसन्धानका क्रममा दोलखाको सैलुङकी २३ वर्षीया संगीता भन्ने कल्पना बस्नेतले उनको तस्वीर दुरुपयोग गरेको खुल्यो । प्रहरीले बस्नेतलाई टेकुबाट दुई वटा मोबाइलसहित पक्राउ गर्‍यो । सोधपुछका क्रममा उनले सगुन नामको फेक आईडी बनाएर कार्कीलाई गुमराहमा पारेको खुल्यो । संगीता तिनै युवती हुन्, जसले छिमेकी हरिबहादुर कार्कीलाई ‘सी लभ्स यू’ भन्दै ‘सगुन’ को ‘प्रोफाइल लिंक’ पठाएकी थिइन् ।

साढे ४ लाख गुम्यो

कार्की प्रहरी कहाँ पुगेपछि थप रहस्य खुल्यो । संगीताले ‘सगुन’ नाममा फेसबुक आईडी बनाएर च्याट मात्र गरेका थिएनन्, फोनमा कुराकानी र ठगीसमेत गर्ने गरेकी रहिछन् । ‘फोनमा बोल्ने संगीताकै बहिनी हुन सक्छिन्’, महाशाखाका एक प्रहरी निरीक्षकले अनलाइनखबरसँग सुनाए, ‘त्यो पाटोमा पनि अनुसन्धान भइरहेको छ ।’

कार्कीका अनुसार उनले आगामी दशैंको छुट्टीमा बिहे गर्ने प्रस्ताव राखेका थिए । त्यसपछि ‘सगुन’को व्यवहारमा केही परिवर्तन आएको थियो । तर, आफूले गम्भीर रुपमा नलिएको उनले बताए ।

तर, एकाएक सगुन सवारी दुर्घटनामा परेको खबर आयो । त्यो सुनेर उनी विक्षिप्त थिए । त्यही बेला संगीता उनको सम्पर्कमा आइन् । ‘उहाँले तपाईंलाई माया गर्ने केटी दुर्घटनामा परेर अस्पतालमा उपचार भइरहेको छ, रकम पठाइदिनुस् भन्नु भयो’, कार्कीले प्रहरीसँग भनेका छन्, ‘छिमेकीले नै भनेको कुरा मैले कसरी नपत्याऊँ ?’

यो पनि पढ्नुहोस ठगीका १० शैलीः ओहोदाको कमाउ धन्दादेखि रियालिटी शोसम्म

संगीताको कुरा पत्याएर उनले ४ लाख ५५ हजार रुपैयाँ आईएमईमार्फत पठाए । रकम पठाएपछि ‘सगुन’सँग फोनमा बोल्ने र भेट्न आउने इच्छा व्यक्त गरे । तर, उनले टार्न खोजिन् ।

कार्कीको भेट्न आउने जिद्दी छाडेनन् । त्यसपछि संगीता बस्नेतले ‘सगुन’को उपचारका क्रममा मृत्यु भएको सुनाइन् ।

तर, यो सबै ठगीका लागि संगीताले रचेको खेल भएको खुलेको प्रहरी बताउँछ । ‘उहाँ हामीसँग रिपोर्ट गर्न आउनु भएको थिएन भने कार्की गुमराहमै रहने रैछन्’, ती अनुसन्धान अधिकृत भन्छन्, ‘उजुरी परेपछि कार्कीले एक वर्षसम्म नक्कली सगुनसँग प्रेम गरेको रहेछु भन्ने थाहा पाए ।’

संगीता विवाहित

अनुसन्धान अधिकृतका अनुसार फेक आईडी बनाएर सैनिक जवानलाई झुक्याउने संगीता विवाहित छिन् । उनको एक छोरासमेत छ ।

प्रहरीका अनुसार उनी पछिल्लो समय भक्तपुरको बालकोटमा बस्दै आएकी थिइन् । ‘कार्कीले आईएमईमा पठाएको पैसामा पनि भक्तपुर र कोटेश्वरबाटै निकालेको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘थप अनुसन्धान गर्दै जाँदा यसमा अन्यको संलग्नता पनि देखिन सक्छ ।’

महाशाखाले थप अनुसन्धान र मुद्दा दर्ताका लागि बस्नेतलाई काठमाडौं प्रहरी परिसर, टेकुको जिम्मा लगाएको छ । अनुसन्धान अधिकृतले यो घटनालाई ‘फिल्मी शैली’को भनेका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापा भन्छन्, ‘यस्ता घटना दैनिक सार्वजनिक भइरहेका छन् । अझै नागरिक सचेत नहुने हो भने विकराल स्थिति आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment