Comments Add Comment

सुरु भयो कमलपोखरीको पुनर्निर्माण, एक वर्षमा यस्तो बन्नेछ

१९ काठमाडौं, असार । करिब २४ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक कमलपोखरीको पुनर्निर्माण सुरु भएको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको शिलान्यास गरे । सम्पदा संरक्षणलाई महानगरले उच्च प्राथमिकतामा राखेको भन्दै उनले लामो समयदेखि स्थानीयले संरक्षण गरेको कमलपोखरीलाई पुनर्निर्माण गरेर थप आयु दिइने बताए ।

कार्यक्रममा कांग्रेस सांसद गगनकुमार थापाले कमलपोखरी पुनर्निर्माण समयमै सम्पन्न गर्न महानगर चनाखो हुनुपर्ने बताए । ‘कमलपोखरी अहिले पनि संरक्षित छ, यो स्थानीयको देन हो’ सांसद थापाले भने, ‘स्थानीयले गर्दा नै यो आज बाँचिरहेको छ ।’

महानगरले पुनर्निर्माणको नेतृत्व लिनु राम्रो भएको भन्दै उनले नक्साल भगवतीदेखि नागपोखरीसम्म अघि सारिएको सम्पदा पुनस्र्थापनाको कार्यक्रममा पनि महानगरले नेतृत्व लिनु पर्ने बताए ।

लागत अनुमान भन्दा ३ करोड कममा ठेक्का

कमलपोखरी पुनर्निर्माणको ठेक्का धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । ठेक्का सम्झौताअनुसार आगामी वर्षको असार १५ गतेसम्म निर्माण सम्पन्न गर्नु पर्नेछ ।
महानगरले कमलपोखरी पुनर्निर्माणका लागि भ्याटसहित ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ लागत अनुमान गरेको थियो । तर ठेकेदार कम्पनीले करिब ३ करोड कममै निर्माण सम्पन्न गर्ने कबुल गरेको छ । ठेकेदार कम्पनीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा (भ्याटसहित) मै निर्माण सम्पन्न गर्ने कबुल गरेको हो ।

एक वर्षमा निर्माण सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीले असार ६ नै कार्यदेश पाइसकेको छ ।

यो विषय नै चुनौती बन्ला कि भन्ने सांसद गगन थापा बताउँछन् । धेरै आयोजनामा ठेक्का पार्नकै लागि कम रकम कबुल गर्ने तर, पछि काम नगेर अलपत्र पारेको उनले स्मरण गरे ।

यस्तो बन्दैछ कमलपोखरी 

महानगरकाअनुसार अब कमलपोखरी, पोखरीको वरिपरि ठूला-ठूला ढुंगाको छापिएको सिंढी बनाइनेछ ।

पार्क अपाङ्गमैत्री बनाइने बताइएको छ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना-साना पोखरी हुनेछन् भने आगन्तुकलाई बस्न चौताराहरु निर्माण गरिनेछन् ।

पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्मभित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ भने व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँ समेत बनाइने महानगरले बताएको छ । महानगरका अनुसार पूर्वतिर मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment