Comments Add Comment

पाकिस्तानका क्रिकेटर शोएब मलिकले लिए सन्यास

Photo Credit : ICC

२१ असार, काठमाडौं । पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले भनेका छन्, ‘वर्ल्ड कपपछि वन डे करियरबाट सन्यास लिन्छु भनेर मैले पहिले नै भनेको थिएँ, आज म यहाँ यसको घोषणा गर्दछु । मेरा फ्यानहरुलाई धन्यवाद जसले मलाई समर्थन गरे । म सबैलाई माया गर्छु ।’

शोएब मलिकको सन्यासको घोषणापछि उनी पाकिस्तान र भारतमा ट्वीटर टे्रन्डमा छन् । फ्यानहरुले ‘थ्यांक्यू मलिक’ ह्यासट्यागका साथ उनका उपलब्धीहरुको सराहना गरिरहेका छन् ।

शोएब मलिकले सन् १९९९ अक्टुबरमा वेष्टइन्डिजविरुद्धको खेलबाट वन डे करियर सुरुवात गरेका थिए । उनले पाकिस्तानका लागि कुल २८७ खेल खेले । नौ शतक र ४४ अर्धशतकका साथ उनले ७ हजार ५ सय ३४ रन बनाए । उनले १५८ विकेट पनि लिए ।

शोएब मलिक पाकिस्तानको टेस्ट र टी-२० टिमको सदस्य पनि रहे । उनले कुल ३५ टेस्ट म्याच खेले भने तीन शतक र ८ अर्धशतकका साथ कुल १ हजार ८९८ रन बनाए । १११ टी-२० म्याचमा उनले सात अर्धशतकका साथ २ हजार २६३ रन बनाए ।

शोएब मलिकले अन्तिम वन डे जारी विश्व कपमा भारतविरुद्ध १६ जुन खेलेका थिए । यो म्याचमा उनी पहिलो बलमै शून्य रनमा आउट भएका थिए । त्यो खेलमा पाकिस्तान ८९ रनले पराजित भयो ।

भारतविरुद्धको खेलमा पराजित भएपछि ३७ वर्षीय मलिक आलोचकको निशानामा परेका थिए । त्यसपछि जारी विश्वकपमा शोएब टिम बाहिर रहे । शुक्रबारको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो । शोएबले मलिक यो खेलमा पाकिस्तानको प्लेइङ इलाभेनको सदस्य थिएनन् । बंगलादेशविरुद्ध पाकिस्तान विजयी भएपछि शोएब मलिक मैदानमा आएपछि पाकिस्तानी टिमका सबै खेलाडिहरुले दुईतिर उभिएर उनलाई सम्मानस्वरुप गार्ड अफ अनर दिए ।

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा हुँदा अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्डको स्थान पक्का भएको छ । शुक्रबार बंगलादेशलाई जिते पनि नेट रन रेटमा न्युजिल्याण्डभन्दा पछि परेर पाकिस्तान वर्ल्ड कपबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment