Comments Add Comment

युएईमा एक नेपालीलाई कार उपहार

युएई । छुट्टीमा घर गएका काठमाडाैं साँखुस्थित थलीका नवीन पाण्डेको मोवाइलमा सोमबार युएईको नम्बरबाट फोन आयो । उनी घरबाहिर रहेकाले श्रीमती सरिताले फोन रिसिभ गरिन् । त्यो फोन थियो अल अहलिया एक्सचेन्ज युएईको । एक्सचेन्जका प्रतिनिधिले शुरुमै उनलाई बधाई दिए। फोनमा भनियो , ‘तपाईंको श्रीमानलाई युएईमा कार उपहार परेको छ । तपाईंहरुलाई बधाई छ ।’

सरिताले त्यो कुरा विश्वास गरिनन् र फोनबाट कसैले ठग्न खोजेको ठानेर उनी सर्तक बनिन् । एक्सचेन्जका प्रतिनिधिले विस्तारै खुलाउँदै गए। ‘गएको ५ मेबाट ३ जुलाईसम्म चलाइएको समर प्रोमोसन अफरमा पैसा पठाउनेमध्ये सोमबार भएको ‘मेघा ड्र’मार्फत नवीन पाण्डेको नाममा कार उपहार परेको छ ,’ एक्सचेन्जका प्रतिनिधिले अघि भने ।

विभिन्न उपहार परेको प्रलोभन देखाएर पैसा असुल्ने गरेको खबर सामाजिक संजालमा सुनेकाले सरिताले हतपत यो कुरा विश्वास गर्न सकिनन् । नवीन घर बाहिर थिए। साँझपख पुनः फोन गरेर उनलाई सबैकुरा सुनाइयो । सुरुमा उनले पनि यो पत्याउन सकेनन् ।

युएई  रहँदा विभिन्न माध्यमबाट चिठ्ठा परेको भन्दै फोन र म्यासेज उनका मोवाइलमा आउने गर्थ्यो । सोही ठानेर उनी पनि सजक बने । तर, एक्सचेन्ज प्रतिनिधिले उनले पैसा पठाएको र उपहार पाएको आधिकारिक प्रमाणबारे जानकारी गराएपछि विश्वास भयो ।

यो सुनेपछि अहिले नवीनको परिवारमा खुशी चुलिएको छ । घरमा सबैभन्दा धेरै खुशी बुबा र छोरो भएकोे उनले अनलाइनखबरसँग बताए ।

नवीन ६ वर्षदेखि यूएईमा कार्यरत छन् । दुबईको रिटर्ज कार्टोलन होटलमा कार्यरत उनी भाइको विवाहका लागि १० दिनको छुट्टीमा नेपाल गएका हुन् ।

नवीन पाण्डे ।

उनको संयुक्त परिवार छ । बुवा आमा, दाजु भाउजु ,भाइबुहारी, श्रीमती र एक छोरा । आफ्नै कस्मेटिक पसलमा परिवारका सदस्य काम गर्छन् ।

पसलको कमाइले परिवारको गुजारा चलिरहेको छ। परिवारलाई अझै खुशी दिने योजना लिएर युएई आए । उनी दुबईको पाँचतारे होटलमा आउने भीआइपीहरुलाई सवार गराउँछन् ।

नवीनले ५ वर्षदेखि अल अहलिया एक्सचेञ्जबाट आफन्ताई पैसा पठाँउदै आएका छन् । ‘यो समयमा एक्सचेन्जबाट कहिले फोन आएको थिएन,’ उनले सुनाए ।

जुलाई १ मा दुबई अलकुजमा रहेको एक्सचेन्जको शाखाबाट श्रीमतीको नाममा नेपाल पैसा पठाउँदा उनको भाग्य चम्कियो।

उनले निशानको कार जितेका छन् । उक्त कार हालको युएई मूल्य अनुसार ५० हजार दिराम (१५ लाख रुपैँया ) पर्छ । नवीन आगामी साता युएई फर्कने छन्। त्यसपछि उनले पाएको कार उपहार हस्तान्तरण गरिने एक्सचेन्जका नेपाल बजार प्रमुख बेनीमाधव ढकालले जानकारी दिए ।

विजेताले कारको सट्टामा नगद लिन चाहेमा कार कम्पनीसँगको सम्झौता अनुसार नगद लिन सक्ने उनले बताए ।

वैधानिक रूपमा पैसा पठाउन आग्रह

सोमबार एक्सचेन्जको दुबई शाखामा स्थानीय निकायका प्रतिनिधि र एक्सचेन्जका विभिन्न शाखाका प्रमुखहरुको उपस्थितिमा लक्की ड्र गरिएको थियो।

एक्सचेन्जले मे ५ देखि जुलाई ३ तारिखसम्म आफ्ना ग्राहक लक्षित समर प्रोमोसन योजना ल्याएको थियो । यो योजनमा एक केजी सुन र १० वटा कार उपहार राखिएको थियो ।

एक केजी सुन भने पाकिस्तानी नागरिकले जितेका छन् । नेपाली नागरिक पाण्डेसहित अन्य ५ जना भारतीय र पाकिस्तान, बंगलादेश, श्रींलका र फिलिपिन्सका १/ १ जनाले निशान कार जितेको ढकालले जानकारी दिए ।

युएईमा रहेका विभिन्न रेमिट्यान्सको स्किम योजनामा हालसम्म ४ जना नेपालीले ठूलो उपहार जितेका छन्। लक्की ड्र कार्यक्रममा जनरल म्यानेजर कमल सुब्बा, डेभलपमेन्ट एण्ड रिसर्च म्यानेजर सलमान खालिद, डेपुटी अपरेसन म्यानेजर सन्तोष नाहिर, बिजनेश डेभलपमेन्ट म्यानेजर अमिर इक्वाल र नेपाल प्रमुख बेनीमाधव ढकाल लगायतको उपस्थिति थियो ।

एक्सचेन्जका जनरल म्यानेजर सुब्बाले वैधानिक बाटो प्रयोग गर्दा फाइदा हुने जनाउदै सबैलाई वैधानिक तवरले पैसा पठाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment