Comments Add Comment

प्राकृतिक चिकित्सालयमा आधुनिक भवन बन्दै

२४ असार, चितवन । नवलपुरको रजहर सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन निर्माण भइरहेको छ ।

गण्डकी प्रदेश सरकारबाट प्राप्त एक करोड रुपैयाँको लागतमा ४० कोठाको भवन निर्माण अघि बढेको छ । तीन सय जना वेड क्षमता भए पनि उपचार कक्ष सानो भएकाले आधुनिक उपचार भवन निर्माण गर्न लागेको व्यवस्थापक हरि सापकोटाले बताए ।

हाल चिकित्सालयमा ८० जनाले मात्रै उपचार गराउन सक्छ । प्रदेश सरकारले गत बर्ष नै ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । यो रकमबाट उपचार कक्ष भवनको क्षमता बढाइएको थियो । चिकित्सालय खाना खाने कक्ष विस्तारका लागि देवचुली नगरपालिकाले १५ लाख रुपैयाँ दिएको छ । सो रकमबाट भवन निर्माण भइरहेको छ ।

चिकित्सालयसँग हाल ७२ कोठाको विरामी आवास भवन निर्माण गरिएको छ । चिकित्सालयले यसै बर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा तीन बर्षे योग र प्राकृतिक चिकित्सामा डिप्लोमा कोर्ष सञ्चालन गर्ने तयारी गरेको छ । सो पश्चात मेडिकल कलेजको अवधारणामा अघि बढ्ने अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए । यसै बर्ष तीन सय जना अट्ने सक्ने योग ध्यान कक्ष निर्माण सुरु गरिने उनले जानकारी दिए ।

बार्षिक चार हजारले लिए सेवा

आवासीय सुविधासहित उपचार गरिने प्राकृतिक चिकित्सालयमा २०७५ साउनदेखि २०७६ असारसम्म चार हजार जनाले उपचार गराएका छन् । चिकित्सालयमा अहिले ४ जना आवासीय चिकित्सक कार्यरत छन् । चिकित्सालयले विरामीसँग उपचार, खाना र आवाससहित प्रतिदिन नौसय रुपैयाँ लिँदै आएको छ ।

चिकित्सालयले ११० जना वृद्धवृद्धालाई राख्न मिल्ने आधुनिक सुविधा भएको वृद्धाश्रम निर्माण थाल्ने योजना पनि बनाएको निर्देशक डा. विनोद पौडेलले जानकारी दिए । चिकित्सालयले १० वर्षभित्र ३ सय शैय्याको चिकित्सालय सञ्चालन गर्ने योजना बनाएको निर्देशक डा. पौडेलले बताए ।

‘समुदाय र सरकारको सहयोगमा चिकित्सालयलाई तीन सय शैय्या क्षमतामा सञ्चालन गर्ने योजना अनुरुप अघि बढेका छौं’ डा. पौडेलले भने, ‘सम्भवत नेपालमा नै सबैभन्दा ठूलो र नेतृत्वदायी भूमिका खेल्ने प्राकृतिक चिकित्सालय यही नै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment