Comments Add Comment

छवि ओझाको प्रतिक्रिया : शिल्पासित झगडा भएको हो, कुटपिट होइन

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् ।

आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ ।

शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ । यस विषयमा छलफल गर्न प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएको थियो ।

आफू प्रहरी परिसर पुगे पनि शिल्पा नआएकाले हिजो छलफल हुन नसकेको छविले बताए । ‘उहाँ हिजो आउनुभएन, त्यसैले प्रहरीले आज बोलाएको थियो । तर म अस्वस्थ भएर आज जान सकिनँ,’ छविले भने ।

छविको भनाइअनुसार गत ८ असारमा दिउँसोको खाना खाएपछि उनीहरुबीच घरायसी विषयमा झगडा भएको थियो । त्यसपछि एकाएक शिल्पा स्कुटर लिएर घरबाट निस्किएको उनले बताए ।
‘दिउँसो उनी स्कुटर लिएर निस्किइन् । बेलुका पाँच बजे विकास रौनियार (शिल्पाको बनाएको दाइ) र सम्झना उप्रेती रौनियार (विकासकी पत्नी) आए र उनको लुगाफाटो लिएर गए,’ छविले भने ।

आफूहरुको सम्वन्ध बिगार्न सम्झना र विकासले भूमिका खेलेको उनले दाबी गरे । सम्झनाले भने शिल्पामाथि भौतिक आक्रमण नै भएपछि आफूहरुले हस्तक्षेप गर्नुपरेको बताइन् । उनले भनिन्, ‘उहाँले घाँटी न्याक्नुका साथै कानको जाली फुट्ने गरी पिट्नुभएछ । हामीले कन्यादान दिएर पठाएकी बहिनी गुहार माग्दै आएपछि हामीले संरक्षण नदिने कुरा आउँदैन ।’

छविको घर छोडेर आएपछि शिल्पा आफूहरुसँगै रहेको उनले बताइन् । तर, प्रहरीमा उजुरीका लागि आफूहरुले नउक्साएको सम्झनाको भनाइ छ । ‘प्रहरीमा जाने उनको निर्णय हो, हामीले यसमा कुनै भूमिका खेलेका छैनौं,’ उनले भनिन् ।

पिटेर कानको जाली फुटेको विषयमा प्रश्न गर्दा छविले ठाडै अस्वीकार गरे । ‘यदि मैले त्यसरी पिटेको भए तुरुन्तै प्रहरीमा जानुहुन्थ्यो होला । १५ दिनसम्म किन जानुभएन ?’ उनले भने, ‘यो बीचमा उहाँ विभिन्न सार्वजनिक कार्यक्रममा देखिनुभएको छ । करिश्माजीको पार्टीमा जानुभएको थियो । स्टारमलमा दिनभरी बस्नुहुन्छ । मैले थला पर्ने गरी पिटेको भए कसैलाई त भन्नुहुन्थ्यो होला ।’

लगातार चार वटा वैवाहिक सम्वन्धलाई सम्हाल्न नसक्दा आफूमा केही कमजोरी पाउनुहुन्न ? भन्ने प्रश्नमा छविले भने, ‘उहाँलाई मेरो सबै पृष्ठभूमि थाहा थियो । थाहा भएरै मसित सम्बन्ध गाँस्न आउनुभएको हो । उहाँलाई मैले नै फिल्म उद्योगमा स्थापित गराएँ । तर उहाँले नै मलाई आज जीवनमा पहिलोपटक प्रहरी कार्यालय धाउन वाध्य बनाउनुभयो ।’

स्रोतका अनुसार शिल्पाले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि उनले विवाद सुल्झाउन विभिन्न व्यक्तिसँग सहयोग मागेका थिए । चलचित्र संघ र निर्माता संघमा पनि पुगेका थिए । तर, शिल्पालाई आफैंले फोन चाहिँ गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment