Comments Add Comment

जनकपुरमा अस्पतालसमेत डुवानमा, सर्लाहीका १५० परिवारलाई सारियो

२७ असार, जनकपुरधाम । निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेको छ ।

भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको छ भने घर–घरसम्म पानी पसेको छ । तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ ।

जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, बाह्रबिघा मैदान, विमानस्थल, जिल्ला हुलाक कार्यालय, प्रदेश २ को स्वास्थ्य निर्देशनालय पनि डुबानमा परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिकै सडकमा पानी जमेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा १ देखि २ फिटसम्म पानी जमेको छ ।

प्रदेश प्रहरी प्रवक्ता ज्ञानकुमार महतोले प्रदेश अन्तर्गतका मुख्य नदीहरुको जलस्तर बढेको बताए । कोशी, बलान, कमला, बकैया नदीको जलस्तर बढेको हो ।

बरहथवाका १५० परिवारलाई सारियो

सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित गाउँ नै डुबानमा परेको छ । गाउँमा जमेको पानीको निकास नहुँदा स्थानीय १ सय ५० परिवारलाई नजिकैको विद्यालयमा सुरक्षित तरिकाले राखिएको छ ।

सप्तरीमा सडक अवरुद्व

सप्तरीको दक्षिणी क्षेत्रका गाउँहरुमा पानी पसे पनि खतराको अवस्था नरहेको प्रहरीले जनाएको छ । खाँडो नदीमा आएको बाढीका कारण राजविराज–कुनौली सडक खण्ड अन्तर्गत तिलाठी–कोइलाडी १ मा बाटो भत्किएको छ । बाटो कटान गरेका कारण सबारी आवागमन पूर्णरुपले ठप्प भएको छ । सप्तरीसहित खाँडोसहित खड्ग, सुन्दरी, बलानसहितका नदीहरुको जलस्तर बढेको छ ।

सिरहाका कार्यालयहरु डुबानमा

निरन्तरको बर्षाले सिरहा जिल्ला पनि प्रभावित भएको छ । सदरमुकाम सिरहासहित गोलबजार र लहान नगरपालिका पनि डुबानमा परेको छ । सिरहा नगरपालिकाका बजार क्षेत्रका साथै सरकारी कार्यालयहरु समेत डुबानमा परेको छ ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन/चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment