Comments Add Comment

२० यार्डको मैदानमा हुर्किएका क्रिकेटर !

लेग साइड हाने आउट

२९ असार, काठमाडौं । ‘तपाईंको छोरो त मुङ्ग्रो बोकेर हिँड्छ’ सागर ढकाललाई क्रिकेटको रहरले छुँदा गाउँलेहरु यसरी परिवारलाई कुरा लगाइदिन्थे । तै पनि उनले ‘मुङ्ग्रो’ बोक्न छाडेनन् । गुल्मी कुमालडाँडाको साँघुरो मैदानमा मात्रै होइन, काठमाडौं आएर पनि सागरले त्यही मुङ्ग्रोको खेल नै रोजे ।

उनै सागर अहिले नेपाली क्रिकेटको भविश्य मात्रै बनेका छैनन्, क्रिकेटमा नै भविष्य देखाएका पनि छन् ।

गुल्मीको सत्यवती गाउँपालिका-५ मा जन्मिएका सागरको बाल्यकाल खेलाडी बन्ने बाटोमा थिएन । तर उनको रहरले भने उनको खेललाई पछ्याइरहेको थियो ।

कुमालडाँडा विद्यालयमा भलिबल खेल्ने करिब २० यार्डको मैदानमा चल्थ्यो सागरको क्रिकेट । बजारबाट किनेर लगेको टेनिस बल, अनि आफैंले रुख काटेर बनाएको ब्याट ।

त्यो साँघुरो मैदानमा चलेको क्रिकेट सम्झँदा अहिले पनि सागर अचम्ममा पर्छन् । साँघुरो मैदानमा बल डाँडातिर गए छक्का, विद्यालय कट्यो भने आउट ! हुन पनि लेग साइडतिर झाडीमा बल पुग्यो भने भेट्न मुस्किल नै हुन्थ्यो ।

यस्तै अनौठा नियमसँगै सानो मैदानमा टेनिस बल हानेर हुर्किएका सागरको क्रिकेट अहिले अन्तर्राष्ट्रिय मैदानमा पुगेको छ ।

मलेसियामा भर्खरै सम्पन्न एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्रीय छनोट प्रतियोगिता नेपालले जित्दा सागरको भूमिका पनि निर्णायक रहृयो । चार खेलबाट १५ विकेट लिएका उनी प्लेयर अफ द टुर्नामेन्ट पनि बने । उनले चीनविरुद्ध ६, हङकङविरुद्ध पाँच, मलेसियाविरुद्ध तीन र सिंगापुरविरुद्ध एक विकेट लिए ।

प्रतियोगिता सुरु हुनुअघिसम्म आˆनो प्रदर्शन कस्तो रहन्छ भन्ने केही नसोचेको सागर बताउँछन् ।  ‘म टिमको मुख्य स्पिनर हुँ, त्यही अनुसार मैले राम्रो गर्नु पर्छ भन्ने थियो । हरेक खेलमा सय प्रतिशत दिन्छु भन्ने थियो’ उनले भने, ‘तर प्लेयर अफ द टुर्नामेन्ट नै हुन्छु जस्तो चाहिँ लागेको थिएन ।’

मलेसियाको सनसनीपूर्ण प्रदर्शनका सागर सिनियरदेखि समर्थकसम्म सबैको नजरमा परेका छन् ।

उनी पनि आफूलाई थप प्रमाणित गर्न आतुर छन् । ‘यसपटक हाम्रो समग्र प्रदर्शन राम्रो भयो । मेरो खेल पनि राम्रो भएको हो । हाम्रो लागि यो प्रतियोगिता भन्दा महत्वपूर्ण एसिया कप हो । त्यसमा पनि राम्रो गर्नुपर्छ’ सागरले विश्वास व्यक्त गरे ।

खेलमा अवसर यस्तो चिज हो, जुन पटक पटक आउँदैन । कसैले पाएको अवसरलाई सहि समयमा सदुपयोग गर्न सक्छन्, कसैले सक्दैनन् । त्यस्तै अवसर आउँदा सागरले भने न्याय गरेका छन् । मैले सक्छु भन्ने देखाएका छन् । ‘इपीएल, पीपीएल, डीपीएल हुँदै प्रधानमन्त्री कप खेल्दा १/२ पटक राम्रो नगरेपछि अर्को पटक मौका पाउने सम्भावना न्युन हुन्थ्यो । त्यसैले राम्रो गर्न प्रयास गरेँ’, उनले भने ।

जब प्रशिक्षकले बलिङ मात्रै गर भने

काठमाडौंमा क्रिकेट पछ्याउने र खेल्न मन पराउने युवा पुस्ताका लागि टुँडिखेल, सिफल चौर खेल मैदान हुन् । धेरै नेपाली खेलाडीले टुडिँखेल र सिफलमै खेलेर आफ्नो खेल निखारेका छन् । सागर पनि उनीहरु मध्ये एक हुन् ।

पढ्नका लागि गुल्मीबाट काठमाडौं छिरेका सागरको क्रिकेट मोह र संगतले सिफलतिरै डोर्‍याएको थियो । त्यही मैदानबाटै उनको खेल ग्रेट हिमालयन क्रिकेट एकेडेमीसम्म पुग्यो । साथीकै लहलहैमा एकेडेमीमा २०७३ सालमा पुगेका उनी त्यसपछि मात्रै आफ्नो वास्तविक क्रिकेट यात्रा सुरु भएको बताउँछन् । भन्छन्, ‘साथीहरुसँग रमाइलोका लागि सिफलमा क्रिकेट खेल्ने गरिन्थ्यो । सुसान तिम्सिना भन्ने साथीले मलाई ग्रेड हिमालयन क्रिकेट एकेडेमीमा जाउँ भनेर लगेको हो । त्यहीँबाट मेरो क्रिकेट करिअर सुरु भयो ।’

एकेडेमीमा आवद्ध भएपछि दैनिक क्रिकेट सिक्दै गए, बझ्दै गए । सुरुमा बलिङ ब्याटिङ दुवै गर्थे । उनी ब्याटिङ गर्न मन पराउँथे । प्रशिक्षक रुपेश श्रीवास्तवले बलिङतिर मोडिदिए । ‘म नेटमा बलिङ अभ्यास गरिरहेको थिएँ । रुपेश दाइले आजदेखि तँ ब्याटिङमा भन्दा बलिङमा ध्यान दिन्छस् भन्नुभयो,’ सागरले भने । उनले रुपेशको निर्देशनलाई स्वीकार त गरे तर ब्याटिङ गर्न भने छाडेनन् । बलिङ राम्रै थियो । ब्याटिङ अझ सुधार्न चाहन्थे उनी ।

एकेडेमीको नयाँ प्रशिक्षकमा नरेश बुढायर आएपछि उनी पूर्णरुपमा बलर बने, त्यो पनि स्पिनर ।

‘उहाँले मैले बलिङ गरेको देखेपछि तैले अब ब्याटिङ छोेड्, बलिङमा मात्रै ध्यान दे । तब राम्रो हुन्छ भन्नुभयो । राष्ट्रिय खेलाडीले नै त्यसो भनेपछि मलाई पनि गर्नसक्छु कि जस्तो लाग्यो । त्यसपछि बलिङमा मात्रै ध्यान दिएँ,’ सागर सुनाउँछन् ।

‘मुंग्रो बोकेर हिँड्छ रे  !’

सागर सुनाउँछन्, गुल्मीमा खासै क्रिकेटको चहलपहल थिएन । त्यही भएन उनले क्रिकेटमा रहर गर्दा ‘केटा विग्रियो, अल्लारे बनेर हिँड्यो’ भन्नेको कमि थिएन  ‘तेरो छोराले मुंग्रो बोकेर हिँड्छ, त्यो बिग्रियो भनेर घरमा बाबा-आमालाई गाउँकाले पहिले भन्थे,’ सागर भन्छन्, ‘तर मैले खेल्न भने छाडिनँ ।’

एक दाइ र चार दिदीका एक्ला भाइ सागरलाई बाबाले पनि पढेर पुलिस इन्स्पेक्टर भएको हेर्न चाहन्थे । तर बाबाको रहरलाई सागरको क्रिकेट मोहले जित्यो ।

विगत सम्झिँदा सागर आफैंलाई रमाइलो लाग्छ । न मिलेको मैदान हुन्थ्यो, न खेल सामाग्री  । रुख काटेर ब्याट बनाएको र रबरको बलदेखि मोजाको बल बनाएको प्रशस्तै याद उनीसँग छन् । ‘गाउँमा धेरे खेल्ने भनेको डन्डीबियो या गुच्चा हुथ्यो । ‘पछि दाइहरुले क्रिकेट खेल्न थालेपछि मैले पनि खेल्न थालेँ । त्यहाँदेखि अहिलेको अवस्थामा पुग्दा त आफैं दंग पर्छु,’ उनले सुनाए ।

यसरी हुर्किएका सागर काठमाडौंमा आएपछि एकेडेमी मात्र गएनन्, पूर्णरुपमा क्रिकेटमा होमिए ।

अघिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेट खेलेपछि त सागरको क्रिकेट रहर अझ बलियो बन्यो । त्रिवि क्रिकेट मैदानमा खेल्दै गर्दा गुल्मीमा परिवारले प्रत्यक्ष हेरिरहेका थिए । त्यहाँबाट उनले घरबाट पनि पूर्णरुपमा साथ पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment