Comments Add Comment

पर्यटक आगमनमा झिनो सुधार, ६ महिनामा ५ लाख ८५ हजार आए

१ साउन, काठमाडौं । सन् २०१९ को ६ महिना अवधिमा नेपाल आउने पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा सामान्य बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार ६ महिना (जनवरी–जुन) मा कूल ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक आएका थिए । अघिल्लो वर्षको तुलनामा १२.६० प्रतिशत बढी पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । सन् २०१८ मा २५ प्रतिशतले पर्यटक आगमन बढेको थियो ।

यस वर्षको ६ महिने अवधिको वृद्धिदर भने सुस्त रह्यो । सन् २०१९ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को आधार वर्ष पनि हो । तर, पर्यटनमा उत्साहजनक खबर प्रवाह गर्न नसकेको नेपालमा अहिले मासिक १ लाख पर्यटक भित्र्याउनसमेत मुस्किल देखिएको छ ।

यस अवधिमा ४ लाख ९० हजार ५ सय ३४ जनाले हवाई मार्ग प्रयोग गरी नेपाल आएका छन् भने ९४ हजार ९ सय ९७ पर्यटक भने स्थलमार्गबाट नेपाल भित्रिएका छन् । स्थलमार्गबाट भित्रने भारतीय नागरिकलाई भने पर्यटकमा गणना गरिदैन ।

बोर्डको तथ्यांकअनुसार ६ महिना अवधि भित्रमा यूरोपबाट आउने पर्यटकको संख्या केवल २.३२ प्रतिशतले मात्र बढेको छ । अष्टे«लिया र न्यूजिल्याण्डबाट पनि गत वर्षकै हाराहारीमा पर्यटक भित्रिएका छन्, जसले गर्दा समग्र पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिन सकेको छैन । सार्क मुलुकबाट पनि पर्यटक आगमन खस्किएको छ ।

यस अवधिमा बंगलादेश र पाकिस्तान आउने पर्यटक ओरालो लागेको छ । तर, श्रीलंकाबाट भने गत वर्षको तुलनामा ५२.४१ प्रतिशत पर्यटक बढी आएका छन् ।

बौद्धमार्गी देशबाट बढी पर्यटक

६ महिनामा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी उत्साह बौद्धमार्गी बाहुल्य जनसंख्या भएको देशबाट देखिएको छ । श्रीलंकासँगै थाइल्याण्ड र चाइनिज ताइपेइबाट पनि पर्यटक आगमन बढेको छ ।

चीनबाट १९.५३ प्रतिशत पर्यटक बढ्दा भारतबाट भने केवल ७.३६ प्रतिशत मात्र पर्यटक बढेको तथ्यांक छ । नेपाल पर्यटन बोर्डले भने ६ महिनामा देखिएको वृद्धिदरलाई सकारात्मक भनेको छ । युरोपमा सिधा उडान नहुँदाको असर पर्यटक आगमनमा देखिन्छ ।

कहाँबाट कति पर्यटक आए ?

क्षेत्र सन् २०१८ सन् २०१९ वृद्धि प्रतिशत
सार्क १३१७३० १४४९५७ १०.०४
एसिया (सार्कबाहेक) १४४०३५ १७४०२७ २०.८२
यूरोप १०२४०४ १०४७८३ २.३२
आसियाना १८६७३ १८७९० ०.६३
अमेरिकी मुलुक ५२१६३ ५७३५४ ९.९५
अन्य ७१००९ ८२६६२ १६.४१
कुल ५२००१४ ५८५५३१ १२.६०

स्रोत : नेपाल पर्यटन बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment