+
+
Shares
अनुभूति :

ओशो तपोवनमा मनभित्रको भिडसँग साक्षात्कार

सायद ध्यानको सबैभन्दा ठूलो उपलब्धि समस्या हटाउनु होइन, समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण बदल्नु हो।

राजेन्द्र पंगेनी राजेन्द्र पंगेनी
२०८३ असोज १९ गते ८:२९

आजको संसारमा मानिसका चुनौतीहरू पहिलेभन्दा जटिल हुँदै गएका छन्। व्यक्तिगत सम्बन्धदेखि सामाजिक जीवनसम्म, आर्थिक सुरक्षादेखि व्यावसायिक प्रतिस्पर्धासम्म हरेक क्षेत्रमा अनिश्चितता र दबाब बढिरहेको छ।

सफल हुन हामीसँग प्रतिभा, सीप, शिक्षा र अनुभव भएर मात्र पुग्दैन। सही अवसर र सही समयको प्रतीक्षा गर्दागर्दै पनि हाम्रो ऊर्जा, आत्मविश्वास र मानसिक सन्तुलन कायम राख्नुपर्ने हुन्छ।

कहिलेकाहीँ हामीसँग क्षमता हुन्छ, तर अवसर हुँदैन। अवसर आउँछ, तर समय अनुकूल हुँदैन। मिहिनेत गर्छौं, तर अपेक्षित परिणाम आउँदैन। सम्बन्धहरू हामीले सोचेझैं चल्दैनन्। आर्थिक र व्यावसायिक दबाब थपिँदै जानछ। अनि बिस्तारै बाहिरबाट सामान्य देखिने मानिसभित्र बेचैनी, निराशा, तनाव, रिस, असन्तुष्टि र एक किसिमको अदृश्य थकान जम्मा हुन थाल्छ।

हामी शरीरको स्वास्थ्यप्रति निकै सचेत छौं। नियमित स्वास्थ्य परीक्षण गर्छौं, व्यायाम गर्छौं, खानपानमा ध्यान दिन्छौं। तर त्यही शरीरलाई चलाउने मन थाकेको छ कि छैन ?, भावनाहरू स्वस्थ छन् कि छैनन् ? हामीभित्र अनावश्यक तनाव र बेचैनी कति जम्मा भएको छ ? भन्ने प्रश्न भने प्रायः सोध्दैनौं।

सायद यही कारणले आज ध्यान र मानसिक स्वास्थ्यको चर्चा पहिलेभन्दा बढी आवश्यक भएको छ। यही पृष्ठभूमिमा मेरो हालसालैको एक हप्ताको अनुभव र वैज्ञानिक अध्ययनहरूले देखाएका प्रमाणका आधारमा जीवनमा ध्यान किन आवश्यक छ ? भन्नेबारे यो लेखमा चर्चा गर्नेछु।

ओशो तपोवन र ध्यानसँगको पहिलो साक्षात्कार

अमेरिकाबाट नेपाल फर्किएको करिब चार महिनापछि म दोस्रोपटक ओशो तपोवन पुगें। एक हप्ताको ध्यान शिविरमा सहभागी हुने यो अवसर मेरो लागि विशेष थियो; किनकि ओशो तपोवनसँगको मेरो पहिलो साक्षात्कार करिब दुई दशकअघि भएको थियो।

त्यतिबेला म स्नातकोत्तर अध्ययन र आफ्नो काममा व्यस्त थिएँ। अध्ययन र कामको चाप थियो, आफ्नै सपना थिए, अपेक्षाहरू थिए र भविष्यप्रति अनेक प्रश्न थिए। त्यही समयको ध्यानले मलाई आफ्नो भविष्य, काम, अध्ययन र सपनाहरूसँग अझ गहिरो साक्षात्कार गर्न तथा आफूभित्र संयम र धैर्य कायम राख्न धेरै हदसम्म सहयोग गरेको थियो।

जीवनका ती दिनमा ध्यानले मलाई बाहिरी संसारभन्दा केही समयका लागि आफूभित्र फर्किएर हेर्न सिकाएको थियो।

आजको युवा पुस्ता सम्भवतः इतिहासकै सबैभन्दा धेरै अवसर र सबैभन्दा धेरै मानसिक दबाब एकैसाथ बोकेको पुस्ता हो।

त्यसपछि जीवनले धेरै मोडहरू पार गर्‍यो। अध्ययन, अनुसन्धान, बेलायत हुँदै अमेरिकाको करिब डेढ दशकको बसाइ, करियर, पारिवारिक जिम्मेवारी र जीवनका अनेक उतारचढावबीच ध्यानसँगको सम्बन्ध निरन्तर रहन सकेन। अमेरिकामा हुँदा पनि बोधिसत्त्व स्वामी आनन्द अरुणले सञ्चालन गर्नुभएका एक–दुईवटा ध्यान शिविरमा सहभागी भएर ध्यान गर्ने अवसर भने पाएको थिएँ।

तर यसपटकको अनुभव अलि फरक थियो।

दुई दशकअघि मैले देखेका धेरै सपना पूरा गरिसकेको थिएँ। तर जीवन सकिएको थिएन; मेरा भविष्य र सपनाहरू अर्को चरणमा प्रवेश गरिसकेका थिए। लामो समय विदेशमा बसेर काम गरेपछि नेपाल फर्किनु आफैंमा एउटा ठूलो परिवर्तन थियो। नयाँ परिवेश, नयाँ जिम्मेवारी, नयाँ सम्बन्धहरू र नयाँ अपेक्षाहरूबीच आफूलाई पुनः व्यवस्थित गर्नुपर्ने अवस्था थियो।

त्यसैले नेपाल फर्किएपछि मैले आफ्नो जीवनलाई बाहिरबाट मात्र होइन, भित्रबाट पनि हेर्नुपर्ने आवश्यकता महसुस गरिरहेको थिएँ। तपोवनको त्यो एक हप्ता मेरो लागि केही दिनको विश्राम मात्र थिएन। त्यो आफूलाई केही समयका लागि बाहिरी संसारबाट अलग गरेर आफ्नै मनसँग भेट्ने अवसर थियो।

मनभित्रको भिडसँग साक्षात्कार

ओशो तपोवनमा ध्यानलाई केवल आँखा बन्द गरेर शान्त बस्ने अभ्यासका रूपमा बुझिँदैन। यहाँ प्रयोग गरिने विभिन्न ध्यान विधिले शरीर, भावना, विचार र चेतनाका विभिन्न तहलाई छुने प्रयास गर्छन्।

कतिपय अभ्यासमा शरीरलाई चलाइन्छ, कतिपयमा हाँसिन्छ, कतिपयमा चिच्याइन्छ, कतिपयमा आफूभित्र दबिएको रिस, निराशा र नकारात्मक ऊर्जालाई बाहिर निकाल्ने प्रयास गरिन्छ। बाहिरबाट हेर्दा यी अभ्यासहरू असामान्य लाग्न सक्छन्। तर जब हामी ती अभ्यासभित्र प्रवेश गर्छौं, बिस्तारै बुझ्न थाल्छौं— हामीभित्र कति धेरै भावनाहरू दबाएर राखिएका रहेछन्।

हामीमध्ये धेरैले रिसलाई दबाउँछौं। पीडालाई लुकाउँछौं। असन्तुष्टिलाई मुस्कानभित्र छोप्छौं। सम्बन्धमा भएका चोटलाई सामान्य देखाउने प्रयास गर्छौं। व्यावसायिक असफलतालाई स्वीकार गर्न गाह्रो हुन्छ। कहिलेकाहीँ आफूले आफैंसँग पनि स्वीकार नगरेका भावनाहरू बोकेर हामी वर्षौं हिँडिरहेका हुन्छौं।

ध्यानका केही अभ्यासले ती भावनालाई महसुस गर्ने र सुरक्षित वातावरणमा बाहिर ल्याउने अवसर दिन्छन्। हाँस्दा मन हलुका हुन्छ। शरीरलाई स्वतन्त्र रूपमा चलाउँदा शरीरमा जम्मा भएको तनाव केही कम भएको महसुस हुन्छ। कहिलेकाहीँ आँसु आउँछ। कहिलेकाहीँ रिस उठ्छ। कहिलेकाहीँ केही पनि हुँदैन।

तर त्यसपछि आउने मौनता महत्त्वपूर्ण हुन्छ। कतिपय अवस्थामा त त्यो मौनता झनै अद्भुत हुन्छ।

जब बाहिरको आवाज केही समयका लागि कम हुन्छ, हामी आफ्नै विचारहरूलाई हेर्न थाल्छौं। विचारसँग लड्ने होइन, त्यसलाई हेर्ने गर्छौं। मनमा आएको कुरालाई तुरुन्त सही वा गलत भनेर निर्णय नगरी आफूभित्र के भइरहेको छ ? भनेर नियाल्ने मौका पाउँछौं।

सायद ध्यानको एउटा सुन्दर पक्ष यही हो— यसले हामीलाई ‘हामी आफ्ना विचार मात्र होइनौं’ भन्ने अनुभव गराउँछ। हामीभित्र आफ्नै विचार, भावना र प्रतिक्रियालाई हेर्न सक्ने एउटा साक्षी पनि हुन्छ।

यही दूरीले कहिलेकाहीँ जीवनलाई नयाँ कोणबाट हेर्न मद्दत गर्छ।

‘कुन सम्बन्धलाई समातेर बसिरहेको छु ?’, ‘कुन सम्बन्धबाट मुक्त हुनुपर्छ ?’, ‘मेरो असन्तुष्टिको वास्तविक कारण के हो ?’, ‘मैले खोजिरहेको सफलता वास्तवमै मेरो चाहना हो कि समाजले ममाथि राखेको अपेक्षा ?’, ‘मैले गुमाएको कुरामा मात्र किन अड्किरहेको छु ?’, ‘आगामी जीवनमा वास्तवमै के चाहन्छु ?’

यस्ता प्रश्नको उत्तर ध्यानले सिधै दिँदैन। तर उत्तर खोज्ने मनलाई शान्त बनाइदिन सक्छ। अझ महत्त्वपूर्ण कुरा, ध्यानले केवल उत्तर खोज्न होइन, आफूले भेट्टाएको उत्तरअनुसार आफूलाई परिवर्तन गर्न पनि सहयोग गर्न सक्छ। यही आत्मबोध र परिवर्तनको प्रक्रिया नै ध्यानको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक हो।

शरीरजस्तै मन पनि त्यत्तिकै महत्त्वपूर्ण

ध्यान मानसिक स्वास्थ्यको पूर्ण विकल्प होइन। तर यसका केही विधिहरूको प्रभावबारे वैज्ञानिक प्रमाण भने बढ्दै गएको छ।

जामा इन्टरनल मेडिसिन मा प्रकाशित एउटा व्यवस्थित समीक्षा तथा मेटा–विश्लेषणमा ४७ वटा अध्ययन र ३ हजार ५१५ जना सहभागीको तथ्याङ्क विश्लेषण गरिएको थियो। अध्ययनले सचेतना–आधारित ध्यान कार्यक्रमले एन्जाइटी र डिप्रेसनका लक्षणमा सानोदेखि मध्यम स्तरसम्मको सुधार ल्याउन सक्ने प्रमाण फेला पारेको थियो। मनोवैज्ञानिक तनाव तथा मानसिक असहजताका केही पक्षमा पनि सुधार देखिएको थियो।

यसको अर्थ ध्यान सबै प्रकारका मानसिक समस्याको उपचार हो भन्ने होइन। ध्यानलाई वैज्ञानिक प्रमाणले समर्थन गरेको ठाउँसम्म मात्र बुझ्नुपर्छ। गम्भीर डिप्रेसन, एन्जाइटी वा अन्य मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले आवश्यक पर्दा मनोचिकित्सक वा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्छ। ध्यान त्यस्तो उपचारको प्रतिस्थापन होइन, सहायक अभ्यास हुन सक्छ।

तर मेरो विचारमा ध्यानको महत्त्व रोग लागिसकेपछि मात्र हुँदैन। हामीले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजस्तै सुरुदेखि नै हेरचाह गर्नुपर्ने विषयका रूपमा बुझ्न आवश्यक छ। जीवनमा बढ्दै गरेको बेचैनी, अशान्ति, तनाव र भावनात्मक असन्तुलनलाई सुरुमै पहिचान गरेर व्यवस्थापन गर्न सकियो भने त्यसले हाम्रो समग्र मानसिक स्वास्थ्य जोगाउन सहयोग गर्न सक्छ।

हामी मुटु दुख्यो भने अस्पताल जान्छौं। पेट दुख्यो भने चिकित्सक खोज्छौं। रक्तचाप बढ्यो भने औषधि खान्छौं। तर लगातार बेचैनी भइरहेको छ, रातभर निद्रा लाग्दैन, कुनै कुरामा रुचि छैन, सानो कुरामा असाध्यै रिस उठ्छ, सम्बन्धहरू बिग्रिरहेका छन्, आफूभित्र निरन्तर खालीपन महसुस भइरहेको छ भने हामी त्यसलाई धेरैपटक ‘जीवन यस्तै हो’ भनेर टारिदिन्छौं।

मानसिक पीडालाई कमजोरी ठान्ने वा ‘जीवन नै यस्तै हो’ भनेर बेवास्ता गर्ने सामाजिक संस्कार अझै बलियो छ। यो सही होइन।

विशेषगरी पुरुषहरूलाई ‘बलियो’ हुन सिकाइन्छ। दुःख नदेखाउन, नरोउन, समस्या आफैं समाधान गर्न र भावनाहरू दबाउन सिकाइन्छ। तर भावनालाई दबाउँदैमा ती हराउँदैनन्। कहिलेकाहीँ ती तनाव, रिस, सम्बन्धमा समस्या वा अन्य मानसिक स्वास्थ्य चुनौतीका रूपमा बाहिर आउँछन्।

लामो समयसम्म बेवास्ता गरियो र आवश्यक सहयोग लिइएन भने कतिपय अवस्थामा यस्ता समस्या अझ गम्भीर मानसिक स्वास्थ्य समस्याका रूपमा विकास हुन सक्छन्। त्यसैले मानसिक स्वास्थ्यबारे कुरा गर्नु कमजोरी होइन। आफ्नो मनको हेरचाह गर्नु पनि स्वास्थ्यकै एउटा महत्त्वपूर्ण हिस्सा हो।

युवापुस्तालाई ध्यानतर्फ फर्किन आग्रह

आजको युवा पुस्ता सम्भवतः इतिहासकै सबैभन्दा धेरै अवसर र सबैभन्दा धेरै मानसिक दबाब एकैसाथ बोकेको पुस्ता हो।

सोसल मिडियाले अरूको सफल जीवन हामीलाई निरन्तर देखाइरहेको छ। कसैको करियर अगाडि बढिरहेको छ, कसैले विदेशमा घर किनेको छ, कसैले नयाँ व्यवसाय सुरु गरेको छ, कसैको सम्बन्ध सुन्दर देखिन्छ। अनि हामी अनजानमै आफ्नो जीवनलाई अरूसँग तुलना गर्न थाल्छौं।

युवापुस्तालाई करियर बनाउने, आर्थिक रूपमा सफल हुने र राम्रो सम्बन्ध कायम राख्ने दबाब छ। परिवारका अपेक्षा छन्। आफ्नै सपनाहरू छन्। त्यसैमाथि सामाजिक सञ्जालले सिर्जना गरेको निरन्तर तुलना छ।

नेपालका युवाहरूका लागि चुनौतीहरू कतिपय अवस्थामा झनै जटिल छन्। अझै पनि धेरै परिवारमा उनीहरूको भविष्यलाई उनीहरूले कस्तो पुरुष, श्रीमान् वा जीवनसाथी पाउँछन् ? भन्ने कुरासँग जोडेर हेर्ने प्रवृत्ति छ। एक्काइसौं शताब्दीमा, विशेषगरी विकसित हुँदै गएको समाजका लागि यस्तो सोच निकै असामयिक हो। यसले युवतीहरूलाई अझ बढी सामाजिक र पारिवारिक दबाबमा पार्न सक्छ र उनीहरूलाई सशक्त, आत्मनिर्भर भएर आफ्ना सपना पछ्याउने बाटोबाट टाढा राख्न सक्छ।

ध्यान भनेको शान्त बसेर आँखा बन्द गर्नु मात्र होइन। ध्यानका विभिन्न विधिहरू छन्। ती विधिहरू अनुभवी साधक वा प्रशिक्षकबाट सिक्नु, आफूजस्तै अन्य व्यक्तिहरूसँग मिलेर अभ्यास गर्नु र केही समय ध्यानकै वातावरणमा बसेर आफूलाई त्यसमा समर्पित गर्नुमा फरक अनुभव हुन सक्छ।

यस्तो समयमा युवालाई केवल प्रतिस्पर्धा गर्न सिकाएर मात्र पुग्दैन। आफूभित्र फर्किन पनि सिकाउनुपर्छ। त्यसैले युवापुस्तालाई मेरो आग्रह छ— जीवनमा ध्यानका लागि पनि केही समय छुट्याउनुस्।

ध्यान गर्न तपोवन नै पुग्नुपर्छ भन्ने छैन। हरेक दिन केही समय शान्त बस्न सकिन्छ। आफ्नो सासलाई नियाल्न सकिन्छ। मोबाइल बन्द गरेर केही समय आफूलाई सुन्न सकिन्छ। प्रकृतिमा हिँड्न सकिन्छ। योग गर्न सकिन्छ। आफ्ना भावनालाई लेख्न सकिन्छ। आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्न सकिन्छ।

तर ध्यान भनेको शान्त बसेर आँखा बन्द गर्नु मात्र होइन। ध्यानका विभिन्न विधिहरू छन्। ती विधिहरू अनुभवी साधक वा प्रशिक्षकबाट सिक्नु, आफूजस्तै अन्य व्यक्तिहरूसँग मिलेर अभ्यास गर्नु र केही समय ध्यानकै वातावरणमा बसेर आफूलाई त्यसमा समर्पित गर्नुमा फरक अनुभव हुन सक्छ।

त्यसैले जीवनमा कम्तीमा एकपटक ओशो तपोवनजस्तो वातावरणमा एक हप्ताको ध्यान शिविर लिएर हेर्न पनि म युवापुस्तालाई आग्रह गर्छु। यसलाई आफूलाई बुझ्ने, आफ्ना भावनासँग साक्षात्कार गर्ने र आफ्नो मनलाई केही समय दिने अवसरका रूपमा लिन सकिन्छ।

एक हप्ताले जीवन परिवर्तन गर्छ ?

तपोवनमा बिताएको एक हप्ताले मेरो जीवनका सबै समस्याको समाधान गरेको छैन। र, त्यसो हुनु आवश्यक पनि छैन।

ध्यान शिविरबाट फर्किएपछि पनि जीवन उस्तै छ। काम गर्नुपर्छ। जिम्मेवारी छन्। सम्बन्ध छन्। चुनौती छन्। कहिलेकाहीँ मन अस्थिर हुन्छ। तर फरक यति हो— अब ती भावनालाई केही दूरीबाट हेर्न सक्ने क्षमता बढेको महसुस हुन्छ।

सायद ध्यानको सबैभन्दा ठूलो उपलब्धि समस्या हटाउनु होइन, समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण बदल्नु हो।

हामी जीवनलाई नियन्त्रण गर्न सक्दैनौं। हरेक अवसर आफ्नो समयमा आउँदैन। सबै सम्बन्ध हामीले चाहेझैं चल्दैनन्। हरेक मिहिनेतले तुरुन्त सफलता दिँदैन। सबै प्रश्नको उत्तर हामीसँग हुँदैन।

तर यी सबैबीच पनि आफ्नो ऊर्जा, चेतना र मानसिक सन्तुलन जोगाएर अघि बढ्न सकिन्छ।

ओशो तपोवनको त्यो एक हप्ताले मलाई फेरि यही कुरा सम्झायो- बाहिरको संसार जित्न दौडिनुअघि कहिलेकाहीँ आफैंभित्र फर्किनुपर्छ। किनकि जीवनमा हामीले सबैभन्दा लामो यात्रा बाहिर होइन, आफ्नै मनभित्र गर्नुपर्ने हुन्छ।

लेखक
राजेन्द्र पंगेनी

पंगेनी अमेरिकाको नोभा साउथइस्टर्न विश्वविद्यालय तथा नेपालस्थित नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) सँग आबद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?