Comments Add Comment

लोकप्रिय भएको मूल्य चुकाइरहेछु

३ साउन, काठमाडौं । ‘पिरतीको छाता’, ‘ठमेल बजार’, ‘निर जहिल्यै रिसाउनी’, ‘लैजा रे’ गीतका सर्जक कालीप्रसाद बास्कोटाको गीत/संगीत बिटुलो हुँदैछ ?

पछिल्ला प्रसंगले यस्तै संशय पैदा गरिदिएको छ । एउटापछि अर्को गीत तथा संगीतमाथि चोरीको बात लागेपछि बास्कोटा शंकाको घेराबन्दीमा छन् । ‘पिरतीको बिर्को’को कुरा गरौं वा ‘इन्टाको फोटो’, ‘तीतेपाती-तीतेपाती’को कुरा गरौं वा ‘समाचार’को । अविछिन्न ‘चोरीको वात’ लाग्नुलाई संयोग मात्र ठान्ने कि नियत ?

यही जटिल प्रश्नहरुको लखेटाइमा छन्, कालीप्रसाद ।

उनी भने ‘चोरीको वात’लाग्नुलाई ‘लोकप्रियताको मूल्य चुकाउनु’सँग जोडेर हेर्छन् । कालीप्रसाद भन्छन्, ‘लोकप्रिय हुँदा सबैभन्दा बढी मूल्य चुकाउनुपर्ने देश मेरै होला ।’

त्यसैले जति-जति चोरीको वात लाग्दै गयो, त्यति नै ‘काग कराउँदै जान्छ, …’ शैलीमा चुपचाप बसे । आफूमाथि लागेको आरोप खण्डन गरिरहनु उनलाई जरुरी लागेन । भन्छन्, ‘जे सुन्यो, त्यसकै पछाडि लाग्ने भीडसँग वादविवाद गर्न सकिँँदैन ।’

यद्यपि उनी के पनि भन्छन् भने, ‘इन्टाको फोटो गीतमा म केही हदसम्म प्रभावित भएको हुँ तर, चोरी नै गर्छु भनेर सबै चोरेको छैन । तपाईँ चार पटक दुबै गीतको कड बजाएर तुलना गर्नुहोस्, मिल्यो भने मलाई चोर भन्न आउनुहोस् ।’

संगीतमा नयाँ प्रयोग गर्दा प्रभावित हुनुलाई नराम्रो मान्न नहुने उनको तर्क छ । ‘संगीतमा क्रान्ति गर्ने ठाउँ राखिएको हुन्छ । त्यहाँ यतिसम्म प्रभावित हुन मिल्छ भनिएको हुन्छ तर, यसैलाई पछ्याउँदा यहाँ त चोर भइँदोरहेछ’ उनले गुनासो पोखे ।

हुन पनि आजभोलि कालीप्रसादका हरेक जसो सिर्जनालाई ट्रोल बनाउन प्रयास गर्नेहरु पनि छन् । यसमा कालीप्रसादको एउटै जवाफ छ, ‘उनीहरु मलाई हेरेर हाँस्छन्, म उनीहरुलाई हेरेर हाँसिरहेको छु । यो बाहेक अर्को विकल्प म देख्दिनँ ।’

कालीप्रसादको दर्शक तथा श्रोतासँग कुनै गुनासो छैन । छ त, गीत संगीत बुझेका हस्तीहरुसँग । ‘संगीतलाई राम्रोसँग बुझेकाहरु पनि अरुको सफलतामा डाहा गर्छन् र भीडकै पछि चोर-चोर भनेर दौडिन्छन्, उनले आफ्नो गुनासो पोखे । यसरी संगीतमा क्रान्ति गर्न नसकिने उनको निष्कर्ष छ ।

अनि जीवनको कोल्टे फेर्‍यो

चलचित्र ‘रेशम फिरिरी’को ‘पारी त्यो डाँडा’ गीत रिलिजसँगै कालीप्रसाद अरु संगीतकारका लागि चुनौतीको पहाड बनेर उभिएका थिए । हुन त उनले यसअघि दर्जनौ गीतमा संगीत भरेका थिए तर, यो गीतले बजार पिट्यो ।

गीत बजारमा आउँदासम्म उनी संगीतलाई जिन्दगीको जिजिबिषा बनाउने सोचमा थिएनन् ।

तिलगंगा आँखा अस्पतालमा प्राविधिक उनको पेशा थियो भने गीत संगीत प्यासन मात्र । तर २०१६ को सुरुमा रिलिज भएको ‘पारी त्यो डाँडा’ र अक्टोबरमा आएको ‘ठमेल बजार’ गीतले पाएको सफलतासँगै उनको जीवनमा कोल्टे फेर्‍यो ।

उनले १४ वर्ष लामो जागिर छाडे र गीत संगीतमा नै आफूलाई समाहित बनाए । कालीप्रसाद सुनिए, ‘मेरो रुची संगीतमै थियो तर, जिन्दगी चलाउन जागिर खाएको थिएँ ।’

गाली गर्ने ठाउँ बन्यो सामाजिक सञ्जाल

कालीप्रसाद ट्वीटर, इन्स्टा, फेसबुकलगायतका सामाजिक सञ्जालमा छन् । आफ्ना गीत संगीत शेयर गर्छन्, बेलाबेला आफ्नो मनको बह-भाव पनि पोख्छन् ।

उनलाई सामाजिक सञ्जालहरुमा आउने ट्रोल र गाली चित्त बुझेको छैन । उनको बुझाइमा आफूले भोट दिएर पदमा पुर्‍याएका नेताहरुले काम नगर्दा जनतामा वितृष्णा जागेको छ, जुन धेरै सामाजिक सञ्जालहरुमा पोखिन्छ ।

उनी भोट दिएर जिताएको नेतालाई गाली गर्नु स्वभाविक भएको बताउँछन् । तर, कलाकारलाई अनावश्यक गाली गर्नु तर्कसंगत नभएको उनले सुनाए । कालीप्रसाद भन्छन्-‘एउटा नेतालाई जनताले नै पदमा पुर्‍याउँछ । तर, कलाकार आफ्नै मेहनतले एउटा स्थानमा पुगेको हुन्छ । गाली गर्नेले यो बुझ्नुपर्छ ।’

गीतको युट्युबमा पाएको भ्यूज र ट्रेन्डिङलाई सफलताको मानक मान्न थालिएकोमा पनि उनी खुसी छैनन् । सर्जकले ट्रेन्डिङमा विश्वास गर्ने होइन, नयाँ ट्रेन्डमा विश्वास गर्ने हो’, कालीप्रसाद सुनिए, ‘ट्रेन्डिङमा आइरहेको भन्दा फरक गरेर नयाँ ट्रेन्ड सेट गर्न सकियो भने पो सफल भइयो । ट्रेन्डिङमा के छ, त्यसकै पछाडि लाग्यो भने त्यो भीडले कहाँ पुर्याउँछ पत्तो हुन्न ।’

‘एउटा सर्जक भीडको पछाडि कुद्न हुँदैन’ उनको निष्कर्ष छ ।

फिल्मी संगीतले चलेको होइन

कालीप्रसादले ‘ठमेल बजार’ जस्तो सुपर हिठ फिल्मी गीत पनि तयार गरेका छन्, ‘सुन साइँली’ जस्तो लोकप्रिय आधुनिक गीत पनि तयार गरेका छन् । उनलाई आत्मसन्तुष्टि कुन गीतमा बढी होला ? यो प्रश्नमा उनी केही बेर घोत्लिए । उनको घोत्लाइमा वुझ्न सकिन्थ्यो कि उनी विचमा बस्न चाहन्छन् । तर, मुख फोर्दै भने, ‘आत्मसन्तुष्टि त सुन साइँलीमा नै छ ।’

कहिले संगीतले संगीतकार चलाउँछ, कहिले संगीतकारले संगीत चलाउँछ । कालीप्रसाद चलचित्रको संगीतले चलेका संगीतकार हुन् । उनी यो कुरा स्वीकार पनि गर्छन् । उनको बोली यत्तिमै रोकिँदैन । भन्छन्, ‘म संगीतले चलेको मानिस हुँ ।’

चलचित्रको गीतमा उनको दिमाग एक्लै चल्दैन । यसमा निर्माता, निर्देशक र बजारमा देखिएको भीडको असर हुन्छ । यसैले चलचित्रको गीतमा आफ्नो पुरा सिर्जना देखाउन नसकिने कालीप्रसादले सुनाए । यद्यपि चलचित्रको गीतमा अरु व्यक्ति पनि जोडिने भएकाले धेरै कुरा सिकिने उनले बताए ।

लोभी गायक

कालीप्रसाद मात्र होइन, अहिलेका चलेका संगीतकार मात्र होइनन्, गायक पनि हुन् । देश विदेशमा हुने कार्यक्रमलाई हेरेर अरु संगीतकारहरु जस्तै कालीप्रसाद पनि गायनमा आउको आरोप छ ।

यसमा उनको स्पष्टीकरण छ, म लोभी गायक होइनँ । मैले ‘पारी त्यो डाँडा’मा गीत मेरो लागि बनाएको थिइनँ । जुन गायकको लागि बनाएको थिएँ, उहाँले नभ्याएपछि मैले गाएँ ।’

‘दर्शक स्रोतले त्यही गीत रुचाउनु भयो र मेरो स्वरको खोजी भयो त म कसरी लोभी भएँ ?’ उनको प्रश्न छ ।

जसले चाहेर पनि आफ्नो संगीतमा गीत गाउन पाएका छैनन्, उनीहरुले मात्र आफूलाई लोभी गायकको आरोप लगाएको उनको दाबी छ । कालीप्रसाद भन्छन्, ‘मेरो गीत अरु थुप्रै गायकले गाउनु भएको छ तर, जसले मन भएर पनि गाउन पाउनु भएको छैन, उहाँहरु मलाई यस्तो आरोप लगाउनुहुन्छ ।’

संगीतकारले गीत गाउँदा रिस गर्न नहुने उनको तर्क छ । भन्छन्, ‘भोलि गायकले नै संगीत गर्न थाले भने ? यो क्षेत्रमा नै टिक्ने हो भने पूर्ण प्याकेज बन्न आवश्यक छ ।’

कालीप्रसादलाई अर्को पनि आरोप छ, हावामा शब्द कोर्‍याे  । आरोपमाथि आरोप लाग्दा उनको मन कुडिन्छ । कुडिएको मन फुकाउँदै भन्छन्, ‘उहाँहरुले घरको कोठामा थुनिएर एउटा भावमा गीत लेख्नुभएको हुन्छ । मैले कम्पोज गर्दा अर्कै भावमा गर्छु । यसो गर्दा गीत कसरी राम्रो हुन्छ ?’ उनले अगाडि थपे-‘यदि कोही गीतकार मसँग आएर मसँगै बसेर गीत लेख्नुहुन्छ भने त्यसलाई कम्पोज गर्न सक्छु । नत्र गर्दिनँ ।’

कालीप्रसादलाई डर छैन

मानिस अनुसार गीत संगीतको रुचि फरक हुन्छ । कहिले ठमेल बजारले बजार पिट्छ त कहिले ‘कुटुमा कुटुदेखि ‘तिमि रोएको पल’ मात्र होइन, गलबन्दी बिक्छ ।

तर, कालीप्रसादलाई डर छैन ।

करिअरको सुरुवाती दिनमा भने उनलाई पनि अरु संगीतकारको सिर्जना हिट हुँदा आफू कतै पछाडि नै धकेलिने हो कि भन्ने डर लाग्थ्यो । तर आज समय फेरिएको छ ।

केही समय खाली बस्नु परेपनि बाँच्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ । ‘अब मलाई काम नपाउँदा पनि केही चिन्ता छैन’ कुराकानीका क्रममा उनले सुनाए ।

उनलाई यो पनि थाहा छ कि सफलताको चुलीमा सँधै रहिरहन सम्भव छैन । भोलिका दिनमा कालीप्रसादलाई विस्थापित गर्ने अर्को कुनै पात्र जन्मिनेछ ।

त्यो दिन कालीप्रसादको दैनिकी कसरी चल्छ होला ? ‘मलाई थाहा छ, म सधै यो स्थानमा रहन्नँ । तर, मलाई जनताले चिन्न छोडे भने पनि म खुसी नै हुनेछु’ उनले सुनाए ।

खुशी हुनुपर्ने कारण के त ? ‘मलाई बजारले चिन्न छाड्यो भने पनि म पुरानो अवस्थामा पुग्नेछु । जुन समय म मेरो लागि संगीत गथेर्ँ । त्यो बेला अहिले भन्दा निकै खुसी थिएँ । म त्यसमै रमाउने छु’ कालीप्रसाद केही भावुक देखिए ।

सफलताले सपना बुन्न सिकाउँछ । सपनाले नयाँ जिन्दगी जिउन सिकाउँछ । जिन्दगीमा आएका ताली र गालीले कालीप्रसादलाई जीवन जिउन सिकाएको छ । उनी, अब त्यही जिन्दगी जिउन चाहन्छन्, जुन उनले जिउन चाहेका छन् । उनको योजना छ, अब भीडबाट टाढा रहेर आफ्ना लागि काम गर्ने ।

तर अझ राम्रो गर्ने लोभ भने हराएको छैन । भन्छन्-‘मैले अहिलेसम्म मेरा लागि काम गर्न पाएको छैन । अब समय लिएर म मेरा लागि काम गर्न चाहन्छु । दर्शकले मेरो संगीत त कहाँ सुन्नुभएको छ र ? म अहिलेसम्म मिश्रित भएर गुञ्जिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment