+
+
Shares

दासढुंगामा कंक्रिट पर्खाल निर्माण गरेको भन्दै आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १७:५६

३ साउन, चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी सवार जीप खसेको दासढुंगामा पर्यटन विभागले धमाधम क्रंक्रिटको संरचना निर्माण गरिरहेको छ ।

पर्यटन विभागले जीप खसेको भिरालो ठाँउको ऐतिहासिक महत्व र पृष्ठभूमि नै मासिने गरी संरचना निर्माण गरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

विभागले झण्डै ६० लाखको लागतमा रिटेन्सनवाल निर्माणको काम गरिरहेको छ । सवारी पार्किङ, प्रतिक्षालय र शौचालय निर्माण गर्ने भन्दैं क्रंक्रिटको वाल निर्माणको काम भैरहेको छ ।

मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले सरोकारवालाहरुसँग कुनै समन्वय नगरी आफूखुसी विभागले क्रंक्रिटको पर्खाल खडा गरेको आरोप लगाए ।

‘मदन भण्डारी फाउण्डेशन चितवन दासढुंगादेखि भण्डारीको शव भेटिएको गाँजीपुरसम्म बृहत्तर गुरुयोजना बनाएर विकासको काम गर्न खोज्दैछ,’ अध्यक्ष भट्टराईले भने, ‘तर दासढुंगामा कसको योजनामा कसलाई सोधेर पर्खाल खडा गरिएको हो जानकारी भएन ।’

उनले मदन भण्डारी र जीवराज आश्रति सवार जीप खसेको स्थानको ऐतिहासिकता नै मासिने गरी पर्खाल निर्माण गर्नु आपत्तिजनक विषय भएको बताए । ‘मदन भण्डारीको हत्या भएको २६ वर्ष हुँदासम्म कसैले दासढुंगाको विकास गर्ने बारेमा सोचेन अहिले फाउण्डेशनले काम गर्न थालेपछि जथाभावी काम भैरहेको छ,’ अध्यक्ष भट्टराईले भने, ‘सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाएर मात्रैं काम गर्नुपर्दछ ।’

फाउण्डेशनले दासढुंगाको पहिलोचरणको गुरुयोजना तयार गरिसकेको छ । पर्यटन विभागले कल्पवृक्ष निर्माण सेवा काठमाण्डौंलाई दासढुंगामा रिटेन्सनवालसहित पार्किङ र गाँजीपुरमा भ्यूटावार निर्माण गर्ने भन्दैं १ करोडमा ठेक्का दिएको थियो ।

असारभित्रै काम सक्ने भनिए पनि ठेकेदार अहिलेसम्म काम सकेको छैन । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ ।

पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले ठेक्का सम्झौता डेढ महिना थप गरेर भदौं १५ पुर्‍याएको बताए ।

जीप खसेको स्थानमै क्रंक्रिटको संरचना निर्माण गर्दा पर्यटन विभागले किन ध्यान दिएन भन्ने अनलाइनखबरको प्रश्नमा इन्जिनियर यादवले ठाउँ साँघुरो भएकोले बढाउन रिटेन्सनवाल दिएको बताए ।

उनले पार्क जस्तो बनाउन ठाँउको अभाव भएकोले पर्खाल दिएर उठाइएको दावी गरे । भरतपुर महानगरपालिका वडा नः २९ का वडाध्यक्ष मानबहादुर मगरले जीप खसेको स्थानमा सेरवाल निर्माण गरिएको बारे आफुलाई जानकारी नै नभएको बताए । ‘हामीसँग समन्वय छैन विभागले आफ्नो ढंगले काम गरिरहेको छ,’ वडाध्यक्ष मगरले भने, ‘जीप खसेको ठाउँको संरक्षण हुनुपर्दछ । ‘

नेकपाका पुराना नेता शम्भु सुवेदीले मदन भण्डारीको जीप खसेको स्थानलाई जस्ताको तस्तैं सुरक्षित राखेर संरक्षण गर्नुपर्नेमा त्यसको ऐतिहासिकता मासिने गरी काम निर्माण हुनु दुर्भाग्य भएको बताए ।

यसअघि, जीप खसेको स्थानमा निर्माण गरिएको पैदलयात्रु पेटी र रेलिङ निर्माण गर्दा पनि त्यहाँको संरचनामा तोडमोड गरी क्षति पुर्‍याइएकोमा उनले दुःखेसो पोखे ।

पुरात्व विभागले पनि दासढुंगाको ऐतिहासिक महत्व नै मासिने गरी संरचना निर्माण हुनु दुःखद भएको बताएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले अनलाइनखबरसँग कुरा गदैं यस्ता ऐतिहासिक महत्वको ठाउँमा संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने बताए ।

एक सय वर्ष पुराना ठाँउमा संरचना निर्माण गर्दा सोध्ने गरिए पनि यस्ता महत्वका ठाउँमा विभागलाई जानकारी नै दिने नगरिएको कुँवरको भनाइ छ ।

०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रति सवार जीप रहस्यमय दुर्घटना हुँदा दुबै नेताको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?