Comments Add Comment

बाराको हरपुरमा दुधौरा नदीको पानी पस्यो

८ साउन, वीरगञ्ज । अविरल वर्षाका कारण पर्सा र बाराका नदी तथा खोला तटीय क्षेत्रका बस्तीहरुमा डुवानको जोखिम बढेको छ ।

मंगलबार राति निरन्तर वर्षाका भैरहेकाले पर्साको सिर्सिया, भेडाहा, फन्टी, सिंग्याही तथा बाराको दुधौरा, बाणगंगा, बकैयालगायतका साना ठूला नदी तथा खोलाहरुमा पानीको सतह निकै बढेको छ ।

अविरल वर्षापछि दुधौरा नदीमा आएको बाढीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-२४ हरपुरमा बस्ती डुवानमा परेको छ ।

दुधौरामा आएको बाढी निर्माणाधीन पुलदेखि तलको बस्तीमा पसेको हो । दुधौराको बाढी बस्तीमा पस्दा झण्डै ५ दर्जनको हाराहारीमा घर डुवानमा परेको वडा अध्यक्ष इलियाज देवानले जानकारी दिए ।

‘खोलादेखि दक्षिणतिर रहेका २८/३० घरमा बढी पानी पसेको छ । अहिलेसम्म ६० भन्दा बढी घरमा पानी पसेको अनुमान हामीले गरेका छौं,’ उनले भने, ‘बस्ती नजिकको स्कुलमा समेत पानी पसेकोले सर्वसाधरण नजिकैको मदरसा र आफन्तको घरमा शरण लिएर बसेका छन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नदी तथा खोलाहरुमा पानीको सतह बढेकोले सतर्क रहनुपर्ने अवस्था बनेको बताएका छन् । ‘वीरगञ्ज महानगरपालिकाको लालपर्सा, मिलनचोक क्षेत्रको अवलोकन गरिरहेको छु । स्थिति विगि्रसकेको छ छैन, तर पानी परिरहेकोले खतराको संकेत भने देखिन्छ,’ उनले भने, ‘ठोरीको ठुटे खोलामा आएको बाढीलेे कटान शुरु गरेको जानकारी आएको छ । अन्यत्र त्यस्तो केही क्षति भएको छैन ।’

विपद् आइहालेको खण्डमा उद्दार र राहतका लागि तयारी अवस्थामा रहेको उनले बताए । पर्सामा राहत वितरणका लागि एकद्वार नीति अबलम्बन गरिएको छ ।

गत असार २४ देखि २८ गतेसम्म भएको वर्षापछि आएको बाढीका क्रममा जोखिमयुक्त ठाउँहरुको पहिचान भइसकेकोले सोहीअनुसार तयारीका साथ बसिएको स्थानीय प्रशासनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment