Comments Add Comment

स्कूल विभाग मलाई चाहियो

‘जबजको च्याप्टर क्लोज भएको छैन, ईश्वर कामरेडलाई ब्याकफायर भयो’

१० साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद पेचिलो बनिरहेका बेला झलनाथ खनालदेखि घनश्याम भुसालसम्मका नेताले आफूलाई उक्त विभाग दिन आग्रह गरिरहेका छन् । ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठका नाममा सहमति नजुटेपछि विकल्पमा नामहरु थपिइरहेका छन् । र, यही क्रममा अर्का दाबेदार निस्किएका छन्– डा.वेदुराम भुसाल ।

साविक नेकपा एमालेमा ५ वर्ष स्कूल विभाग प्रमुख भइसकेका वेदुराम भुसालको अर्को विशेषता धेरैलाई थाहा नहुन सक्छ । उनी जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रमका विषयमा विद्यावारिधि गर्ने नेतासमेत हुन् ।

डा. भुसालले अनलाइनखबरसँग कुरा गर्दै स्कूल विभागलाई स्कूलकै रुपमा सञ्चालन गर्ने हो भने आफू त्यो जिम्मेवारीका लागि उपयुक्त पात्र रहेको दाबी गरे ।

नेकपा स्थायी कमिटी सदस्य भुसाल पछिल्लो समय राष्ट्रियसभा सदस्य उम्मेदवार भए पनि पार्टीले बलराम बास्कोटा जिताउन उनको उम्मेदवारी फिर्ता गराएको थियो । पार्टीभित्र वैचारिक सैद्धान्तिक प्रशिक्षकको छवि बनाएका भुसाल लाभको पदमा भने बिरलै पुगेका छन् । उनले आफू स्कूल विभाग प्रमुख हुँदा तीनवटा पाठ्यपुस्तक र १३ वटा पाठ्यक्रमसहित पार्टीमा स्कूल मात्र चलाएनन्, कार्यकर्ताको परीक्षा समेत लिएका थिए । पार्टी स्कुलको परीक्षामा पास हुनेलाई मात्र कमिटीमा स्थान दिने उनको प्रस्ताव नवौं महाधिवेशनले पारित गरे पनि लागू गर्ने बेला उनी स्कूल विभागबाट बाहिरिए ।

अहिले स्कूल विभागको दाबी गरिरहेका दुई शीर्ष नेताका नाममा सहमति हुने सम्भावना कम रहेकाले आफूलाई स्कूल विभाग दिनुपर्ने उनको आग्रह छ । जबजमा पीएचडी गरेका भुसालले नेकपाको अहिलेको सिद्धान्त जनताको जनवादका सबै विषयवस्तु जबजकै रहेकाले नाममा ठूलो विवाद नहुने बताए । अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा उनले जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज नभएको र कहिल्यै क्लोज नहुने बताए । मदन भण्डारीले नै जनताको जनवादलाई जबजको नाम दिएको उनको दाबी छ ।

प्रस्तुत छ, नेकपा स्थायी कमिटी सदस्य भुसालसँग गरिएको कुराकानी:

पहिले तपाईहरुको स्कूल विभागबारे आम मान्छेलाई चासो हुँदैनथ्यो । तर, यसपालि त यसले पार्टीको एकीकरण प्रक्रिया र निर्णय नै रोक्यो । यसमा के त्यस्तो आकर्षण छ र पार्टीलाई नै अनिर्णयको बन्दी बनाइयो ?

मुलुकको सबैभन्दा ठूलो पार्टी, सरकारको नेतृत्व गरिरहेको पार्टीको कार्य विभाजन सम्बन्धी महत्वपूर्ण विषय भएको हुनाले मुलुकको ध्यानाकर्षण हुनु त स्वभाविक कुरा हो । तर, पार्टीको आन्तरिक व्यवस्थापनको दृष्टिबाट हेर्ने हो भने यो पार्टी स्कूल विभाग नै त्यस्तो धेरै नेताहरुले तानातान गर्नुपर्ने, मलाई नै चाहिन्छ भन्नुपर्ने चाहिँ होइन ।

पार्टीमा सबै विभागको काम आ–आफ्नो ठाउँमा उत्तिकै हो । कुनै शक्तिशाली र कुनै कमजोर भनेर जुन ढंगले प्रचार भइरहेको छ, त्यस्तो होइन । सबै विभागहरुको हैसियत एउटै हो, कामको प्रकृति फरक छ, त्यतिमात्र हो ।

अरु सबै विभागको कुरा मिल्ने तर यही स्कूल विभागमा नमिल्ने कारण चाहिँ के हो त ? ईश्वर पोखरेल र नारायणकाजीको दाबी पनि देखियो, के यो व्यक्तिका कारण विवादित भएको हो ?

व्यक्तिकै कारणले भएको हो । त्योभन्दा अरु कारण केही पनि छैन । सबै विभागको अधिकार कर्तव्य नियमावलीभित्र लेखिएको छ । त्यही सीमाभित्र रहेर काम गर्ने हो । बाहिर चाहिँ यो विचारको नेतृत्व गर्ने विभाग हो भनेर प्रचारमा लगिएको पनि देखियो । यो हुँदै नभएको कुरा हो । कुनै विचारको नेतृत्व स्कूल विभागले गर्ने नै होइन ।

यो पार्टी स्कूल विभागले पार्टीका निर्णित विचार, सिद्धान्त र कार्यक्रमलाई तलसम्म लैजाने हो । त्यसको प्रशिक्षण चलाउने हो । कार्यकर्ता पंक्तिमा प्रशिक्षित गर्ने काम हो ।

तर, यहाँ त ईश्वर पोखरेललाई दियो भने पूरै जनताको बहुदलीय जनवादको कक्षा चलाउँछन् र नारायणकाजीलाई दियो भने जबज विरोधी विचार पढाउने हुन् कि भन्ने ढंगले पो बहस भयो त होइन ?

त्यो भ्रम फैलाइयो । तर, यथार्थ होइन । उहाँहरु भए पनि त्यो गर्न पाउनुहुन्न र सक्नुहुन्न । उहाँ एक्लैले चलाउने होइन । त्यहाँ विभाग हुन्छ, विभागमा छलफल र निर्णय हुन्छ । त्यसपछि पनि सिधै जाने होइन । प्रदेशमा, जिल्लामा त्यही स्तरका विभाग हुन्छन्, ती विभागमार्फत प्रशिक्षण चलाउन जाने हो । म त एक अवधि स्कूल विभाग प्रमुख भएर स्कूल चलाएर अनुभव प्राप्त गरेको मान्छे हुँ । त्यस हिसाबले भन्दैछु ।

तपाईको विचारमा यो विभागमा दुवै नेताले रुची देखाएका कारण मात्र इगो बनेको हो कि अरु पनि केही कारण छन् ?

शुरुमा चाहिँ उहाँहरुको चाहनाबाटै शुरु भयो । पछि चाहिँ इगो बन्यो । त्यो ईच्छाकै तहमा हुँदा छलफल गरेर मिलाएको भए सायद अहिलेसम्म मिलिसक्थ्यो होला । तर, त्यो बढ्दै गएर यस्तो भयो कि इगोमा परिणत भयो । अब मैले के देख्दैछु भने उहाँहरु दुईजनामध्ये कसैमा पनि सहमति हुने सम्भावना म देख्दिनँ । तेस्रो व्यक्तिमा जानुपर्ने हुन्छ ।

तपाई आफैं स्कूल विभाग प्रमुख भएर चलाइसकेको मान्छे, पाठ्यक्रम पनि बनाइसक्नुभएको हो । अहिले झलनाथ खनालदेखि घनश्याम भुसालसम्मले पनि स्कुल विभागमा दाबी गर्नुभएको छ । तपाईले चाहिँ दाबी पेश गर्नुभएको छैन ?

मेरो दाबी छ । मैले बाहिर अरु नेताहरुको जस्तो प्रचार गरेको छैन । तर, पनि मैले कतिपय साथीलाई भनेको छु । मेरो त अझ सशक्त दाबी के छ भने, अहिलेसम्म भएका हामी पूर्वएमालेको हिसाबले भन्दाखेरि ६/७ जना स्कूल विभागको प्रमुख भएका छौं ।

मोदनाथ प्रश्रित हुनुभयो, माधव नेपाल हुनुभयो । केपी ओली र झलनाथ खनाल हुनुभयो र युवराज ज्ञवाली पनि हुनुभयो । त्यसपछि म भएको हुँ । हामीले पाठ्यक्रम तयार पारेका थियौं । पाठ्यपुस्तक लेख्ने तहमा पुगेका थियौं । मेरो पालामा चाहिँ त्यो पाठ्यक्रमलाई परिमाजित गरेर पाठ्यपुस्तक भाग एक, भाग दुई र भाग तीन भन्ने लेखेर त्यसका आधारमा कक्षा सञ्चालन गरेका थियौं ।

विभिन्न १३ वटा विषय थिए । त्यसमा कक्षा सञ्चालन गर्दा एउटा विषयको एउटा गु्रप हुन्थ्यो । १३ वटा विषयको १३ वटा गु्रप बनाएर हामीले स्कुल चलाउँथ्यौं । हामीले स्कुल परीक्षा लिन्थ्यौं ।नवौं महाधिवेशनमा जाँदाखेरि हामीले के स्थापित गरेका थियौं भने अब विभिन्न कमिटीमा पुग्नका निम्ति पार्टी स्कुल विभागको कक्षामा सहभागी भएर परीक्षामा उत्तीर्ण भएको पनि मापदण्ड राख्नुपर्छ भनेर विधानमा राखिएको छ । नवौं महाधिवेशनको विधानमा समेत राख्न प्रमुख भूमिका मैले निर्वाह गरेको हुँ ।

त्यसलाई पछि व्यवहारमा लैजान सकिएन । नवौं महाधिवेशनपछि अध्यक्ष केपी कमरेड यसको प्रमुख हुनुभयो । शंकर पोखरेल कमरेडलाई उपप्रमुख बनाएर सञ्चालन गर्ने जिम्मा दिइयो । त्यसलाई महाधिवेशनमा जसरी कार्यकर्ताको मापदण्ड बनाउने गरी चलाउनुपर्छ भनिएको थियो, त्यस ढंगले चलाउन सकिएन ।

त्यो स्पिरिटका साथ काम गर्ने हो भने त स्कुल विभाग मलाई दिनुपर्‍याे नि । म फेरि खाली पनि छु ।

अहिलेसम्म पूर्वएमालेबाट स्कूल विभागका दाबेदार तपाईसहित चारजना देखिनुभयो, तर पूर्वमाओवादीबाट नारायणकाजीको मात्र देखिनुले यो विभाग प्रमुख पूर्वएमालेमा बढी आकर्षण रहेछ हो ?

म पार्टी स्कूल विभागको प्रमुख हुँदा सबै कम्युनिस्ट समूहका पार्टी स्कुल विभागको बीचमा अन्तरक्रिया गर्ने भनेर एउटा कार्यक्रम गरेको थिएँ । दुई–दुईजना साथीहरुलाई बल्खुमा बोलाएको थिएँ । त्यतिबेला माओवादीबाट स्वनाम साथी र अर्को एकजना आउनुभएको थियो । अरु विभिन्न घटकबाट आउनुभएको थियो ।

त्यहाँ सबै साथीहरुको भनाइ के थियो भने तपाईहरुको जस्तो पाठ्यक्रम पाठ्य सामाग्री र यसखालको व्यवस्थित अफिस हाम्रो छैन । तपाईहरुको पाठ्यक्रम हामीलाई दिनुस, हामी पनि तपाईहरुकोबाट सिकेर अघि बढाउने प्रयत्न गर्छौं भनेर उहाँहरुले भन्नुभएको थियो । हामीले सामाग्री पनि दिएर पठाएको थियौं ।

त्योबेला सैद्धान्तिक कक्षाहरु साझा ढंगले चलाउँ भन्ने पनि भएको थियो । तर, माओवादीमा त्यतिबेला पनि व्यवस्थित स्कुल सञ्चालन हुँदो रहेन छ । उहाँहरुले त्यतिबेला पनि यसमा तपाईहरुले पहल लिनुस् भन्नुभएको थियो ।

स्कुल विभागको चर्चाअघि नै जबजबारे ईश्वर पोखरेलका नाममा जसरी विवाद भएर उहाँलाई एक पक्षले अश्वीकार गर्ने अवस्था आयो । यो विभागको नेतृत्व गर्न अयोग्य भएर हो वा अरु कुनै कारण होला ईश्वर पोखरेल अस्वीकृत भएका हुन् ?

अयोग्य त कोही पनि छैनन् । ईश्वर पोखरेललाई अयोग्य भन्ने कुरा त हुँदै होइन । स्कुल विभाग सञ्चालन गर्ने भनेको व्यवस्थापन गर्ने पनि हो । आफैं प्रशिक्षक हुनुपर्छ भन्ने पनि छैन ।

मलाई के लाग्छ भने योबीचमा जनताको जनवाद कि जनताको बहुदलीय जनवाद भन्नेखालको एउटा विवाद भयो । त्यो विवादले अहिलेको विवाद जन्माएको हो कि जस्तो लाग्छ मलाई ।

सिधा–सिधा भन्दा जनताको बहुदलीय जनवादको वकालत गर्नु ईश्वर पोखरेलका लागि ‘ब्याकफायर’ भएको हो ?

तपाईहरुले भन्ने कुरा एउटा हो । मलाई पनि त्यो विषयले अहिलेको विवादलाई आधार प्रदान गर्‍याे जस्तो नै लाग्छ ।

माधव नेपाल लगायतका नेता पनि ईश्वर पोखरेल हुनुहुँदैन भन्ने लाइनमा देखिएपछि पूर्वएमालेभित्रै उहाँले आफ्नो पक्षमा माहौल बनाउन सक्नुभएन होइन ?

यसमा चाहिँ के छ भने ईश्वर कमरेडले विगतमा पार्टी स्कुल चलाउनुभएको छैन । त्यसकारण उहाँको यसमा खासै अनुभव छैन भन्ने एउटा पाटो त छ । अर्को कुरा, माधव नेपालले भन्नुभएको त मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी नदिने भन्ने त उहाँको एउटा अडान छ नि त ।

तर अरुले त जिम्मेवारी पाइसके नि ?

अरुले पाएका कुरामा पनि उहाँको सहमति छैन नि । उहाँको फरक मत जारी नै छ नि । अहिले पनि उहाँको अडान भनेको, दोहोरो जिम्मेवारी दिने कुरामा म सहमत छैन भन्ने नै हो ।

ईश्वर पोखरेल भएकै कारण होइन । हिजो–अस्ति पनि मेरो उहाँसँग कुरा भएको थियो । के हो त ईश्वरका बारेमा भनेर मैले जोडेरै कुरा गरेको छु । उहाँले होइन, होइन व्यक्तिका बारेमा कुरा होइन, दोहोरो जिम्मेवारी नदिउँ भनेको मान्दै मान्दैनन् भन्नुहुन्छ ।

त्यसोभए नेकपामा जसले बहुदलीय जनवादको कुरा बोक्छ, त्यो डामिने अवस्था हो ?

त्यसरीचाहिँ यसलाई हेर्न हुन्न होला । बोल्ने समय पनि हुन्छ । कुन समयमा बोल्ने भन्ने कुरा हो । हामीले पार्टी एकता गर्ने बेलामा एउटा सहमति गरेका छौं । जनताको बहुदलीय जनवाद, एक्काइसौं शताव्दीमा जनवादको विकाससम्बन्धी अवधारणा र माओवादसम्बन्धी विषयमा आवश्यक पर्‍याे भने महाधिवेशनमा छलफल गरौंला, त्योभन्दा अघि जनताको जनवाद भनेर जाउँ भन्ने सहमति गरिएको छ ।
सहमति गर्ने त त्यतिबेला बनेको पार्टी एकता संयोजन समितिमा छलफल भएको थियो । आठ जनाको त्यो संयोजन समितिमा कमरेड ईश्वर पोखरेल पनि हुनुहुन्थ्यो । पूर्वएमालेबाट ५ जना र पूर्व माओवादीबाट ३ जना हुनुहुन्थ्यो । ८ जनाले सहमति गरिसकेपछि दुवै पार्टीमा छलफल गराएर पास गरेर महाधिवेशनसम्म यही भनेर जान्छौं भनेर अघि बढेको हो ।

यसरी अघि बढेको विषयलाई बीचमा उठाउने कुरा मलाई पनि उपयुक्त लाग्दैन । बीचमा उठाइएकाले यो अलि बढी विवादित भयो । यो विषय उठाउनै पाइँदैन भन्ने हो भने त पार्टीभित्र बैचारिक बहस नै गर्न पाइँदैन भन्ने भयो । त्यसरी त भन्न पाइँदैन । समय कतिखेर हो बहस गर्ने भन्ने विचार गर्नुपर्ने हो । तर, उहाँले जबजको बहस गरेकै कारण कुनै पनि ठाउँ दिनुहुँदैन भनिएको हो भने त्योचाहिँ गलत हो ।

तपाई त जबजमै पीएचडी गरेको मान्छे, अहिले धेरै जबजका पण्डितहरु निस्किएका छन् । तर, च्याप्टर क्लोज भएर जनताको जनवादमा पुगिसकेको नेकपा फेरि जबजमै फर्किन सक्छ र ?

जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भएको छैन । पहिलो कुरा, त्यो शब्द प्रयोग गर्न हुँदैन । किनभने जनताको बहुदलीय जनवादका चारवटा आयाम छन् । ती चारवटा आयाम भनेको एउटा त महत्वपूर्ण आयाम छ, दार्शनिक सैद्धान्तिक आयाम । जसका बारेमा तपाईले भनेका मार्क्र्सवादी पण्डितहरुले धेरै चर्चा गरेको मैले भेटाउदिनँ ।

ती आयामका बारेमा त अहिले चर्चा गर्न सम्भव छैन । त्यसको च्याप्टर समाजवादसम्म पनि क्लोज हुँदैन । त्यसको कैयौं मान्यता त साम्यवादमा हामी पुग्यौं भने पनि रहन्छन् । मदन भण्डारीले भन्नुभएको छ, द्वन्द्वको नियम सार्वभौम भएकाले यो सर्वत्र लागुहुन्छ । त्यो ठ्याक्कै कार्ल मार्क्र्सको द्वन्द्ववादको नेपाली व्याख्या । त्यसको सन्दर्भ कहिल्यै पनि क्लोज हुँदैन ।

मदन भण्डारीका नाममा अनेकौं संस्था चलेका छन् । तर, उहाँको दार्शनिक योगदानको चर्चा कहीँ भएको छैन । त्यसैले जबजको र मदन भण्डारीको दार्शनिक सैद्धान्तिक पक्षको च्याप्टर क्लोज त हुनै सक्दैन ।

दोस्रो यसको राजनीतिक पक्ष छ । जबजले जुन राजनीतिक लक्ष्य राखेको छ, ती लक्ष्यमा हामी पुगेका छौं । अब अगाडि कसरी बढ्ने भन्नेमा छौं । जबजले जनवादी व्यवस्था प्राप्त भइसकेपछि तीन चरणमा हामी अघि बढ्नेछौं र समाजवादमा पुग्नेछौं भनेको छ ।

तीन चरणमध्ये मेरो अध्ययनको निष्कर्षमा हामी पहिलो चरणमा छौं । पुरानो व्यवस्थाका सामन्तवादका अवशेषहरु समाप्त पार्ने चरणमा छौं । राजनीतिक र आर्थिक पक्षको आधार हामीले बनाइसकेका छैनाैं ।

अहिले तपाईले भनेको जबज कोमामा होला, अहिले भनेको जनताको जनवाद त्यो भन्दा उन्नत भएर ल्याएको हो भने फेरि त्यसमा फर्किन सम्भव छ त ?

मदन भण्डारीलाई नै सापट लिएर म के भन्छु भने, जनताको बहुदलीय जनवाद भनेको जनताको जनवाद नै हो हो । यो कुरा उहाँले नै भन्नुभएको छ । यसको अन्तरवस्तु जनताको जनवाद नै हो । यसको अन्तरवस्तु नयाँ जनवाद नै हो । यसका रुपमा हामीले केही परिवर्तन गरेका छौं ।

मदनले के भन्नुभएको छ भने, रुपलाई प्रयोग गर्छौं, सारलाई बदल्छौं । त्यसकारण जनताको बहुदलीय जनवाद भन्ने जुन शब्द हो यो रुप पक्ष हो । यसलाई जनताको जनवाद भने पनि जनताको बहुदलीय जनवाद भने पनि अन्तरवस्तु उही हो ।

ठीक छ, रुप सार जे भने पनि सिद्धान्त र विचार त लिखित दस्तावेजमा हुन्छ । जनताको बहुदलीय जनवाद वा एक्काइसौं शताव्दीको जनवाद दुबै अहिले स्थगनमा रहेका बेला जनताको जनवाद भन्ने कन्टेन्ट लिखित छ कि के छ ?

डकुमेन्ट हुन्छ र डकुमेन्टभित्र कन्टेन्ट हुन्छन् । कन्टेन्टहरु जे नाममा पनि राख्न सकिन्छ । जनताको बहुदली जनवादका कन्टेन्टहरु नै यो जनताको जनवादमा छन् । जनताको जनवाद भन्नेचाहिँ नयाँ कुरा होइन ।

जनताको जनवाद भन्ने शब्द दोस्रो विश्वयुद्धताका युरोपमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारहरु बनेपछि पिपुल्स डेमोक्रेसी भनिएको थियो । चीनमा चाहिँ नयाँ जनवाद भनियो । नेपालमा आउँदा बहुदलीयता सहितको हुन्छ भनेर बहुदलीय जनवाद भन्यौं । यो कुरा स्वयं मदन भण्डारीले भन्नुभएको छ ।

त्यसोभए नाम जनताको जनवाद भनिए पनि कन्टेन्टचाहिँ लगभग जबजकै हुन् त ?

लगभग होइन, सम्पूर्णरुपमा त्यही हो । विषयवस्तुको हिसाबले विवाद गर्नुपर्ने केही पनि छैन । नाम हामीले दिन्छौं भनेर बहस गर्ने हो भने सकिएला । जब अन्तरवस्तु त्यही हो भने नाममा सहमतिका निम्ति नाम हेरफेर गरौं भन्दा आपत्ति मान्नुपर्दैन ।

तपाईले पीएचडी गरेको विषयको नामै नरहने भनेपछि मेरो डिग्रीको विषय नै गायव भयो कि जस्तो लाग्दैन ?

मैले त यसको इतिहास खोजेको हुँ । मेरो पीएचडीको थेसिस के हो भने, जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम भन्ने हो । यो कसरी विकास भएर आयो भनेर मैले २५० पेजको थेसिस छ । मैले त्यसमा विस्तृत ब्याख्या गरेको छु ।

त्यसो भए त यो विभाग तपाईलाई दिए हुने रहेछ नि ?

मैले त त्यही भनेको हो । यो विभागलाई व्यवस्थितरुपले अघि बढाउने हो भने अरु कतैतिर जिम्मेवारी नभएका मान्छेलाई दिनुपर्छ । केही मान्छेको टिम बनाइदियो भने फेरि पनि नयाँ उचाइमा पाठ्यक्रम बनाएर ठूलो मात्रामा पार्टी प्रशिक्षण अभियान चलाउनुपर्ने आवश्यकता छ ।

अरु कुनै जिम्मेवारी भएका नेताहरुलाई यो विभाग दिदा कामकाजी हुँदैन । यहाँ चाहिँ कसलाई दिने भन्ने हेरिरहँदा अलि धेरै समय दिन सक्ने मान्छे राख्नुपर्ने हो । त्यसरी हेर्दा अहिले जो जो दावी गर्नुभएको छ,ती सबै एउटा एउटा काममा हुनुहुन्छ ।

नारायणकाजी प्रवक्ता हुनुहुन्छ, ईश्वर पोखरेल उपप्रधानमन्त्री हुनुहुन्छ । झलनाथ खनाल बरिष्ठ नेता हुनुहुन्छ, उता संसदमा पनि हुनुहुन्छ । घनश्याम भुसालजी पनि संसदमा सक्रिय हुनुहुन्छ । मन्त्री बन्ने लाइनमा पनि हुनुहुन्छ । म त फ्री छु । मलाई सबै चीजबाट बञ्चित पनि गरिएको छ ।

म पनि संसदमा पुग्ने मुखमै पुगेको थिएँ । मलाई त्यहाँबाट पनि बन्चित गरिएकाले स्कूल विभाग दिए हुने हो । त्यो विभागमो अनुभव पनि मलाई छ र मसँग स्कूल चलाउने क्षमता पनि छ ।

स्कुल विभागचाहिँ नेपाली कांग्रेस लगायतका पार्टीमा छैन, नेकपामा चाहिँ यति ठूलो मानिँदोरहेछ, नेपालमा मात्र होइन कि अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीमा पनि यस्तो अभ्यास छ ?

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अभ्यास छ र नै हामीले यसमा अभ्यास गरेका हौं । चिनियाँ कम्युनिस्ट पार्टीले त विश्वविद्यालयस्तरको पार्टी स्कूल विभाग चलाउँछ । हामी जति पनि जान्छौं, हामीलाई कम्तिमा एक दिन त्यहाँको पार्टी स्कुलमा सहभागी गराउँछन् । झलनाथ खनाल अध्यक्ष हुँदा त उहाँ र म तीन दिन पार्टी स्कुलमा सहभागी भएका थियौं ।

चिनियाँ कम्युनिस्ट पार्टीमा त यति व्यवस्थित छ कि चाउएनलाई कुनै बेला पार्टी स्कुल विभागको प्रमुख हुनुहुन्थ्यो । अहिलेको राष्ट्रपति सी जिनपिङ पार्टी स्कुल विभाग प्रमुख भएर आएका हुन् । उनले पार्टी स्कुल विभाग प्रमुख हुँदा लेखेको सानो पुस्तक मसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment