१० साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद पेचिलो बनिरहेका बेला झलनाथ खनालदेखि घनश्याम भुसालसम्मका नेताले आफूलाई उक्त विभाग दिन आग्रह गरिरहेका छन् । ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठका नाममा सहमति नजुटेपछि विकल्पमा नामहरु थपिइरहेका छन् । र, यही क्रममा अर्का दाबेदार निस्किएका छन्– डा.वेदुराम भुसाल ।
साविक नेकपा एमालेमा ५ वर्ष स्कूल विभाग प्रमुख भइसकेका वेदुराम भुसालको अर्को विशेषता धेरैलाई थाहा नहुन सक्छ । उनी जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रमका विषयमा विद्यावारिधि गर्ने नेतासमेत हुन् ।
डा. भुसालले अनलाइनखबरसँग कुरा गर्दै स्कूल विभागलाई स्कूलकै रुपमा सञ्चालन गर्ने हो भने आफू त्यो जिम्मेवारीका लागि उपयुक्त पात्र रहेको दाबी गरे ।
नेकपा स्थायी कमिटी सदस्य भुसाल पछिल्लो समय राष्ट्रियसभा सदस्य उम्मेदवार भए पनि पार्टीले बलराम बास्कोटा जिताउन उनको उम्मेदवारी फिर्ता गराएको थियो । पार्टीभित्र वैचारिक सैद्धान्तिक प्रशिक्षकको छवि बनाएका भुसाल लाभको पदमा भने बिरलै पुगेका छन् । उनले आफू स्कूल विभाग प्रमुख हुँदा तीनवटा पाठ्यपुस्तक र १३ वटा पाठ्यक्रमसहित पार्टीमा स्कूल मात्र चलाएनन्, कार्यकर्ताको परीक्षा समेत लिएका थिए । पार्टी स्कुलको परीक्षामा पास हुनेलाई मात्र कमिटीमा स्थान दिने उनको प्रस्ताव नवौं महाधिवेशनले पारित गरे पनि लागू गर्ने बेला उनी स्कूल विभागबाट बाहिरिए ।
अहिले स्कूल विभागको दाबी गरिरहेका दुई शीर्ष नेताका नाममा सहमति हुने सम्भावना कम रहेकाले आफूलाई स्कूल विभाग दिनुपर्ने उनको आग्रह छ । जबजमा पीएचडी गरेका भुसालले नेकपाको अहिलेको सिद्धान्त जनताको जनवादका सबै विषयवस्तु जबजकै रहेकाले नाममा ठूलो विवाद नहुने बताए । अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा उनले जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज नभएको र कहिल्यै क्लोज नहुने बताए । मदन भण्डारीले नै जनताको जनवादलाई जबजको नाम दिएको उनको दाबी छ ।
प्रस्तुत छ, नेकपा स्थायी कमिटी सदस्य भुसालसँग गरिएको कुराकानी:
पहिले तपाईहरुको स्कूल विभागबारे आम मान्छेलाई चासो हुँदैनथ्यो । तर, यसपालि त यसले पार्टीको एकीकरण प्रक्रिया र निर्णय नै रोक्यो । यसमा के त्यस्तो आकर्षण छ र पार्टीलाई नै अनिर्णयको बन्दी बनाइयो ?
मुलुकको सबैभन्दा ठूलो पार्टी, सरकारको नेतृत्व गरिरहेको पार्टीको कार्य विभाजन सम्बन्धी महत्वपूर्ण विषय भएको हुनाले मुलुकको ध्यानाकर्षण हुनु त स्वभाविक कुरा हो । तर, पार्टीको आन्तरिक व्यवस्थापनको दृष्टिबाट हेर्ने हो भने यो पार्टी स्कूल विभाग नै त्यस्तो धेरै नेताहरुले तानातान गर्नुपर्ने, मलाई नै चाहिन्छ भन्नुपर्ने चाहिँ होइन ।
पार्टीमा सबै विभागको काम आ–आफ्नो ठाउँमा उत्तिकै हो । कुनै शक्तिशाली र कुनै कमजोर भनेर जुन ढंगले प्रचार भइरहेको छ, त्यस्तो होइन । सबै विभागहरुको हैसियत एउटै हो, कामको प्रकृति फरक छ, त्यतिमात्र हो ।
अरु सबै विभागको कुरा मिल्ने तर यही स्कूल विभागमा नमिल्ने कारण चाहिँ के हो त ? ईश्वर पोखरेल र नारायणकाजीको दाबी पनि देखियो, के यो व्यक्तिका कारण विवादित भएको हो ?
व्यक्तिकै कारणले भएको हो । त्योभन्दा अरु कारण केही पनि छैन । सबै विभागको अधिकार कर्तव्य नियमावलीभित्र लेखिएको छ । त्यही सीमाभित्र रहेर काम गर्ने हो । बाहिर चाहिँ यो विचारको नेतृत्व गर्ने विभाग हो भनेर प्रचारमा लगिएको पनि देखियो । यो हुँदै नभएको कुरा हो । कुनै विचारको नेतृत्व स्कूल विभागले गर्ने नै होइन ।
यो पार्टी स्कूल विभागले पार्टीका निर्णित विचार, सिद्धान्त र कार्यक्रमलाई तलसम्म लैजाने हो । त्यसको प्रशिक्षण चलाउने हो । कार्यकर्ता पंक्तिमा प्रशिक्षित गर्ने काम हो ।
तर, यहाँ त ईश्वर पोखरेललाई दियो भने पूरै जनताको बहुदलीय जनवादको कक्षा चलाउँछन् र नारायणकाजीलाई दियो भने जबज विरोधी विचार पढाउने हुन् कि भन्ने ढंगले पो बहस भयो त होइन ?
त्यो भ्रम फैलाइयो । तर, यथार्थ होइन । उहाँहरु भए पनि त्यो गर्न पाउनुहुन्न र सक्नुहुन्न । उहाँ एक्लैले चलाउने होइन । त्यहाँ विभाग हुन्छ, विभागमा छलफल र निर्णय हुन्छ । त्यसपछि पनि सिधै जाने होइन । प्रदेशमा, जिल्लामा त्यही स्तरका विभाग हुन्छन्, ती विभागमार्फत प्रशिक्षण चलाउन जाने हो । म त एक अवधि स्कूल विभाग प्रमुख भएर स्कूल चलाएर अनुभव प्राप्त गरेको मान्छे हुँ । त्यस हिसाबले भन्दैछु ।
तपाईको विचारमा यो विभागमा दुवै नेताले रुची देखाएका कारण मात्र इगो बनेको हो कि अरु पनि केही कारण छन् ?
शुरुमा चाहिँ उहाँहरुको चाहनाबाटै शुरु भयो । पछि चाहिँ इगो बन्यो । त्यो ईच्छाकै तहमा हुँदा छलफल गरेर मिलाएको भए सायद अहिलेसम्म मिलिसक्थ्यो होला । तर, त्यो बढ्दै गएर यस्तो भयो कि इगोमा परिणत भयो । अब मैले के देख्दैछु भने उहाँहरु दुईजनामध्ये कसैमा पनि सहमति हुने सम्भावना म देख्दिनँ । तेस्रो व्यक्तिमा जानुपर्ने हुन्छ ।
तपाई आफैं स्कूल विभाग प्रमुख भएर चलाइसकेको मान्छे, पाठ्यक्रम पनि बनाइसक्नुभएको हो । अहिले झलनाथ खनालदेखि घनश्याम भुसालसम्मले पनि स्कुल विभागमा दाबी गर्नुभएको छ । तपाईले चाहिँ दाबी पेश गर्नुभएको छैन ?
मेरो दाबी छ । मैले बाहिर अरु नेताहरुको जस्तो प्रचार गरेको छैन । तर, पनि मैले कतिपय साथीलाई भनेको छु । मेरो त अझ सशक्त दाबी के छ भने, अहिलेसम्म भएका हामी पूर्वएमालेको हिसाबले भन्दाखेरि ६/७ जना स्कूल विभागको प्रमुख भएका छौं ।
मोदनाथ प्रश्रित हुनुभयो, माधव नेपाल हुनुभयो । केपी ओली र झलनाथ खनाल हुनुभयो र युवराज ज्ञवाली पनि हुनुभयो । त्यसपछि म भएको हुँ । हामीले पाठ्यक्रम तयार पारेका थियौं । पाठ्यपुस्तक लेख्ने तहमा पुगेका थियौं । मेरो पालामा चाहिँ त्यो पाठ्यक्रमलाई परिमाजित गरेर पाठ्यपुस्तक भाग एक, भाग दुई र भाग तीन भन्ने लेखेर त्यसका आधारमा कक्षा सञ्चालन गरेका थियौं ।
विभिन्न १३ वटा विषय थिए । त्यसमा कक्षा सञ्चालन गर्दा एउटा विषयको एउटा गु्रप हुन्थ्यो । १३ वटा विषयको १३ वटा गु्रप बनाएर हामीले स्कुल चलाउँथ्यौं । हामीले स्कुल परीक्षा लिन्थ्यौं ।
नवौं महाधिवेशनमा जाँदाखेरि हामीले के स्थापित गरेका थियौं भने अब विभिन्न कमिटीमा पुग्नका निम्ति पार्टी स्कुल विभागको कक्षामा सहभागी भएर परीक्षामा उत्तीर्ण भएको पनि मापदण्ड राख्नुपर्छ भनेर विधानमा राखिएको छ । नवौं महाधिवेशनको विधानमा समेत राख्न प्रमुख भूमिका मैले निर्वाह गरेको हुँ ।
त्यसलाई पछि व्यवहारमा लैजान सकिएन । नवौं महाधिवेशनपछि अध्यक्ष केपी कमरेड यसको प्रमुख हुनुभयो । शंकर पोखरेल कमरेडलाई उपप्रमुख बनाएर सञ्चालन गर्ने जिम्मा दिइयो । त्यसलाई महाधिवेशनमा जसरी कार्यकर्ताको मापदण्ड बनाउने गरी चलाउनुपर्छ भनिएको थियो, त्यस ढंगले चलाउन सकिएन ।
त्यो स्पिरिटका साथ काम गर्ने हो भने त स्कुल विभाग मलाई दिनुपर्याे नि । म फेरि खाली पनि छु ।
अहिलेसम्म पूर्वएमालेबाट स्कूल विभागका दाबेदार तपाईसहित चारजना देखिनुभयो, तर पूर्वमाओवादीबाट नारायणकाजीको मात्र देखिनुले यो विभाग प्रमुख पूर्वएमालेमा बढी आकर्षण रहेछ हो ?
म पार्टी स्कूल विभागको प्रमुख हुँदा सबै कम्युनिस्ट समूहका पार्टी स्कुल विभागको बीचमा अन्तरक्रिया गर्ने भनेर एउटा कार्यक्रम गरेको थिएँ । दुई–दुईजना साथीहरुलाई बल्खुमा बोलाएको थिएँ । त्यतिबेला माओवादीबाट स्वनाम साथी र अर्को एकजना आउनुभएको थियो । अरु विभिन्न घटकबाट आउनुभएको थियो ।
त्यहाँ सबै साथीहरुको भनाइ के थियो भने तपाईहरुको जस्तो पाठ्यक्रम पाठ्य सामाग्री र यसखालको व्यवस्थित अफिस हाम्रो छैन । तपाईहरुको पाठ्यक्रम हामीलाई दिनुस, हामी पनि तपाईहरुकोबाट सिकेर अघि बढाउने प्रयत्न गर्छौं भनेर उहाँहरुले भन्नुभएको थियो । हामीले सामाग्री पनि दिएर पठाएको थियौं ।
त्योबेला सैद्धान्तिक कक्षाहरु साझा ढंगले चलाउँ भन्ने पनि भएको थियो । तर, माओवादीमा त्यतिबेला पनि व्यवस्थित स्कुल सञ्चालन हुँदो रहेन छ । उहाँहरुले त्यतिबेला पनि यसमा तपाईहरुले पहल लिनुस् भन्नुभएको थियो ।
स्कुल विभागको चर्चाअघि नै जबजबारे ईश्वर पोखरेलका नाममा जसरी विवाद भएर उहाँलाई एक पक्षले अश्वीकार गर्ने अवस्था आयो । यो विभागको नेतृत्व गर्न अयोग्य भएर हो वा अरु कुनै कारण होला ईश्वर पोखरेल अस्वीकृत भएका हुन् ?
अयोग्य त कोही पनि छैनन् । ईश्वर पोखरेललाई अयोग्य भन्ने कुरा त हुँदै होइन । स्कुल विभाग सञ्चालन गर्ने भनेको व्यवस्थापन गर्ने पनि हो । आफैं प्रशिक्षक हुनुपर्छ भन्ने पनि छैन ।
मलाई के लाग्छ भने योबीचमा जनताको जनवाद कि जनताको बहुदलीय जनवाद भन्नेखालको एउटा विवाद भयो । त्यो विवादले अहिलेको विवाद जन्माएको हो कि जस्तो लाग्छ मलाई ।
सिधा–सिधा भन्दा जनताको बहुदलीय जनवादको वकालत गर्नु ईश्वर पोखरेलका लागि ‘ब्याकफायर’ भएको हो ?
तपाईहरुले भन्ने कुरा एउटा हो । मलाई पनि त्यो विषयले अहिलेको विवादलाई आधार प्रदान गर्याे जस्तो नै लाग्छ ।
माधव नेपाल लगायतका नेता पनि ईश्वर पोखरेल हुनुहुँदैन भन्ने लाइनमा देखिएपछि पूर्वएमालेभित्रै उहाँले आफ्नो पक्षमा माहौल बनाउन सक्नुभएन होइन ?
यसमा चाहिँ के छ भने ईश्वर कमरेडले विगतमा पार्टी स्कुल चलाउनुभएको छैन । त्यसकारण उहाँको यसमा खासै अनुभव छैन भन्ने एउटा पाटो त छ । अर्को कुरा, माधव नेपालले भन्नुभएको त मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी नदिने भन्ने त उहाँको एउटा अडान छ नि त ।
तर अरुले त जिम्मेवारी पाइसके नि ?
अरुले पाएका कुरामा पनि उहाँको सहमति छैन नि । उहाँको फरक मत जारी नै छ नि । अहिले पनि उहाँको अडान भनेको, दोहोरो जिम्मेवारी दिने कुरामा म सहमत छैन भन्ने नै हो ।
ईश्वर पोखरेल भएकै कारण होइन । हिजो–अस्ति पनि मेरो उहाँसँग कुरा भएको थियो । के हो त ईश्वरका बारेमा भनेर मैले जोडेरै कुरा गरेको छु । उहाँले होइन, होइन व्यक्तिका बारेमा कुरा होइन, दोहोरो जिम्मेवारी नदिउँ भनेको मान्दै मान्दैनन् भन्नुहुन्छ ।
त्यसोभए नेकपामा जसले बहुदलीय जनवादको कुरा बोक्छ, त्यो डामिने अवस्था हो ?
त्यसरीचाहिँ यसलाई हेर्न हुन्न होला । बोल्ने समय पनि हुन्छ । कुन समयमा बोल्ने भन्ने कुरा हो । हामीले पार्टी एकता गर्ने बेलामा एउटा सहमति गरेका छौं । जनताको बहुदलीय जनवाद, एक्काइसौं शताव्दीमा जनवादको विकाससम्बन्धी अवधारणा र माओवादसम्बन्धी विषयमा आवश्यक पर्याे भने महाधिवेशनमा छलफल गरौंला, त्योभन्दा अघि जनताको जनवाद भनेर जाउँ भन्ने सहमति गरिएको छ ।
सहमति गर्ने त त्यतिबेला बनेको पार्टी एकता संयोजन समितिमा छलफल भएको थियो । आठ जनाको त्यो संयोजन समितिमा कमरेड ईश्वर पोखरेल पनि हुनुहुन्थ्यो । पूर्वएमालेबाट ५ जना र पूर्व माओवादीबाट ३ जना हुनुहुन्थ्यो । ८ जनाले सहमति गरिसकेपछि दुवै पार्टीमा छलफल गराएर पास गरेर महाधिवेशनसम्म यही भनेर जान्छौं भनेर अघि बढेको हो ।
यसरी अघि बढेको विषयलाई बीचमा उठाउने कुरा मलाई पनि उपयुक्त लाग्दैन । बीचमा उठाइएकाले यो अलि बढी विवादित भयो । यो विषय उठाउनै पाइँदैन भन्ने हो भने त पार्टीभित्र बैचारिक बहस नै गर्न पाइँदैन भन्ने भयो । त्यसरी त भन्न पाइँदैन । समय कतिखेर हो बहस गर्ने भन्ने विचार गर्नुपर्ने हो । तर, उहाँले जबजको बहस गरेकै कारण कुनै पनि ठाउँ दिनुहुँदैन भनिएको हो भने त्योचाहिँ गलत हो ।
तपाई त जबजमै पीएचडी गरेको मान्छे, अहिले धेरै जबजका पण्डितहरु निस्किएका छन् । तर, च्याप्टर क्लोज भएर जनताको जनवादमा पुगिसकेको नेकपा फेरि जबजमै फर्किन सक्छ र ?
जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भएको छैन । पहिलो कुरा, त्यो शब्द प्रयोग गर्न हुँदैन । किनभने जनताको बहुदलीय जनवादका चारवटा आयाम छन् । ती चारवटा आयाम भनेको एउटा त महत्वपूर्ण आयाम छ, दार्शनिक सैद्धान्तिक आयाम । जसका बारेमा तपाईले भनेका मार्क्र्सवादी पण्डितहरुले धेरै चर्चा गरेको मैले भेटाउदिनँ ।
ती आयामका बारेमा त अहिले चर्चा गर्न सम्भव छैन । त्यसको च्याप्टर समाजवादसम्म पनि क्लोज हुँदैन । त्यसको कैयौं मान्यता त साम्यवादमा हामी पुग्यौं भने पनि रहन्छन् । मदन भण्डारीले भन्नुभएको छ, द्वन्द्वको नियम सार्वभौम भएकाले यो सर्वत्र लागुहुन्छ । त्यो ठ्याक्कै कार्ल मार्क्र्सको द्वन्द्ववादको नेपाली व्याख्या । त्यसको सन्दर्भ कहिल्यै पनि क्लोज हुँदैन ।
मदन भण्डारीका नाममा अनेकौं संस्था चलेका छन् । तर, उहाँको दार्शनिक योगदानको चर्चा कहीँ भएको छैन । त्यसैले जबजको र मदन भण्डारीको दार्शनिक सैद्धान्तिक पक्षको च्याप्टर क्लोज त हुनै सक्दैन ।
दोस्रो यसको राजनीतिक पक्ष छ । जबजले जुन राजनीतिक लक्ष्य राखेको छ, ती लक्ष्यमा हामी पुगेका छौं । अब अगाडि कसरी बढ्ने भन्नेमा छौं । जबजले जनवादी व्यवस्था प्राप्त भइसकेपछि तीन चरणमा हामी अघि बढ्नेछौं र समाजवादमा पुग्नेछौं भनेको छ ।
तीन चरणमध्ये मेरो अध्ययनको निष्कर्षमा हामी पहिलो चरणमा छौं । पुरानो व्यवस्थाका सामन्तवादका अवशेषहरु समाप्त पार्ने चरणमा छौं । राजनीतिक र आर्थिक पक्षको आधार हामीले बनाइसकेका छैनाैं ।
अहिले तपाईले भनेको जबज कोमामा होला, अहिले भनेको जनताको जनवाद त्यो भन्दा उन्नत भएर ल्याएको हो भने फेरि त्यसमा फर्किन सम्भव छ त ?
मदन भण्डारीलाई नै सापट लिएर म के भन्छु भने, जनताको बहुदलीय जनवाद भनेको जनताको जनवाद नै हो हो । यो कुरा उहाँले नै भन्नुभएको छ । यसको अन्तरवस्तु जनताको जनवाद नै हो । यसको अन्तरवस्तु नयाँ जनवाद नै हो । यसका रुपमा हामीले केही परिवर्तन गरेका छौं ।
मदनले के भन्नुभएको छ भने, रुपलाई प्रयोग गर्छौं, सारलाई बदल्छौं । त्यसकारण जनताको बहुदलीय जनवाद भन्ने जुन शब्द हो यो रुप पक्ष हो । यसलाई जनताको जनवाद भने पनि जनताको बहुदलीय जनवाद भने पनि अन्तरवस्तु उही हो ।
ठीक छ, रुप सार जे भने पनि सिद्धान्त र विचार त लिखित दस्तावेजमा हुन्छ । जनताको बहुदलीय जनवाद वा एक्काइसौं शताव्दीको जनवाद दुबै अहिले स्थगनमा रहेका बेला जनताको जनवाद भन्ने कन्टेन्ट लिखित छ कि के छ ?
डकुमेन्ट हुन्छ र डकुमेन्टभित्र कन्टेन्ट हुन्छन् । कन्टेन्टहरु जे नाममा पनि राख्न सकिन्छ । जनताको बहुदली जनवादका कन्टेन्टहरु नै यो जनताको जनवादमा छन् । जनताको जनवाद भन्नेचाहिँ नयाँ कुरा होइन ।
जनताको जनवाद भन्ने शब्द दोस्रो विश्वयुद्धताका युरोपमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारहरु बनेपछि पिपुल्स डेमोक्रेसी भनिएको थियो । चीनमा चाहिँ नयाँ जनवाद भनियो । नेपालमा आउँदा बहुदलीयता सहितको हुन्छ भनेर बहुदलीय जनवाद भन्यौं । यो कुरा स्वयं मदन भण्डारीले भन्नुभएको छ ।
त्यसोभए नाम जनताको जनवाद भनिए पनि कन्टेन्टचाहिँ लगभग जबजकै हुन् त ?
लगभग होइन, सम्पूर्णरुपमा त्यही हो । विषयवस्तुको हिसाबले विवाद गर्नुपर्ने केही पनि छैन । नाम हामीले दिन्छौं भनेर बहस गर्ने हो भने सकिएला । जब अन्तरवस्तु त्यही हो भने नाममा सहमतिका निम्ति नाम हेरफेर गरौं भन्दा आपत्ति मान्नुपर्दैन ।
तपाईले पीएचडी गरेको विषयको नामै नरहने भनेपछि मेरो डिग्रीको विषय नै गायव भयो कि जस्तो लाग्दैन ?
मैले त यसको इतिहास खोजेको हुँ । मेरो पीएचडीको थेसिस के हो भने, जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम भन्ने हो । यो कसरी विकास भएर आयो भनेर मैले २५० पेजको थेसिस छ । मैले त्यसमा विस्तृत ब्याख्या गरेको छु ।
त्यसो भए त यो विभाग तपाईलाई दिए हुने रहेछ नि ?
मैले त त्यही भनेको हो । यो विभागलाई व्यवस्थितरुपले अघि बढाउने हो भने अरु कतैतिर जिम्मेवारी नभएका मान्छेलाई दिनुपर्छ । केही मान्छेको टिम बनाइदियो भने फेरि पनि नयाँ उचाइमा पाठ्यक्रम बनाएर ठूलो मात्रामा पार्टी प्रशिक्षण अभियान चलाउनुपर्ने आवश्यकता छ ।
अरु कुनै जिम्मेवारी भएका नेताहरुलाई यो विभाग दिदा कामकाजी हुँदैन । यहाँ चाहिँ कसलाई दिने भन्ने हेरिरहँदा अलि धेरै समय दिन सक्ने मान्छे राख्नुपर्ने हो । त्यसरी हेर्दा अहिले जो जो दावी गर्नुभएको छ,ती सबै एउटा एउटा काममा हुनुहुन्छ ।
नारायणकाजी प्रवक्ता हुनुहुन्छ, ईश्वर पोखरेल उपप्रधानमन्त्री हुनुहुन्छ । झलनाथ खनाल बरिष्ठ नेता हुनुहुन्छ, उता संसदमा पनि हुनुहुन्छ । घनश्याम भुसालजी पनि संसदमा सक्रिय हुनुहुन्छ । मन्त्री बन्ने लाइनमा पनि हुनुहुन्छ । म त फ्री छु । मलाई सबै चीजबाट बञ्चित पनि गरिएको छ ।
म पनि संसदमा पुग्ने मुखमै पुगेको थिएँ । मलाई त्यहाँबाट पनि बन्चित गरिएकाले स्कूल विभाग दिए हुने हो । त्यो विभागमो अनुभव पनि मलाई छ र मसँग स्कूल चलाउने क्षमता पनि छ ।
स्कुल विभागचाहिँ नेपाली कांग्रेस लगायतका पार्टीमा छैन, नेकपामा चाहिँ यति ठूलो मानिँदोरहेछ, नेपालमा मात्र होइन कि अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीमा पनि यस्तो अभ्यास छ ?
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अभ्यास छ र नै हामीले यसमा अभ्यास गरेका हौं । चिनियाँ कम्युनिस्ट पार्टीले त विश्वविद्यालयस्तरको पार्टी स्कूल विभाग चलाउँछ । हामी जति पनि जान्छौं, हामीलाई कम्तिमा एक दिन त्यहाँको पार्टी स्कुलमा सहभागी गराउँछन् । झलनाथ खनाल अध्यक्ष हुँदा त उहाँ र म तीन दिन पार्टी स्कुलमा सहभागी भएका थियौं ।
चिनियाँ कम्युनिस्ट पार्टीमा त यति व्यवस्थित छ कि चाउएनलाई कुनै बेला पार्टी स्कुल विभागको प्रमुख हुनुहुन्थ्यो । अहिलेको राष्ट्रपति सी जिनपिङ पार्टी स्कुल विभाग प्रमुख भएर आएका हुन् । उनले पार्टी स्कुल विभाग प्रमुख हुँदा लेखेको सानो पुस्तक मसँग छ ।
प्रतिक्रिया 4