Comments Add Comment

मासुको भाउ आकासियो, एक महिनामै चारपटक मूल्यवृद्धि

९ साउन, काठमाडौं । एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको छ । खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन् ।

काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार थोकमा किन्दा तयारी कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँ पर्छ ।

यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको नेपाल मासु व्यवसायी संघका द्वितीय उपाध्यक्ष उमेश खड्गीले बताए । अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य अचाक्ली बढाइएको बीसीको भनाइ छ । यस्तै, खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको उपाध्यक्ष खड्गीको भनाइ छ ।

चारपटक बढ्यो मासुको मूल्य

राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको छ । असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो । दोस्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुग्यो । असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको संघले जनाएको छ ।

किन बढ्यो भाउ ?

असार ३० गते कायम भएको तयारी मासुको मूल्य पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । दुई महिनाअघि काभ्रेमा बर्डफ्लूका कारण युवकको मृत्यु भएको समाचार फैलिएपछि किसान डराएर उत्पादन घट्दा मूल्य बढेको संघको भनाइ छ ।

‘चल्लामा लगानी गर्दा बर्डफ्लूले नोक्सानी ब्यहोर्नु पर्ला भनेर लगानी गरेनन्, तर मासुको माग उस्तै रह्यो र उत्पादन घटेपछि स्वभाविकरुपमा मूल्य बढ्यो,’ संघका अध्यक्ष बीसीले भने ।

सरकारले बजेटमार्फत दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा कर लगाएपछि दाना पनि महँगिएको र मूल्यमा असर परेको पनि बीसीले बताए । थोक मूल्य भन्दा २०÷३० रुपैयाँ नाफा खाएर मासु बिक्री गर्न सकिने भए पनि खुद्रामा पनि प्रतिकिलो थप एक सय रुपैयाँ हाराहारी मूल्य बढाइँदा उपभोक्ता झनै मारमा परेको बीसीको तर्क छ ।

यस्तै भारतबाट नेपालमा आयात हुने खसीमा सरकारले कडाइ गरेपछि मूल्य आकाशिएको खड्गीले बताए । नेपालको उत्पादनले मासुको माग धान्नै नसक्ने भएकाले मूल्य दिन प्रतिदिन बढ्न गएको उनको भनाइ छ ।

‘यस्तै अवस्था रहिरहे दशैंमा मासु खानै नसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।

मूल्यवृद्धिको कारण खोज्दै सरकार

कुखुरा र खसीको मासुमा मूल्य बढाइएको बारे स्पष्ट जवाफ पेश गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीहरुलाई छलफलमा बोलाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले मासुको मूल्यवृद्धिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए । व्यवसायीले कालोबजारी गरेको पाइए कडा कारबाही गरिने उनले चेतावनी दिए ।

उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकार निरीह भएको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गरेर उपभोक्ताको ढाड सेकेको प्रतिक्रिया दिए । उपभोक्ताले दैनिक प्रयोग गर्ने वस्तुको मूल्य निर्धारण गर्ने कार्यमा सरकार सहभागी नै नभएपछि अराजकता झँगिएको उनको आरोप छ ।

‘मनलागी मूल्य राख्न व्यवसायीका ‘सिण्डिकेट’धारी संघलाई अधिकार दिएपछि जे हुनु थियो त्यही भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने ।

खसी भन्दै पाठीको मासु बिक्री !

बजारमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री भइरहेको व्यवसायीले नै बताएका छन् । नेपाल मासु व्यवसायी संघका द्वितीय उपाध्यक्ष खड्गीले बजारमा ११ सय पचास रुपैयाँसम्म बिक्री भएका मासु राम्रो खसीको हुनै नसक्ने बताए । खड्कीका अनुसार खसीको जिउँदो र तयारी गरी तीन थरी मूल्य तोकिएको छ । दुब्लो पातलको खसीको जिउँदो मूल्य ६५० रुपैयाँ, ठीकै खालको खसीको जिउँदो मुल्य ७२० रुपैयाँ र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य त्योभन्दा धेरै हुन्छ । यी सबैको तयारी मासुको मूल्य १२ सयभन्दा धेरै पर्न जाने खड्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment